निर्वाचनपछि संविधान कार्यान्वयनको एउटा अध्यायको अन्त्य : प्रचण्ड

|

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघ र प्रदेशको निर्वाचनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको एउटा अध्यायको अन्त्य हुने बताएका छन्। लामो संघर्ष र बलिदानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रपछिको यो चुनाव संघीय र प्रदेश सरकारका लागि महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गरे।

चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २६ ज्योतिनगरमा शनिबार भएको वाम गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यो निर्वाचनमार्फत अब देश राजनीतिक स्थायित्व र विकासको बाटोतर्फ उन्मुख हुने उनले बताए। ‘राजनीतिक स्थायित्वसँग जोडिएको कुरा भनेको विकास र समृद्धि नै हो,’ दाहालले भने। चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री दाहालले, ‘अहिले वाम गठबन्धनमार्फत चाहेको कुरा भनेको ७० वर्षदेखि राजनीतिक भुमरीमा बसेको देशलाई त्यसबाट निकाल्नका लागि हो,’ भने।

चितवनबाट हुर्केर साइकल चलाउँदै राजनीतिमा लागेको र त्यसपछि देशको नेतृत्व गर्न पुगेको स्मरण गर्दै दाहालले विगतमा ऐतिहासिक चुनौतीहरु रहेकाले विद्रोह र शान्तिलाई जोड्न र राष्ट्रको हितका लागि रोल्पा र सिराहाबाट उम्मेदवार दिनु बाध्यता भएको उल्लेख गरे।

चितवनमा आउने चाहना हुँदा हुँदै पनि शान्तिका लागि अन्य क्षेत्रबाट उठ्नुपरेको भन्दै दाहालले अब चितवनका जनताबाट अधिकार लिएर जिल्लाको र देशको विकास गर्ने योजना रहेको सुनाए। मंसिर ३ गते छोरा प्रकाशको निधनपछि चुनावी कार्यक्रममा सरिक नभएका दाहालले शुक्रबारदेखि पुनः चितवनको चुनावी घरदैलो सुरु गरेका हुन्।

अब आफूले चाहेजस्तो गरी कम्युनिस्टहरुको एउटा केन्द्र बनाउने नयाँ योजनाका साथ आफ्नो गृहजिल्लामा आएको र यसले नयाँ समाजवादको युगतिर लैजाने जिकिर गरे। ‘भावी सन्ततिका लागि एउटा नयाँ नेपाल दिने अवसर छ, यो कुरा म यहाँहरुसँग अनुरोध गर्नु चाहन्छु,’ दाहालले भने।

वाम गठबन्धन कसैविरुद्ध नभई विकास र स्थायित्वका लागि भएको उनले दोहोर्‍याए। कार्यक्रममा प्रतिप्रश्न गर्दै उनले भने, ‘मेरो प्रतिद्वन्द्वी भन्ने उम्मेदवारले मलाई टुरिस्ट भन्नुभएछ, म अरुलाई आलोचना धेरै गर्न चाहन्न, देशको राष्ट्रपति र प्रधानमन्त्री हुने मान्छे टुरिस्ट  हुन्छ त?’

यसअघि, बिहान शिवनगरमा कांग्रेसको साविक शारदानगर गाविसका सचिव तथा नेपालकै पहिलो सहकारी बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिंह लामालगायत सयौँ कांग्रेस कार्यकर्ताहरुलाई दाहालले पार्टी प्रवेश गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.