|

काठमाडौं : प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण सकिएसँगै राजनीतिक दल दोस्रो चरणको निर्वाचनको तीव्र तयारीमा छन्। यसका लागि देशभर मुख्यतः दुई गठबन्धन प्रतिस्पर्धामा छन्-एमाले र माओवादीको वाम गठबन्धन तथा कांग्रेस, राप्रपा लगायतका दलहरुको 'लोकतान्त्रिक' गठबन्धन।

काठमाडौं क्षेत्र नम्बर ७ मा यी दुई गठबन्धन नै मुख्य प्रतिस्पर्धामा छन्। वाम गठबन्धनबाट रामवीर मानन्धर र लोकतान्त्रिकबाट विक्रम थापा। वाम गठबन्धनका मानन्धर लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताका लागि लडेको दलबाट उम्मेदवार बनेका छन् भने यसको ठीक विपरीत राजतन्त्र र हिन्दू राज्यको वकालत गर्दै आएको र त्यसको पुन:र्स्थापनालाई चुनावी एजेन्डा बनाएका थापा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका छन्।

महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत रहेका थापा अहिले भोट माग्दै घरदैलो गरिरहेका छन्। उनी विकास, प्रजातन्त्र कायमै राख्‍नका लागि विगतमा गरेका आफ्ना काम देखाएर भोट मागिरहेका छन्, जसलाई साथ दिएको छ नेपाली कांग्रेसले।  

बल्ल भनेजस्तो उम्मेदवार पायौं भन्दै रमाए मतदाता

निर्वाचन प्रचारप्रसारकै क्रममा राप्रपाका उम्मेदवार विक्रम थापा घरदैलो गरिरहेका भेटिए। नेपाली कांग्रेसको चारतारे झन्डा र राप्रपाको चुनाव चिह्न 'गाई' भएको झन्डा बोकेर भोट मागिरहेका थिए। 

मौन अवधि लागू हुनुअगावै आफ्नो निर्वाचन क्षेत्रका हरेक घरमा पुगेर 'गाई'मा भोट हाल्न आग्रह गर्ने लक्ष्य लिएका छन् उनले। वर्षौंदेखि काठमाडौंमै बसेर राजनीति गरिरहेकोले हरेक मतदाताकहाँ पुगेर हात जोड्दा त कसो भोट नदेलान् भन्ने विश्वास पनि रहेछ उनको मनमा। राप्रपा र कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकले भनेको सुनाए, 'विक्रम थापा ढिलो आइरहनुभएको छ, छिटो गर्नुपर्‍यो।'

स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकका कुरा पछ्याउँदै घरदैलो पुग्दा मतदाता आतुर रहेको पाएको उनले बताए। 'तपाईंलाई हामीले धेरै पहिलेदेखि खोजिरहेका थियौं भन्याजस्तो उम्मेदवार बल्ल पायौं। यो वर्ष हामीलाई पनि राम्रो तपाईंलाई पनि राम्रो' मतदाताले भन्ने गरेको थाहा खबरलाई सुनाए। 

रामवीर मात्रै होइनन् प्रतिस्पर्धी

काठमाडौं क्षेत्र नम्बर ७ मा दुई जनाको मात्रै नाम चर्चामा छ, वाम गठबन्धनबाट नेकपा एमालेका रामवीर मानन्धर र लोकतान्त्रिकका तर्फबाट राप्रपाका विक्रम थापा। यो क्षेत्रमा यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। अन्य उम्मेदवारहरु भने गुमनाम जस्तै छन्। 

तर, लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बनेका थापाले भने आफू दुईजना मात्रै प्रतिस्पर्धामा नरहेको बताए। यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा पुग्नका लागि १३ जना चुनावी मैदानमा छन्। 

वाम गठबन्धनका रामवीर र लोकतान्त्रिक गठबन्धनका विक्रमका अलवा नेपाली कांग्रेस (बी.पी.) का प्रकाश कुँवर, मालेका  कुमारखाकी श्रेष्ठ, नेमकिपाका कशीनारायण डंगोल, नयाँ शक्ति नेपालका ईश्वर रिजाल, राप्रपा (राष्ट्रवादी)का आकाश ढकाल, देशभक्त जनगणतान्त्रिक मोर्चाका बन्धुदेव पाण्डे, संघीय समाजवादी फोरमका ज्ञानेन्द्र मोहन श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अर्जुनकुमार आचार्य र विवेकशील साझा पार्टीकी अनुपा श्रेष्ठ चुनावी मैदानमा छन्। त्यस्तै, निमाफिन्‍जो लामा, हरिबहादुर प्रसाईं र उर्मिला राउत (विष्‍ट) स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्।

