|

भक्तपुर : निर्वाचन आयोगले भक्तपुरमा दलहरुले आचारसंहिता विपरीत निर्वाचन प्रचार सामग्री राखेको पाइएको छ। मंगलबार निर्वाचन प्रचार प्रसारको अनुगमनका क्रममा निर्वाचन आयुक्त सुधीरकुमार शाहले भक्तपुर नगरभित्र आचारसंहिताको व्यापक उलंघन भएको पाइएको बताउँदै त्यस्ता क्रियाकलापले निर्वाचन स्वच्छ नहुने बताए।

'भक्तपुर नगरमा निक्कै धेरै मात्रामा प्रचार साम्रागीहरु टाँगिएको र प्रदर्शन गरिएको पाइयो', आयुक्त शाहले भने, 'यो आचारसंहिता विपरित नै हो। यस्तो किसिमको प्रयासबाट मतदाताहरु आकर्षित हुने या प्रभावित हुने सोच्नु गलत हो। यसले नगर र शहर कुरुप बनाएको छ। यो धेरै मात्रामा भद्धा प्रदर्शन पनि हो।'

अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाहले राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता, समर्थक र नेताहरुले मतदातालाई कुनै पनि किसिमले प्रभावित गर्ने कार्य गर्न नहुने बताए। आयुक्त शाहले अनुगमनका क्रममा आचार संहिता विपरीतका प्रचार सामग्री सुरक्षाकर्मीको सहयोगमा हटाउन समेत लगाएका थिए। टोलीले भक्तपुर नगरभिको इटाछें, खौमा, क्वाछे र साकोठा लगायतका स्थानका प्रचार सामाग्री हटाएको हो।

आयुक्त शाहको नेतृत्वको टोलीमा आयोगको आचार संहिता अनुगमन समितिका सहसचिव गीताप्रसाद  तिमल्सिना र आयोगका सुपरिवेक्षक पदमप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, मुख्य निर्वाचन अधिकृत भोजराज शर्मा, जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझी र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणा, जिल्ला निर्वाचन अधिकारी उमेश राई लगायतको सहभागिता रहेको थियो।

यसअघि मंगलबार बिहानै निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका विभिन्न स्थानमा आचार संहिता विपरीत राखिएका प्रचार सामाग्री हटाउन शुरु गरेको थियो। सुरक्षाकर्मीको सहयोगमा जिल्लाका मध्यपुर थिमीको शंखधर चोक, दूधपाटी लगायतका स्थानमा राखिएका प्रचार सामाग्री हटाएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.