|

तनहुँ : पहिलो चरणको निर्वाचन सकिएसँगै राजनीतिक दलहरुले दोस्रो चरणमा चुनाव हुने जिल्लामा आफ्नो अभियान केन्द्रित गरेका छन्। लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारहरु अहिले चुनावी अभियान र घरदैलो कार्यक्रम लिएर मतदाताकोमा पुगेका छन्।

मंसिर २१ गते निर्वाचन हुने तनहुँमा प्रतिनिधिसभामा २ वटा र प्रदेशसभामा ४ वटा निर्वाचन क्षेत्र छ। तनहुँबाट प्रदेशसभामा पनि केन्द्रीयस्तरका नेता र मन्त्रीसमेत उम्मेदवार छन्। हेर्नुस् तनहुँबाट प्रदेशसभामा को को छन् उम्मेदवार र उनीहरुको प्रतिवद्धता के छ?   

गोविन्द भटराई, नेपाली कांग्रेस   : तनहुँ क्षेत्र नम्बर १ (१)

विद्यार्थीकालदेखि राजनीति यात्रा सुरु गरेका तनहुँ क्षेत्र नम्बर १ (१) का प्रदेश सभाका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई राजनीतिक भन्दा विकासका प्रतिबद्धता लिएर चुनावी मैदानमा छन्। नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गर्न प्रमुख भूमिका रहने र नेपाललाई आर्थिक विकास मार्फत समृद्ध बनाउने, घरघरमा पानीको धारा पुर्‍याउने, महिलालाई डोको नाम्लोबाट मुक्त गराउने उनको चुनावी नारा छन्।

यस्तै परीक्षण गरी माटो पहिचान गर्दै खेतीबारे सल्लाह दिने, प्रत्येक विद्यालय र कलेजमा ईलाईब्रेरीसहित बृहत पुस्तकालय स्थापना गर्ने, प्रत्येक स्वास्थ्य चौकी र अस्पतालमा हेल्थ लाइब्रेरी बनाउने, जीर्ण भएका विजुलीको पोल हटाएर नयाँ राख्ने, युवाहरुलाई सीपमुलक तालिम दिदै सुलभ दरमा आर्थिक संस्थामा लगानी गर्न प्रोत्साहन गर्ने, भानु नगरपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने, दमौली अस्पतालको स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउने लक्ष्य छ।

त्यसैगरी नेपालको मुख्य पर्यटकीय नगरी प्रदेश नम्बर चार भएकोले देशमा पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने, गर्भवती आमालाई पोषिलो खाना अभियान सञ्चालन गर्ने लगायतका उनको प्रतिबद्धता रहेका छन्।

रामबहादुर गुरुङ, वाम गठबन्धन : तनहुँ क्षेत्र नम्बर १ (१)

२०७० सालमा प्राविधिक हार व्यहोरेका रामबहादुर गुरुङले अधुरो भएका सडक ग्राभेल र कालोपत्रे गर्ने, विजुली, पानी पुर्‍याउने, तनहुँको क्षेत्र नम्बर एकमा आधुनिक किसिमको खेल मैदान, अस्पताल बनाउने, त्यस्तै पर्यटनको विकास गर्ने, चीन र भारतको पर्यटक तनहुँमा भित्र्याउने, पर्यटन मार्फत जिल्लाको विकास गर्ने, तनहुँको पर्यटकीय क्षेत्र मिलुङकोट, थानीको थान लगायतका धार्मिक एवं पर्यटकीय स्थलको विकासमा जोड दिने योजना उनको छ।

रुघुनाथ पौडेल, नेपाली कांग्रेस : तनहुँ क्षेत्र नम्बर १ (२)  

नेपाली कांग्रेस तनहुँका पूर्व सभापति समेत रहेका रघुनाथ पौडेलले तनहुँको समृद्धिको लागि पर्यटन भन्ने अभियान अनुसार काम गर्ने बताएका छन्। यस प्रदेशको विद्यालयको गुणस्तर सुधार, कच्ची सडकलाई स्तरोन्नती गरी बाह्रै महिना सुचारु गर्ने लगायतका विकासका काम गर्ने उनको योजना छ।

त्यस्तै देवघाटलाई धार्मिक धामको रुपमा विकास गर्ने, तनहुँकै अग्लो छिम्केश्वरी डाँडालाई पर्यटकीय आर्कषण केन्द्र बनाउने, बन्दिपुरलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउन पहल गर्ने, तनहुँ जलविद्युत आयोजना र तल्लो सेती प्रोजेक्टमार्फत रोजगारीमा मुलुकलाई टेवा पुर्‍याउने, कृषिको आधुनिकिकरण गर्दै जडिबुटी खेती र तरकारी खेतीलाई प्रोत्साहन गर्दै कृषि पेशालाई मजबुत बनाउने जस्ता प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छन्।

हरिबहादुर चुमान, वाम गठबन्धन : तनहुँ क्षेत्र नम्बर १ (२)

