|

काठमाडौं: सरकारले निर्वाचन आचारसंहिताविपरीत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक कलेजका आंशिक शिक्षकलाई दरबन्दीमा राख्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले त्रिविको संगठन संरचना अध्ययनबिनै १ हजार ४ सय २० जनालाई करारमा नियुक्त गर्ने निर्णय गरेको हो।

शिक्षा मन्त्रालयले अध्ययन प्रतिवेदनका आधारमा दरबन्दीको प्रस्ताव अघि बढाउन चाहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा आंशिकलाई प्रक्रिया पूरा नगरी दरबन्दी सिर्जना गरेर करारमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्देशनमा शिक्षा सचिव मधुप्रसाद रेग्मीले शुक्रबार त्रिविमा १ हजार ४ सय २० दरबन्दी बढाउने प्रस्ताव मन्त्रिपरिषद् सचिवालयमा दर्ता गराएका थिए  दरबन्दी थप गर्न अर्थ मन्त्रालयले समेत सहमति दिएको छैन। दरबन्दी थप गर्न त्रिवि र अनुदान आयोगबाट आएको प्रस्तावअनुसार शिक्षा मन्त्रालयको सम्बन्धित शाखाले उठाएको फाइल शिक्षामन्त्री स्तरीय निर्णयसमेत नगरी मन्त्रिपरिषद्मा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।

 शिक्षामन्त्री गोपालमान श्रेष्ठ निर्वाचन प्रचारप्रसारमा स्याङ्जामा छन् । ‘शिक्षा मन्त्रालयको प्रस्तावअनुसार त्रिविमा दरबन्दी थप गर्ने निर्णय गरिएको छ,’ वाणिज्यमन्त्री मीन विश्वकर्माले भने। मन्त्रालय स्रोतका अनुसार दरबन्दी थप निर्णयबारे निर्वाचन आचारसंहिताअनुरूप निर्वाचन आयोगसँग समेत सहमति लिइएको छैन।

करार सेवामा नियुक्तिको माग गर्दै आंशिक शिक्षकहरू अनशनमा बसेपछि सरकारले प्रक्रिया पूरा गरेर रिक्त दरबन्दीमा आंशिकलाई नियुक्त गर्ने सम्झौता गरिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रभावित पार्न अर्थ मन्त्रालयको सहमतिबिना र त्रिविको अध्ययनबिनै दरबन्दी सिर्जना गरेको एक उच्च अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.