|

गोरखा : आइतबार सम्पन्न भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपत्र २१ गतेपछि मात्रै गणना गर्ने निर्वाचन आयोगको निर्णयले गोरखामा अहिले मत पत्र थन्क्याउन भ्याइनभ्याई छ। जिल्लाका २ सय ८२ वटै मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टर र सवारीमार्फत सदरमुकाम ल्याइसकिएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए।

जिल्लाका उत्तरी क्षेत्रका २८ मतदान केन्द्रबाहेक सबै मतदान केन्द्रबाट आइतबार नै मतपेटिका सदरमुकाम ल्याइएको सापकोटाले जानकारी दिए। गोरखाको मतगणना भने आगामी २१ गते साँझ पाँचबजेबाट मात्र सुरु गरिने सापकोटाले जानकारी दिए।

मतपेटिकालाई ३ घेरामा सुरक्षा

मतपेटिका सुरक्षित राख्नको लागि बाहिरी घेरामा तारबार र मतपेटिका राखिएको सबै ढोकामा ताल्चा र लाहा छापसमेत लगाइएको छ। क्षेत्र नं. १ को मतपेटिका महिला तथा बालबालिका कार्यालयको विभिन्न कोठामा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक गरेर छुट्टाछट्टै राखिएको मुख्य निर्बाचन अधिकृत बसन्त राज पौडेलले जानकारी दिए। त्यस्तै, क्षेत्र नं. २ को भने जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ।

‘मतगणना नहुँदासम्म मतपेटिका राखिएको कोठा कसैले खोल्दैन’ पौडेलले भने, ‘कसैले शंका नगर्दा हुन्छ  गोरखाको मत पत्र सुरक्षित रहन्छ।’  मत पत्र राख्नको लागि कडा सुरक्षाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

‘मतपेटिका राखिने ठाउँमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ’ बस्नेतले भने, ‘सुरक्षाका तीन वटा घेरामा हिलो घेरामा जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना राख्न थालिसकेका छौँ । उनीहरुले २४सै घण्टा सुरक्षा दिइरहेका हुन्छन्।’

  मतपेटिका राखिएको कोठामा ताल्चा र बाहिर तारबार

त्यस्तै, जिल्लाका दुवै क्षेत्रको मतपेटिका राखिएको कोठाको एउटा ढोकामा तीन वटा ताल्चा लगाइने भएको छ। ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा ताल्चा लगाउँछ’ जिल्ला सुरक्षा समितीका प्रमुख समेत रहेका प्रजिअ बस्नेतले भने ‘दुई अनि बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनले एकएक वटा गरी जम्मा तीन वटा ताल्चा लगाइएको छ।’

त्यस्तै, क्षेत्र नं. १ को मतपेटिका राखिएको महिला तथा वालवालिकाका कार्यालय परिसर वरपर तारबार लगाइएको छ । मतपेटिका राखएको कक्षबाहिर राजनीतिक दलका एक÷एक जना प्रतिनिधि पनि बस्न पाउने व्यवस्था गरिएको बस्नेतले जानकारी दिए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.