|

रुपन्देही : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले राष्ट्रपतिय शासनको नाममा एकदलीय शासन व्यवस्था स्थापना गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

वाम गठबन्धनतर्फ लक्षित गर्दै देउवाले राष्ट्रपतिय शासन स्थापना गर्ने नाममा संसदीय व्यवस्था मास्न लागेको आरोप लगाए।

उनले संसारबाट लोप भइसकेको शासन व्यवस्था नेपालमा स्थापना गर्न खोजेर मुलुकलाई अस्थीरता, अशान्तितर्फ धकेल्न खोजिरहेको आरोप लगाए।

उनले भने, ‘रुसमा लेनिनवाद छैन, चीनमा माओवाद छैन, तर हामीकहाँ त्यही शासन व्यवस्था ल्याउन खोजिदैछ, यो प्रष्ट छ कम्युनिष्टको नाममा निरंकुश अधिनायकवाद ल्याउन खोजिएको छ।’

नवलपरासीको सुनवल र रुपन्देहीको देवदहमा भएका सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘नेपालमा महेन्द्र र ज्ञानेन्द्रले जनतामा त्रास फैलाउने काम गरे, उनीहरु समाप्त भएर गए, अब वाम गठबन्धनको नाममा कम्युनिष्टले त्यसैको प्रयास गरेका छन्, उनीहरु पनि समाप्त हुन खोज्दैछन्।’

उनले कांग्रेसले सधै जनतालाई मालिक ठानेको र जनताको सर्वोच्चतालाई कमजोर नठान्ने बताए। ‘कसको नेतृत्वमा सरकार बनाउने भन्ने जनताको कुरा हो, कस्तो शासन ल्याउने भन्ने पनि जनताकै कुरा हो, जबरजस्ती जनतामाथि थोपर्न खोजियो भने त्यो शक्ति समाप्त भएर जान्छ', उनले भने, 'यो प्रयास नेपालमा भएको छ, त्यसको जवाफ जनताले मतदानबाट दिनुपर्छ, लोकतन्त्र बचाउने कि एकदलीय अधिनायकवाद ल्याउने भन्ने मतदानबाट जनताले छान्नुहोस्।’

उनले जनतासँग नेता डराउने अवस्था आउन लागेको भन्दै थपे, ‘हामी जनतासँग नेता डराउने, जनतालाई सर्वोच्च मान्ने व्यवस्थालाई नै अगाँल्छौं र लोकतन्त्रलाई नै मान्छौं, हामी कुनै अधिनायकवादको पक्षमा छैनौं।’

कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई अस्थीर र हिंसाग्रस्त बनाउन सक्रिय रहेका कम्युनिष्टहरु फेरि मुलुकलाई अस्थीरतातर्फ धकेल्नका लागि एकजुट भएको आरोप लगाए।

‘इतिहास हेर्नुस्, कांग्रेस सधै जनताका पक्षमा लडेँको छ, तर कम्युनिष्टहरु जनताका नाममा हिंसा मच्चाईरहेका छन्, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.