विक्रम यी सबैजना आफ्ना प्रतिस्पर्धी भएको स्वीकार्छन्। वाम गठबन्धनका रामवीर मात्रै प्रतिस्पर्धी हुन् भन्ने उनको धारणा छैन, उनी भन्छन्, 'मेरा अरु पनि प्रतिस्पर्धी छन्। अनुमानमा मेरो सबैभन्दा नजिकको प्रतिस्पर्धी भनेर रामवीर मानन्धरजीलाई लिइएको छ।'

यो क्षेत्रबाट प्रत्यक्षमा जितेर ०७० मा सांसद बनेकाले रामवीर मानन्धरलाई आफ्नो प्रतिस्पर्धीक रुपमा लिएको हुनसक्ने उनको अनुमान छ। तर, अन्य उम्मेदवारले पनि भोट काट्ने भएकोले सबैलाई प्रतिस्पर्धीका रुपमा लिनुपर्ने उनको धारणा छ। 

'मबारे अनविज्ञ छैनन् मतदाता'

'यो क्षेत्र मेरालागि नौलो होइन, यो मैले धेरै पहिलेदेखि नै डुलेको, घुमेको, भोगेको ठाउँ हो', काठमाडौं क्षेत्र नम्बर ७ सँग आफू परिचित भएबारे थापाको थप व्याख्या छ, 'यहाँका घरका बुट्टा, सडक गल्ली र बाटा, दोबाटाहरुले मलाई राम्रोसँग चिन्दछ।' 

विद्यार्थी कालदेखि पञ्चायतकालमा काठमाडौंको सभापति हुँदासम्म र अहिले मन्त्री पदमा रहँदासम्म आफू यो क्षेत्रमा नै क्रियाशील रहेर राजनीतिमा सक्रिय रहेको थापाले सम्झिए। उनले आफ्नो व्यवहारले पनि यो क्षेत्रका मतदाता आफूप्रति आकर्षित रहेको बताए। उनी भन्छन्, 'मेरो उम्मेदवारीमा मैले आफ्नो प्रचार गर्नुभन्दा मेरो उम्मेदवारीप्रति जनता आफैँले धेरै प्रचार गरेर हिँडेको अवस्था छ।'

आफू उम्मेदवार बनेर आएपछि विगतका चुनावमा एमाले र माओवादीमा भोट हालेका मतदाता पनि आफ्नै पक्षमा आएको थापाको दाबी छ। उनी भन्छन्, 'हिजो वामपन्थी दलमा भोट हाल्नेदेखि अनेक साथीहरु, जो मेरा पुराना साथीहरु थिए, सबै जनाले मेरो उम्मेदवारीप्रति खुसी व्यक्त गर्नुभएको छ। कांग्रेसका साथीहरुले आफैँ उम्मेदवाराभएसरह बोकेर हिँड्नुभएको छ। त्यसकारण पनि मेरो अवस्था अत्यन्त राम्रो छ।'

विकासका लागि साझा नेतृत्व 

राजनीतिक खेलाडीभन्दा पनि जनताको सेवकका रुपमा रहेको दाबी गर्ने थापाले काठमाडौंको सभापति भएको वेला स्थानीयस्तरबाट आएका हरेक काम गरेको बताए। त्यसले जनतामा गुन लागेको र यसले विकास गर्छ भन्ने परेकोले आफूलाई भोट हाल्ने उनको धारणा छ।

देशको राजधानी भए पनि काठमाडौं र त्यसमा पनि छिमेकी जिल्ला नुवाकोटसम्म जोडिएको निर्वाचन क्षेत्र नम्बर ७ मा उनी राजधानी भन्न नसुहाउने नगर बनेको बताउँछन्। 'काठमाडौंका कतिपय कुरा राजधानीका भन्न सुहाउने छैनन्, सबैतिर नगर बनाइएका छन् तिनलाई नगर भन्न सुहाउने छैन।'

