|

कपिलवस्तु : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अधिकारबाट वञ्चित भएका मधेसी, जनजाति, मुस्लिम एवं दलितहरुको अधिकार कम्युनिस्टहरुले सखाप पार्ने आरोप लगाएका छन्। उनले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहुमत दिए सम्पूर्ण अधिकार हनन हुनेसमेत बताए।

मंगलबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिस्टहरुको सरकार बनेमा जनता बोल्न नपाउने बताए।

‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न, लेख्न, बोल्ने, फरक विचार राख्न, आन्दोलन गर्न पाउँछन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्’, उनले भने। उनले कम्युनिस्ट शासन आएमा बोल्नसमेत  नपाइने उल्लेख गरे।

वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेको प्रधानमन्त्री देउवाको तर्क छ। ‘कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रको अभ्यास गर्ने अरू कुनै पनि प्रजातान्त्रिक पार्टी छैन’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ।’

प्रधानमन्त्री देउवाले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिस्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाए। उनले कम्युनिस्ट शासन संसारबाटै खत्तम भइसकेको बताए। उनले नेपालमा पुँजी नभएकाले आपूmहरुको सरकार आएमा विदेशी लगानी भित्रिनेसमेत बताए।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुको भूलभुलैयामा नपर्न जनतालाई आग्रह गरेका छन्। उनले अबको युग समृद्धिको युग भएकाले समृद्धिको अभियानमा कांग्रेस रहेको तर्क गरे। अधिकनायकवादको अन्त्य कांग्रेसले मात्र गर्न सक्न पनि उनले बताए।

सभामा कांगे्रस महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई बहुमत दिने आधारहरु समेत प्रस्तुत गरेका थिए। सभामा नेपाली कांग्रेसका नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँड, उद्योगपति एवं कांग्रेसका नेता विनोद चौधरी, प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दीपकुमार उपाध्याय, क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्रराज आचार्य, कपिलवस्तु निर्वाचन परिचालन समिति संयोजक अतहर कमाल लगायतको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.