|

  • अनु आचार्य-

रसुवाः मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लालाई सुरक्षाको नियन्त्रणमा लिनका लागि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्देशन दिएका छन्। 

शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत रसुवा आएका प्रमुख निर्वाचन आयुक्त डा. यादवले जिल्लाका सुरक्षा निकायका प्रमुखसँगको छलफलमा मतदातालाई भयरहित रूपमा मतदान गर्ने वातावरण सृजना गर्नका लागि सुरक्षा निकायले जिल्लालाई नियन्त्रणमा लिन निर्देशन दिएका हुन्। 

चुनाव आउन दुई दिन मात्र बाँकी रहँदा जिल्लामा हवाई फायर गर्नुपर्ने अवस्था आएको देखिएकाले चुनावविरोधी गतिविधि हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरे। जिल्लामा पछिल्लो समय उम्मेदवार तथा नेतामाथि आक्रमणका घटना बढ्दै गएकाले स्थिति नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिए। 

मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नसक्ने कुरामा ध्यान दिन र गलत गरेको पाइएमा तत्काल ‘एक्सन’ लिन उनले आग्रह गरेका छन्। उनले भने, ‘अहिलेसम्म मौन अवधिमा आचारसंहिता उल्लंघन भएको छैन, यदि उल्लंघन भएमा हामीलाई भन्नुस्, कारबाही गर्छौं।’ 

३४ मतदानस्थल र ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा एउटा अतिसंवेदनशील, २१ संवेदनशील र १२ ओटा मतदानस्थल सामान्य वर्गमा परेका छन्। यहाँ ३२ हजार ३२३ जना मतदाता रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.