|

लहानः सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– ५ निर्दनाघाटमा चेकजाँचको क्रममा आइतबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका एक म्यादीसहित दुई प्रहरीलाई थप उपचारका लागि राजधानी काठमाडौं लगिएको छ। 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यका अनुसार ३३ वर्षका प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई आइतबार अपराह्न थप उपचारका लागि काठमाडौं लगिएको हो। घाइतेहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

सिरहा र धनुषाको सीमाको रूपमा रहेको कमला नदीको पूर्वी तटबन्धमा पर्ने निर्दनाघाटमा आहोरदोहोर गर्ने सवारी साधन रोकेर चेकजाँच गरिरहेका बेला रातो रङको मोटरसाइकलमा रहेका दुई जनाको समूहले गोली प्रहार गरी धनुषातिर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए। प्रवक्ता भेटवालका अनुसार अहिले धनुषाको पूर्वी क्षेत्रसहितका ठाउँहरूमा प्रहरी परिचालन गरी अपराधीको खोजी भइरहेको छ। 

कोखामा गोली लागेका म्यादी प्रहरी आदर्श र प्रहरी जवान मायारामलाई तत्काल उद्धार गरी कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना गरी उपचार गरे पनि मायारामको अवस्था गम्भीर बन्दै गएपछि दुवैलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ। 

प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको बताइरहेकै बेला दिनदहाडै ड्युटीमा रहेका प्रहरीमाथि नै गोली प्रहार हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ। घाइते दुवै प्रहरी प्रहरी चौकी भेडियामा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.