|

रुकुम : मतदानका क्रममा मंसिर १० गते एसिड हालेर मतपेटिकाहरु नष्ट भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा १५ मंसिरमा पुनः मतदान हुने भएको छ।

एसिड हालेर नष्ट भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते पुनः मतदान गराउनु भन्ने निर्वाचन आयोग केन्द्रको पत्रअनुसार जिल्लाका दुई मतदान केन्द्रमा पुनः मतदान हुन लागेको जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए।

उनका अनुसार मतपत्र नष्ट भएका बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको लागि मात्र मतदान हुनेछ भने आठबीसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गत्तसैनाको (ख) मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान हुनेछ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानका लागि मतदान अधिकृतहरुको टोली आवश्यक सामग्रीसहित उक्त क्षेत्रमा सदरमुकाम खलंगाबाट हिँडिसकेको छ।

बाँफिकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहेका तेजप्रसाद पौडेललाई र आठबीसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरलाई खटाइएको छ। 

बाँफिकोटको मतदान केन्द्रमा  ६ सय ७२ र आठबीसकोटमा ७ सय ५६ जना मतदाता छन्। यी दुवै मतदान केन्द्र प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ मा पर्दछन्। जहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट रातो कामी र नेपाली कांग्रेसको तर्फबाट कृष्णबहादुर रोकाय प्रदेशसभा उम्मेदवार छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.