|
रुकुम मुसिकोटको शोकमग्न मठगाउँ।

रुकुम : भोलि १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुने अन्य जिल्लाहरुमा चुनावी हर्षोल्लास बढिरहेको भए पनि रुकुमेवासी भने शोकमग्न भएका छन्।

शुक्रबार राति भएको जिप दुर्घटनामा बिहे सकेर फर्कंदै गरेका नवजोडी र आफन्तजन चढेको जिप दुर्घटना भएर ७ जनाको मृत्यु भएपछि चुनावको मुखैमा रुकुमवासी शोकमग्न भएका हुन्।

बिहीबार रातिदेखि आचारसहिंता सुरु भएर चुनावी औपचारिक कार्यक्रमहरु नभए पनि चुनावी समग्र माहोल तातिएको र मतदाताहरु निर्वाचनमा मतदान गर्न उत्साहित भइरहेको वेला दुःखद घटना घटेको हो। दुर्घटनामा मृत्यु भएमध्ये ४ जना मुसिकोट नगरपालिका १ मठ गाउँका रहेका कारण मठ गाउँ अहिले शोकमा डुबेको छ।

मठ गाउँ जिल्ला सदरमुकाम मुसिकोट खलंगानजिकै पर्छ। मृतकको घरमा रुवावासी चलेको छ भने आफन्त, छरछिमेक र इष्टमित्र भावविह्वल अवस्थामा छन्। जिल्लास्थित प्रदेश तथा प्रतिनिधिसभा उम्मेदवारहरुले मृतकप्रति समवेदना प्रकट गरेका छन्। हाल दुर्घटना परेका ७ जनाकै शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ।

मृतक सातैजना नबजोडीदेखि जिल्लाको परिचित व्यक्तित्व

गाडी दुर्घटनामा मृत्यु हुनेमा २ दिनअघि बिहे गरेका श्रीमान् श्रीमतीसमेत परेका छन्। रुकुम पूर्वको सिस्ने गाउँपालिका ६, का नवीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका, १७ बालग्रामकी अनिता प्रधानको नबजोडी नै गुमेको छ। उनीहरु पेसाले दुवै प्रहरी निरीक्षक हुन्। नवीन ६ नम्बर प्रदेशअन्‍तर्गत सुर्खेतमा ट्राफिक प्रमुखको जिम्मेवारी भर्खरै सम्हालेका थिए भने अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन्।

उनीहरु रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा रहेको घरमा बिहे सकाएर आफन्तजनका साथ रुकुम मुसिकोट हुँदै कार्यक्षेत्र फर्कंदै थिए। त्यस्तै, दुर्घटनामा मुसिकोट नगरपालिका–१, मठका समाजसेवी शेरबहादुर श्रेष्ठ, शिक्षिका सुरेखा शाह र यातायात व्यवसायी सुधन श्रेष्ठको पनि घटनास्थलमै मृत्यु भएको छ। सुरेखा र सुधान शेरबहादुरका छोराछोरी हुन्।

त्यस्तै, शेरबहादुरका माइती पक्षका जनक शाहको पनि मृत्यु भयो भने त्रिवेणी गाउँपालिका–१, की यमुना मल्लको पनि घटनास्थलमै मृत्यु भएको छ।

जनक भलिबलका पूर्वराष्ट्रिय खेलाडी तथा हालका राष्ट्रिय रेफ्री हुन् भने यमुना शिक्षिका हुन्।  सुरेखा र यमुना भोलि हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको निम्ति मुसिकोट नगरपालिका–७, को जनजागृति माविको ‘क’ मतदान केन्द्रमा खटिएका थिए। दिनभर मतदान केन्द्र निर्माणमा जुटेका उनीहरु बेलुका घर फर्कनलाई सोही गाडीमा चढेका थिए। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आउँदै गरेको ग१ज४२६० नम्बरको जिप मुसिकोट नगरपालिका ६ कालिमाटीमा दुर्घटना भएको थियो। मध्यपहाडी लोकमार्गमा पर्ने उक्त सडकभन्दा जिप १ सय मिटर तल खसेको थियो।

घाइते ३ जनाको अवस्था पनि गम्भीर

दुर्घटना परेर घाइते भएका चालक तुलसीपुर उपमहानगरपालिका–१६, प्रेम सिञ्जाली थापा, सहचालक बाँफीकोट गाउँपालिका रुकुम पश्चिमका प्रेम केसी र अर्का यात्रु रुकुम पूर्वका टेकबहादुर खत्रीको पनि अवस्था गम्भीर छ।

रुकुममा उपचार हुन नसक्ने भएपछि उनीहरुलाई उपचारका लागि नेपालगञ्जको कोहलपुरस्थित शिक्षण अस्पतालमा लगेर उपचार भइरहेको छ। गाडी दुर्घटनाबारे केही खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए। नका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.