|

सिन्धुपाल्चोक : पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय अध्यक्षसम्म चुनावी प्रतिस्पर्धाले चर्चा उस्तै कमाएको छ। चर्चामा रहेका सिन्धुपाल्चोक जिल्लाको मतपेटिका सुरक्षा सिसिटिभीको निगरानीमा कडा सुरक्षाको साथ राखिएको छ।

‘२ सय ८५ मतदान केन्द्रका मतपेटिका जिल्ला कृषि विकास कार्यालयको चौताराको भवनमा राखिएको छ। मतपेटिकाको उच्च सुरक्षाको लागि ५ वटा सिसिटिभी प्रत्येक कोठाको बाहिरितर्फको छेउमा राखिएको छ,’ कृषि

भवनमा मतपेटिकाको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक(डिएसपी) विमलराज कँडेलले भने, ‘विशेष सुरक्षाको लागि अलग्गै ४० देखि ४५ जनाको प्रहरी, सशस्त्रको टोली खटाइएको छ।’

कर्णेलका अनुसार मतपेटिकाको रक्षाका लागि कृषि भवन वरिपरि डिएसपीको नेतृत्वमा नेपाल प्रहरीका ४५ र सशस्त्रका ३५ जना खटिएका छन्। सामूहिक रुपमा अनुसन्धान टोली, वाम र लोकतान्त्रिक पक्षका प्रतिनिधि कृषि भवनमा धर्ना दिइरहेका छन्। भित्रको स्थानमा नेपाल प्रहरी, बाहिर सशस्त्र र भवन वरिपरि विशेष सुरक्षा समूह, म्यादी खटाइएको कँडेलले बताए।

कृषि भवनमा समानुपातिक, प्रदेशदेखि प्रतिनिधिका मतपेटिका छुट्टाछुट्टै फरक–फरक कोठामा सिलबन्दी गरेर राखिएको छ। पहिलो र दोस्रो तल्लाको ८ कोठामा गरेर प्रदेश (क) र (ख), सामानुपातिक र प्रतिनिधिसभाको मतपेटिका राखिएको छ। प्रतिनिधिसभा १ को एकसय ५० र २ को एकसय ३५ मतपेटिका पहिलो, तल्लो तल्लाको कक्षमा राखिएको छ।

क्षेत्र न १ को प्रदेशसभा (क) को ७८, (ख) को ७२ माथिल्लो र क्षेत्र न २ मा (क) ६५, (ख) ७० मतपेटिका तल्लो कक्षमा राखिएको छ। समानुपातिकको क्षेत्र नं. १ को १ सय ५० माथिल्लो र क्षेत्र न २ को १ सय ३५ मतपेटिका तल्लो कक्षमा राखिएको छ।

मतपेटिकास्थल वरिपरि प्रहरीको निगरानी राखेर बाहिरसमेत ठूलो संख्यामा म्यादी प्रहरी खटाइएको छ। मुख्य निर्वाचन कार्यालयका प्रमुख दीपक खनालका अनुसार कडा सुरक्षाबीच सबै मतपेटिका कोठामा सिलबन्दी गरेर राखिएको छ। दोस्रो चरणको निर्वाचन सकेलगत्तै २१ मंसिर बिहीबारको दिन मात्रै मतपेटिका खोलेर गणना सुरु हुनेछ।

यसकारण बढी चर्चामा

मुलुकमा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको छ। निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनबीच चुनावी भिडन्त भएको छ। सिन्धुपाल्चोकमा हेभिवेट भिडन्तले चुनाव रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा १ मा लोकतान्त्रिकका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र वाम गठबन्धनबाट पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा २ मा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय अध्यक्ष पशुपति समशेर राणा र वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य चुनाव लडेका छन्।

प्रतिनिधिसभा १ तर्फमा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका विष्णु खत्री, प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनबाट पूर्वजिल्ला विकास समिति सभापति सुरेश नेपाल र लोकतान्त्रिकका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेन्द्रकुमार श्रेष्ठ चुनावी मैदानमा छन्।

यस्तै, प्रतिनिधिसभा २ तर्फका प्र्रदेशसभा ‘क’ वाम गठबन्धनबाट युवराज दुलाल ‘शरद’ र लोकतान्त्रिकका तर्फबाट विकास तामाङ चुनावी मैदानमा छन्। प्रदेशसभा ‘ख’ तर्फ वाम गठबन्धनबाट दावा तामाङ र लोकतान्त्रिकका तर्फबाट निमा लामा चुनाव भिडेका छन्। छिटफुटबाहेक सिन्धुपाल्चोकमा शान्तिपूर्ण ढंगले मतदान भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.