भन्छन् घरमा डोजर नलागाइदेऊ

|

काठमाडौं: त्रिपुरेश्वरस्थित वंशीघाट सुकुम्बासी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ। यतिबेला बस्तीका प्रत्येकजसो मतदाताको मोबाइलमा उम्मेदवारका एसएमएस र फोन आइरहेका छन्। प्रत्याशीका फोन उठाउन स्थानीयलाई भ्याइनभ्याइ छ।

बस्तीकी ललिता तामाङ भन्छिन्, ‘हाम्रो नम्बर उनीहरूले कसरी पाए, थाहा छैन। तर, एसएमएस र फोन निरन्तर आइरहेको छ।’बस्तीमा २ सय घर धुरी छन्। करिब ११ सय मतदाता रहेको तामाङ बताउँछिन्। अरू बेला कहिल्यै नआउने नेता चुनावको पूर्वसन्ध्यामा हात जोड्दै, माइकमा गीत बजाउँदै बस्तीमा घुमिरहेका छन्। यति मात्रै होइन, फोन र एसएमएस पठाइरहेका छन्।

बस्तीमा ११ सय मतदाता छन्। जसलाई भोट बैंककै रूपमा विगतदेखि नै लिने गरेको स्थानीयको गुनासो छ। बस्तीको मतलाई एकलौटी पार्न सके मात्रै पनि जितका लागि निर्णायक हुन सक्ने बताइन्छ।

उनीहरूको कुनै पनि उम्मेदवारसँग सीधा सम्पर्क छैन। आफूले चिन्ने तर कहिल्यै नचिन्ने नेताहरूले आफ्नो नामै बोलाएर फोन गर्दा उनीहरू चकित छन्। ‘सचिवालयबाटै फोन आउँछ। सीधै के चाहियो भन्छन्’, ललिता सुनाउँछिन्।

उम्मदेवारको विगतदेखिकै एउटै एजेन्डा छ। सफा र हरियाली महानगर, प्रदुषणरहित सडक र नदी। तर, बस्तीका मतदाताको भने फरक माग छ। उनीहरू बस्तीको स्थायित्व चाहन्छन्। सुकुम्बासी बस्तीमा कहिल्यै डोजर नचलाउने भरपर्दो प्रतिबद्धता चाहान्छन् उनीहरू।

बागमती किनारमा अस्थायी टहरा बनाएर दशकौंदेखि बस्दै आएका उनीहरू नदी किनारमा इनार खनेर प्रदूषित पानी पिउन बाध्य छन्। चुनावी प्रचारमा आउने प्रत्येक उम्मेदवारलाई उनीहरू समस्या सुनाउँछन्। सम्बोधन गर्ने आश्वासन दिन्छन्। तर, जितपछि फर्केर जाँदैनन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.