|

  • मनोज भट्टराई-

ओखलढुंगा : पहिलो चरणअन्तर्गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सबै मतपेटिका जिल्ला सदरमुकाम ओखलढुंगा आइपुगेका छन्। जिल्लामा मतदान भएको १ सय ४१ वटै केन्द्रको मतपेटिकाहरु सोमबार अबेर रातिसम्म सदरमुकाम आइपुगेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। 

संकलित मतपेटिकाहरु उच्च सुरक्षाबीच जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ। कार्यालयको बन्द कोठामा मतपेटिका राखी कोठालाई चारैतिरबाट सिलबन्दी गरिएको छ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि एकैसाथ मतगणना गरिने भएकाले १० दिनसम्म मतपेटिकालाई कडा निगरानीबीच सुरक्षा प्रदान गरिने प्रजिअ पन्तको भनाइ छ। मतपेटिका भण्डारणस्थलबाहिर सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले २४सै घण्टा सुरक्षा दिनेछ। जसका लागि भण्डारणस्थलबाहिर टेन्ट राखी त्यहीँ बस्ने व्यवस्था मिलाइएको छ भने वरिपरि घेराबार गरिएको छ।

मतपेटिलाई १० दिनसम्म सुरक्षित राख्न राजनीतिक दलहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्लामा मतपेटिकालाई लिएर सुरक्षा चुनौतीसमेत उत्तिकै रहेकाले यसलाई सबैपक्षबाट सुरक्षा प्रदान गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए।

ओखलढुंगामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६६ हजार २८ अर्थात ६४.५७ प्रतिशत मत खसेको थियो। ७८ स्थलको १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको मंगलबारे मतदान केन्द्रबाट ७४ प्रतिशत र सबै भन्दा कम सुनकोसी गाउँपालिका २ बलखु स्थित आरुभञ्ज्याङ मतदान केन्द्रमा ४७ प्रतिशत मत खसेको छ।

जिल्लामा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा भोट खसालेका मतदातामध्ये महिलाको संख्या बढि छ। निर्वाचनमा मतदान गर्ने संख्या पुरुषभन्दा महिलाको बढी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ओखलढुंगामा १ लाख २ हाजार २ सय ६३ जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.