|

उदयपुर : ‘दैनिक रुपमा गिटी नकुटी खान पाइन्न कसरी चुनावबारे बुझ्न हिँड्नु?’ शुक्रबार दिउँसो त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने। त्रियुगा नगरपालिका १२ मा घर भएको बताउने बोटकै श्रीमति विन्दालाई हजुरहरुलाई चुनावबारे थाहा छ भनेर प्रश्न गर्दा उनले भनिन्, ‘असारमा भएको चुनाव फेरि हुन्छ र?’

यसरी चुनावबारे थाहा नपाउने बोट दम्पती मात्र होइन। त्रियुगा नदीको त्रिवेणी घाटमा एक ट्रयाक्टर गिटी बेच्दा १ हजार ज्याला पाउने बताउने अर्को मन्जुर चौधरीले चुनावमा उठेका उम्मेदवारका कुरा सुन्न हिँड्दा परिवार भोकै पर्ने बताइन्। ‘खेतीपाती गर्न जग्गा छैन,’ उनले भनिन्, ‘सडक नबढारे, गिटी नकुटे, अरुको खेतमा काम गर्न नगए चुलो बल्दैन।’

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनले उदयपुरलाई जुरुक्कै बनाएको छ। बिहानदेखि बेलुकासम्म बजारका चोक, गाउँका चौतारासमेत उम्मेदवारको चर्चा बढेको छ। तर, दैनिक रुपमा मजदुरी गरेर खानेको लागि चुनावको कुनै रौनक छैन।

‘अहिलेसम्म हाम्रो बस्तीमा कुनै पनि उम्मेदवार आएका पनि छैनन्’ श्रीमान् श्रीमति मिलेर बालुवा चाल्दै गरेका रामकुमार चौधरीले भने, ‘असारको चुनावमा लापुर्जा दिन्छौँ भोट देऊ भने, भोट दिएको अहिलेसम्म लालपुर्जा दिएनन् ।’

त्रिनपा १३ मा घर ढलानको काममा सिमेन्ट र बालुवा घोल्दै गरेकी रामकुमारी भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै व्यस्त हुन्छु के को चुनाव?’ यसैगरी, चुनावको मतलबै नगर्ने उनीहरु मात्र होइनन्। दैनिक मजदुरी गरेर खानेहरु धेरै भेटिन्छन्।

नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोनाको किनारमा बसेर गिटी कुट्नेलाई प्रतिनिधि तथा प्रदेशसभाको चुनावको कुनै अर्थ भएको पाइँदैन।कम्युनिस्ट पार्टीहरुको मुखमै हुन्छ ‘सर्वहारा वर्ग’। अहिले त्यही ‘सर्वहारा वर्ग’लाई नै चुनावको कुनै मतलब छैन ।

बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट

त्रियुगा नदीको किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले व्यंग्य गर्दै भने, ‘सबैतिरबाट हारेकालाई सर्वहारा भन्छन्।’ अनि जग्गा, छैन, उम्मेदवार आउँदा मीठो मसिनो खुवाउने हैसियत छैन, किन आउँछन् उम्मेदवार हाम्रो गाउँमा?’ यता, बालुवा चाल्दै गरेकी सजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्र उम्मेदवारका मान्छे बस्तीमा आउने गरेको बताइन्। ‘चुनावको अघिल्लो दिन बस्तीमा भोज पनि खान दिन्छन्,’ परियारले भनिन्, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन्, त्यसैलाई भोट हालिन्छ।’

अरूलाई नेता बनाउन हिँड्नुभन्दा बरु दिनभरि गिटी कुट्दा राम्रो रोज पाउने मजदुरको भनाइ हुन्छ। मझौला उद्योग, भवन निर्माण, भौतिक संरचना, सडक निर्माणजस्ता काममा लागेका सयौँ मजदुरलाई अहिले उदयपुरमा चुनाव लागेको छैन।

मजदुर वर्गलाई अझै प्रभाव गर्न नसकेको निर्वाचन नेता कार्यकर्ताका लागि ‘चाडपर्व’ जस्तो भइसकेको छ। अहिल्यै चुनावमा हुने तडकभडक, आरोप प्रत्यारोप, सन्तुष्टि असन्तुष्टि पोख्नेको जमात छ।

निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लास्थित सबै पार्टीले घरदैलो अभियान, आमसभा, कार्यकर्ता भेला, प्रशिक्षणजस्ता रणनीतिलाई तीव्र पार्दै लगेका छन्। मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका काम तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.