|

चितवनः निर्वाचनविरोधी गतिविधि गर्दै हिँड्ने नेपाल कम्युनिष्ट पार्टीका मजदुर फ्र्याक्सन इन्चार्ज पूर्णबहादुर राईलाई आज प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। 
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका– १६ मंगलपुरबाट उनलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

पक्राउ परेका खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका– ७ घर भई हाल भरतपुर महानगरपालिका– १६ बस्ने वर्ष ३७ का पुरन भन्ने पूर्णबहादुर राईको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली, पटका १० थान, चन्दा रसिद एक ठेली, उनको नाममा काटिएको ३० हजार रुपैयाँको चेक बरामद गरिएको ढकालले जानकारी दिए।

उनीविरुद्ध मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गरेर अहिले थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले सोमबार जारी गरेको सूचनामा जनाइएको छ। 

यसैबीच सोमबार नै प्रहरीले विभिन्न व्यापारी तथा सर्वसाधारणहरूलाई रातको समयमा फोन गरी धम्की दिई रकम माग गरेको आरोपमा भरतपुरका अमित लामा र सचिन गुरुङलाई पक्राउ गरेको छ। 

उनीहरू गुण्डागर्दीमा संलग्न हुने गरेको समेत प्रहरीले जनाएको छ। उनीहरूलाई आज बिहान ११ बजे भरतपुरको अमनचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच भरतपुरको सार्वजनिक स्थानमा हातमा खुँडा बोकी प्रदर्शन गरी सर्वसाधारणलाई आतंकित बनाएको भन्दै प्रहरीले राजन परियार र राजेन्द्र परियारलाई पनि पक्राउ गरेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.