|

काठमाडौं : सरकारले स्वाथ्य बिमा मार्फत पाउदै आएको उपचार सुविधा बढाउने तयारी गरेको छ।

हाल स्वास्थ्य बिमा मार्फत बार्षिक पाउदै आएको ५० हजार बराबरको उपचार सेवालाई बढाएर १ लाख रुपैयाँसम्म पुर्‍याउने तयारी गरेको स्वास्थ्य बिमा सञ्चालन गर्दै आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले बताए।

उनले भने 'हाल स्वास्थ्य बिमामा सहभागी भएकाहरुले बार्षिक ५० हजार बराबरको उपचार सेवा पाउदै आएकोमा हामीले यसलाई बढाएर एक लाख पुर्‍याउने प्रस्ताव गरेका छौं।'

यसका साथै बिमा नवीकरण गर्दा लाग्ने शुल्कमा समेत सहुलियत दिने तयारी भएको बताए। भर्खर बिमा गरेका तर उपचार सुविधा नलिएकाहरुलाई सुविधा लिने बेलामा सहुलियत दिने समेत तयारी भइरहेको निर्देशक डा. लोहनीले बताए।

सरकारले व्यवस्थापिका संसदबाट गएको असोज २४ गते स्वास्थ्य बिमा विधेयक पनि पारित गरिसकेको छ। कात्तिक १ राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भइसकेको छ।

सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेट मार्फत तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। अब स्वास्थ्य विमा सबै नागरिकलाई अनिवार्य गर्ने सरकारको तयारी छ। यो आर्थिक बर्षमा भने सरकारले थप १५ जिल्लामा बिमा कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ सरकाले २०७२  चैत २५ देखि स्वास्थ्य बिमा लागू गरेको थियो  अहिले सो कार्यक्रम २२ वटा जिल्लामा लागू भइरहेको छ।

के हो स्वास्थ्य बिमा ?

सरकारले एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउँछ। एउटा परिवारमा सामान्यतया ५ जना सदस्य रहने अनुमान गरी सरकारले ५ जनाको परिवारबाट २ हजार ५ सय लिएर परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराउँछ।

परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप ४२५ रुपैयाँ तिरेर बिमा गर्न सकिनेछ। स्वास्थ्य बिमामा सहभागी भएपछि परिवारका सदस्यलाई वार्षिक ५० हजार रुपैयाँ बराबर उपचार खर्च प्रदान गर्ने व्यवस्था छ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको सरकारी अस्पतालबाट अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधी खर्च पाइन्छ। तर कस्मेटिक सर्जरी, घरेलु झैझगडाबाट लागेको चोटपटक, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी दुर्घटनामा परेमा स्वास्थ्य बिमा अन्तर्गत उपचार हुने छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.