|

जनकपुरधाम : सिरहामा प्रहरीमाथि गोली प्रहार भएको एकदिन नबित्दै धनुषा प्रहरीले गोली काण्डमा संलग्न रहेको आरोपमा हतियारसहित ३ जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा धनुषाको सहिद नगरपालिका वडा नं. १ बेमर्खीकै ३ जना छन्।

पक्राउ पर्नेमा सहिद नगरपालिका स्थानीय ३२ वर्षका शिवकुमार राय, २८ वर्षका मनोज कुमार राय र १८ वर्षका सुरेन्द्रकुमार राय रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषा प्रहरीका अनुसार तीनै जनालाई सोमबार बिहान सहिद नगरपालिका वडा नं. २ स्थित चिरैया चोकमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो।

उनीहरुको साथबाट एकथान चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिन, १ सय ५० ग्राम ब्राउनसुगर , (स५प९२३९ र ज६प९०५३ को दुई थान मोटरसाइकल, तीन वटा मोबाइल र त्यसमा प्रयोग हुने ३ वटा सिमकार्ड बरामद भएको जनाएको छ।

उनीहरुलाई लागुऔषध तथा हातहतियार मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन्। गत आइतबार दिउँसो करिब २ बजेको समयमा सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका ५ निर्दनाघाटमा चेकजाँचको क्रममा उनीहरुले गोली प्रहार गरी एक म्यादी र एक प्रहरी घाइते बनाई भागेको प्रहरीको भनाइ छ।

गोली प्रहारबाट ३३ वर्षीय प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका थिए। दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.