|

उदयपुरः उदयपुरमा निर्वाचन सुरक्षा चुनौती बढ्दै गएको छ। पाँच दिनको बीचमा विद्युतीय एम्बुससहित चार ठाउँमा बम आक्रमण भएको हो। 

बुधबार बिहान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सवार बा१५च ७८०६ बोलेरो अज्ञात समूहको विद्युतीय धरापमा पर्दा कार्कीसहित चार जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन्। कटारीबाट नेपालटार जाँदै गरेको गाडीमा नौ जना सवार थिए। 

यसरी निरन्तर रूपमा गएको मंसिर ८ गतेदेखि १३ गतेसम्म चार बम आक्रमण भए। तर, प्रहरी प्रशासनले कसैलाई पनि पक्राउ गरेको छैन। निर्वाचनविरोधी गतिविधि गर्ने समूहहरूले बम आक्रमण गरेको प्रष्ट रूपमा देखिए पनि प्रहरीले पक्राउ गर्न नसक्दा प्रहरी शंकाको घेरामा परेको छ। 

नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवशले निरन्तर रूपमा उम्मेदवारमाथि बम आक्रमण हुँदा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। ‘उदयपुरमा चार उम्मेदवारमाथि बम आक्रमण भइसक्यो’, संयोजक कटुवालले भने, ‘सबै घटना अज्ञात समूहले मात्र गरेको भन्ने प्रहरीको भनाइ हुन्छ, अब चुनाव प्रचार प्रसारमा हिँड्दा पनि एम्बुसमा परिएला भन्ने डर छ।’

कटुवालले प्रहरी प्रशासनले बम आक्रमणकारी पक्राउ नगरेकाले चुनाव प्रचार प्रसारमा सुरक्षा चुनौती थपिँदै गएको बताए। ‘बम पड्किरहेको छ’, उनले प्रतिप्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी चुनाव प्रचार प्रसार गर्ने? विद्युतीय एम्बुसमा पनि उम्मेदवार पर्न थाले।’

नेकपा एमाले उदयपुरका जिल्ला सचिव प्रमेश घिमिरे पनि निरन्तर रूपमा भएको बम आक्रमणले भोलिका दिनमा ठूला दुर्घटना हुनसक्ने बताउँछन्। ‘विद्युतीय धरापसम्म निर्वाचनविरोधीले थाप्न थाले’, सचिव घिमिरेले भने, ‘पक्राउ गर्न नसक्ने प्रहरी प्रशासनकै मिलेमतो हुनसक्छ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सबै आक्रमण अज्ञात समूहले मात्र गरेका छन्। प्रहरीलाई अज्ञात समूह भन्न सजिलो भएको आरोप जिल्लामा रहेका राजनीतिक दलले लगाउन थालेका छन्।

कहाँकहाँ भयो आक्रमण?
बुधबार बिहान मात्र प्रनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सवार गाडी विद्युतीय एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका– ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार कार्की, कांग्रेसका कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भीर घाइते भएका छन्। ‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘चारै जना गम्भीर घाइते भएकाले काठमाडौँबाट उद्धारको लागि हेलिकोप्टर मगाइएको छ।’

यसभन्दा अघि भएका आक्रमण्मा कुनै मानवीय क्षति नभए पनि शक्तिशाली बम विस्फोट गराइएको थियो। पहिलो आक्रमण उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ वाम गठबन्धनका उम्मेदवार सुरेशकुमार राई हिमाल र गठबन्धनकै १ को ‘ख’का उम्मेदवार नारायण बुर्जामगरमाथि भएको थियो। 

उदयपुरगढी गाउँपालिका– ७ नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कंदै गर्दा पौवाखोलामा बम विस्फोट गराइएको थियो।

गएको मंगलबार नेपाली कांग्रेसका दुई उम्मेदवारलाई लक्षित गरी जिल्लाको त्रियुगा नगरपालिकाभित्रै बम आक्रमण भए। प्रतिनिधिसभा क्षेत्र नं.– १ का कांग्रेस उम्मेदवार पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्कालाई त्रियुगा नगरपालिका– १० बाबरीमा आक्रमण भयो।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– १ को ‘ख’का उम्मेदवार कांग्रेसकै हिमाल कार्कीलाई त्रियुगा नगरपालिका ७ भान्टाबारीस्थित घरमै आक्रमण गरियो। कार्कीको घरमा बम आक्रमण हुँदा घर पालुवा चौपाया घाइते भएका छन्। लगातारको बम आक्रमणका कारण उम्मेदवारसमेत सशंकित बनेका छन् भने सर्वसाधरणमा त्रास पैदा भएको छ।

यसो भन्छन् प्रहरी प्रशासन?
उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जिल्लाको सुरक्षा समितिको बैठकसमेत बस्न लागेको जानकारी दिए। श्रेष्ठले प्रत्येक उम्मेदवारको साथमा प्रहरी सुरक्षाकर्मी व्यवस्था गरेको पनि बताए। ‘हामीले जिल्ला सुरक्षा व्यवस्था कडा बनाएका छौँ’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘निरन्तर रूपमा बम आक्रमण बढ्दै गएकाले नयाँ सुरक्षा रणनीति लिने छौँ।’

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लामा सुरक्षा गस्तीसमेत बढाएको जिल्ला प्रशासनले जानकारी दिएको छ। यता, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले आफू अहिले गाईघाटबाहिर रहेको बताए। ‘हामीले सुरक्षा व्यवस्था नयाँ रणनीतिका साथ लैजाने तयारी गरेका छौँ’, उनले भने, ‘अहिले मतदान केन्द्रको अनुगमनमा रहेका छौँ।’ 

विद्युतीय एम्बुसभन्दा अघिल्ला बम आक्रमणलाई छिटपुट घटनाको रूपमा लिएको बताउने एसपी भट्टले थप सुरक्षा व्यवस्था बढाउने बताए। ‘कसरी पक्राउ गर्नु’, उनले भने, ‘बाटोमा झुक्याएर बम प्रहार गर्दै विद्युतीय एम्बुस पड्काएर भागी आक्रमणकारी जंगल पसिहाल्छन्।’

निर्वाचनविरोधी गतिविधिमा संलग्न छ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हालसम्म निर्वाचनविरोधी गतिविधिमा संलग्न छ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध जिल्ला सदस्य पूर्णबहादुर कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेल छन्।

यसैगरी माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हुँ भन्दै निर्वाचनविरोधी गतिविधि गर्ने हिमाल राई पनि पक्राउ परेका छन्। 

आक्रमणकारी भन्छन्ः उदयपुर केन्द्रित छौँ
चुनावको मिति नजिकिँदै जाँदा विप्लव नेतृत्वको पार्टी उदयपुर केन्द्रित रहेको नेकपा किरात राज्यका नेता बताउने भैरव दंगालले बताए। उनले चुनाव बिथोल्ने योजनामा सोलुखम्बु, खोटाङ, भोजपुर, ओखलढुंगाका जनशक्ति उदयपुरमा केन्द्रित गरेको बताए। ‘पहिलो चरणमा चुनाव सम्पन्न भएको जिल्लाबाट सबै कार्यकर्ता उदयपुर केन्द्रित गरेका छौँ’, उनले भने, ‘प्रहरीले विभिन्न जिल्लामा पक्राउ गरेका आप्mना कार्यकर्ता निशर्त रिहाइ नगरे आक्रमण बढ्दै जानेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.