जनयुद्धकालदेखि समग्र मुलुकको विकास गर्ने भन्दै चुनावी मैदानमा रहेका हरिबहादुर चुमानले समग्र तनहुँलाई आर्थिक समृद्धिमा अगाडि बढाउने, पहिला तनहुँलाई आत्मनिर्भर बनाउने, यस क्षेत्रमा रहेका डाडाँकाडा र विभिन्न धार्मिक क्षेत्रलाई विकास गर्ने, कृषि उत्पादनलाई प्याकेजको रुपमा अगाडि बढाउने, त्यस्तै यस क्षेत्रको सडक स्तरोन्नति पूर्वधार निर्माण, स्वास्थ्य, खानेपानी लगायतका विषयमा विशेष प्राथमिकता दिएका छन्।

प्रदिप पौडेल, नेपाली कांग्रेस :  तनहुँ क्षेत्र नम्बर २ (१)

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीको दावेदारका रुपमा देखिएका युवा नेता कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले ४ नम्बर प्रदेशमा क्षमता अनुसारको विद्युत उत्पादन गरेर समृद्ध बनाउने, त्रिवेणी नाकाबाट भारत र कोरलाबाट चीनलाई नजिक र सहज ढंगबाट यातायात सञ्जालले जोड्ने, उत्पादित वस्तु भारत र चीनको बजारमा समेत पुर्‍याउने योजना सार्वजनिक गरेका छन्। चार नम्बर प्रदेशको ७० प्रतिशत भूभाग जंगलमा जडिबुटीको सम्भावना रहेकोले प्रदेशको सञ्जालमार्फत भारत र चीनमा बिक्री गर्ने वातावरण सिर्जना गर्दै आर्थिक उन्नति कायम गर्ने, चार नम्बरको मुक्तिनाथ र लुम्बिनी जोड्नको लागि पहल गर्ने योजना बनाएका छन्।

त्यस्तै गरी पोखराको फेवाताल जस्तै मादी नदिलाई थुनेर ताल बनाउन पहल गर्ने, लेकसाइड जस्तै दमौलीलाई पनि पर्यटकीय ठाउँ बनाउन पहल गर्ने, विदेश गएकालाई फर्काउने वातावरण बनाउने र उनीहरुलाई यहीँ रोजगारी दिने वातावरण तयार गर्ने पनि पौडेलको योजना छ। यस्तै तनहुँ जलविद्युत आयोजनाको ताल नेपालकै ठूलो जलाशययुक्त आयोजना हो र यसमा पर्यटक लाने र जलविहार गराउने व्यवस्था मिलाउने उनको योजना छ।

आशा कोइराला, वाम गठबन्धन : तनहुँ क्षेत्र नम्बर २ (१)

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा पहिला महिला बालबालिका तथा समाजकल्याण मन्त्री र हाल विना विभागीय मन्त्री रहेकी आशा कोइरालाले यस प्रदेशको भौतिक पूर्वधार, शिक्षा स्वास्थ्य, यातायात पहुँच पुर्‍याउनुलाई मुख्य चुनावी एजेण्डा बनाएकी छन्। 'आफू महिला भएकोले महिलाको हक अधिकारको रक्षाको लागि र महिला र वालवालिकाको हक अधिकार सुनिन्चित गर्नको लागि आवश्यक भएकोले यसलाई सफल वनाउने मेरो योजना छ' उनले भनिन्।  

धुव वाग्ले, नेपाली कांग्रेस : तनहुँ क्षेत्र नम्बर २ (२)

नेपाली कांग्रेसको घोषित नीतिलाई कार्यान्वयन गर्दै संविधानको सफल कार्यान्वयन गर्ने र पछौटेपन र अभावले ग्रसित पहाडी वस्तीमा विकासको पूर्वाधारहरु तिव्र गतिमा लैजाने वाग्लेले प्रतिवद्धता जनाएका छन्। तराईदेखि हिमाली क्षेत्रलाई जोड्नको लागि नवलपरासीको कावासोतीदेखि तनहुँको खैरेनीटारसम्म राजमार्गको विकास गर्ने, तराई, पहाड र हिमाल जोडने राजमार्ग निमार्ण गर्ने, भिमाद वजारलाई स्मार्ट सिटीको रुपमा विकास गरी आसपासका बजार केन्द्रलाई व्यवस्थित गर्दै आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने उनले योजना सार्वजनिक गरेका छन्।

विदेशिएका यस भेगका युवा, दलित, महिलालाई लक्षित गरी कृषि, पशुपालन, तरकारी खेती जस्ता पेशाहरुमा संलग्न गराउन युवा रोजगार बैंक स्थापना गरी सहुलितय दरमा ऋण, सीप र तालिमको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता उनले मतदातासामु गरेका छन्।

किरण गुरुङ, वाम गठबन्धन : तनहुँ क्षेत्र नम्बर २ (२)

पूर्वमन्त्री समेत रहेका किरण गुरुङ तनहुँको विकट क्षेत्रको बिकासका लागि खानेपानी, स्वास्थ्य, शिक्षा लगायतलाई एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका छन्। प्रदेश ४ लाई नमुना प्रदेश बनाउने, नेपालकै पर्यटकीय नगरी पोखरा पर्ने भएकोले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पहल गर्ने, यस ठाउँलाई संसारकै पर्यटकीय स्थल बनाउने, मुस्ताङको कोरला नाकादेखि वेनी, पोखरा, भिमाद, नवलपरासी हुँदै भैसेलोटनसम्म राजमार्गको रुपमा विकास गर्ने लगायत उनको मुख्य एजेण्डा हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.