|

दोलखाः पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दोलखा जिल्लामा ५५ प्रतिशत मात्र मत खसेको छ।

स्थानीय तहको निर्वाचनका क्रममा भएका झडप तथा मृत्यु, राजनीतिप्रति मतदाताहरूको अविश्वास, नेताहरूको कार्यशैलीप्रतिको वितृष्णा, निर्वाचनमा डन र धनको व्यापक प्रयोगबाट आजित भएका मतदाताहरूले आइतबार सम्पन्न निर्वाचनमा आधाभन्दा केही बढी मात्र मत खसालेका हुन्।

आइतबार बिहानैदेखि मतदान केन्द्रहरूमा उपस्थित मतदाताहरूको संख्याको विश्लेषणले पनि दोलखा जिल्लामा कम मत खस्ने आँकलन गरिसकिएको थियो। मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले दिएको प्रारम्भिक जानकारीअनुसार ५५ प्रतिशत मत खसेको हो। 

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार सकिएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रह्यो। तर, स्थानीय तहको चुनावमा जस्तो यस चुनावमा मतदाताको उत्साहमा भने कमी पाइएको स्थानीय बताउँछन्।

यसैबीच दोलखाको एक मतदान केन्द्रमा मतदानका लागि लाइन बसेकी एक महिलाको हृदयाघातका कारण निधन भएको दोलखा प्रशासनले जानकारी दिएको छ।

मार्वु मतदान केन्द्रमा ५ राउन्ड हवाई फायर, तीन बुथ वाम गठबन्धनको कब्जामा
दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्नपछि तनाव सुरु भएको छ। नखसेको मत अन्य व्याक्तिहरूले हाल्न खोजेपछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाव भएको हो।

बैत्येश्वर गाउँपालिका– ७ मार्वुमा वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मत हालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ। मतदान केन्द्रको अवस्था नियन्त्रणको प्रयासमा तनाव भएको  प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जनाए।

यस्तै, गौरीशंकर गाउँपालिकाको सुरीमा वाम गठबन्धनका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता लखेटेर मतदान केन्द्र कब्जामा लिएका छन्। सुरी वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङको मतदान केन्द्र हो। सोही गाउँपालिकाको जुँगुमा कांग्रेसका गाउँ सभापति ज्ञानबहादुर जिरेललाई कुटपिट गरेर मतदानस्थलबाट भगाएका छन्। त्यहाँ पनि फर्जी मत हालिरहेको कांग्रेस जिल्ला सचिव सन्तोष रिमालले आरोप लगाए।

बुथ कब्जा गर्न खोज्ने वाम गठबन्धनका युवाहरू प्रहरी नियन्त्रणमा
दोलखा भिरकोटमा बुथ कब्जा गर्न खोज्ने वाम गठबन्धनका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तामाकोसी गाउँपालिका– १ एक्लेबारीस्थित वडा कार्यालयमा रहेको बुथमा वाम गठबन्धनले ल्याएका केही युवाहरूले बुथ कब्जा गर्न खोजेपछि प्रहरी नायव उपरीक्षकको कमाण्डमा रहेका प्रहरीले सात जना युवालाई पक्राउ गरेको जनइएको छ।

पक्राउ परेका सबै युवा जिल्लाका नभई बाहिरबाट ल्याइएका युवाहरू भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

पक्राउ परेकाहरूलाई सदमुकाम चरिकोट ल्याई कानुनअनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले  सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन्।

सधैँजसो झगडा भइरहने  बैत्येश्वर गाउँपालिकाको गैरीमुदीलगायतका बुथमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.