काठमाडौंमा दुर्गमका गाउँजस्तै गाउँ भएको जहाँ अहिले पनि विद्युत्, खानेपानी र सडक मागको रुपमा आउने गरेको उनले बताए। शिक्षा र स्वास्थ्यको अवस्था बिग्रँदो तथा नदी नियन्त्रण र नदी प्रदूषणको अवस्था पनि बढ्दै गइरहेको उनको भनाइ छ।

यी क्षेत्रमा सुधार गर्नका लागि सबै राजनीतिक दललाई एकत्रित बनाएर अघि बढ्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। उनी भन्छन्, 'हामीले सबैसँग सहमतिको वातावरण बनाएर यहाँको विकास निर्माणमा लान सक्नुपर्ने थियो, त्यो कुरो अहिलेसम्म हुन सकेको छैन।' निर्वाचनपछि यो क्षेत्रले त्यस्तो नेतृत्व, जसले विकास निर्माणको कामलाई अगाडि बढाउनेछ, पाउने उनको विश्वास छ।

'त्यसको उचीत प्रवन्धको लागि चुनावको परिणामपछि सबै दल, वुद्धिजीवी, समाजसेवीको सहयोग र सद्धभाव लिएर सामूहिक कार्यक्रम बनाएर अगाडि बढेदेखि सम्भावना भएका क्षेत्रको विकास गर्न सकिन्छ', उनले विकास गर्ने विधि प्रस्तुत गरे। 

विगतमा भने यस्तो सहकार्यमा विकास हुन नसकेको उनको गुनासो थियो। नेतृत्वमा आउने राजनीतिक दलले विगतमा भएका कामको निरन्तरता दिनेभन्दा पनि आफ्नै किसिमले अगाडि बढ्ने भएर विकास हुन नसकेको उनको भनाइ छ।

जनताको मेजर इस्युलाई पत्ता लगाएपछि जित्नेले हार्नेलाई साथ लिएर अँगालो हालेर विकासका लागि जानुपर्ने' वेला आएको थापाले बताए। उनले त्यसका लागि आफू सक्षम भएको बताए। भन्छन्,'एउटाले बनाउने र अर्कोले भत्काउने वातावरणको सिर्जना गर्ने होइन, चुनाव लडुन्जेल दल, चुनाव सकिएपछि सबै एकै ठाउँ बसेर नेतृत्व दिएर सँगै लिन सक्नुपर्‍यो। त्यो नेतृत्वको दायित्व हुन्छ, त्यो खुबी मसँग छ भन्ने मेरो दाबी हो।'

राजसंस्था होइन लोकतन्त्र चुनावी एजेन्डा

राप्रपाले घोषणापत्रमा राजसंस्थालाई पुन:र्स्थापनाको मुद्दालाई घोषणापत्रमा उल्लेख गरेर चुनावी मैदानमा गएको छ। राजसंस्था पुन:र्स्थापनासँगै हिन्दूराज्य घोषणा गर्नेछौं भनेर राप्रपा भोट मागिरहेको छ। 

झन्डै २०४ वर्ष शासन गरेको राजतन्त्र निरंकुश बनेपछि जनआन्दोलनमार्फत फालेको दुई दशक पनि नपुग्दै त्यसलाई पुन:र्स्थापना गर्ने एजेन्डा लिएकोबारे मतदाताले कुरा उठाएको थापाको भनाइ छ। उनी भन्छन्, 'मतदाताले राजसंस्थाको कुरा उठाएका पनि छन्, त्यसबारे हामीले स्पष्ट भनेका पनि छौं।'

विश्वमा सर्वसम्मत कुनै पनि विषय नहुने भन्दै फरक एजेन्डा लिएर चुनावी मैदानमा गएको थापाको भनाइ छ। उनी राजतन्त्रको आवश्यकतालाई यसरी व्याख्या गर्छन्, 'राजसंस्थाको आस्था र गरिमालाई हामीले कसरी बुझेका छौं भने यो देशको स्थायित्व, विदेशी हस्तक्षेप कम गर्न, र सभ्य र समृद्ध नेपाल

बनाउका लागि स्थायी संस्थाको आवश्यकता महसुस भएको छ, त्यसआधारमा सम्मानजनक, संविधानले तोकेको घराभित्र रहने अधिकार दिएर बनाउने राजतन्त्रको परिकल्पना हो।' उनले राजसंस्थाका रुपमा कुनै पनि किसिमको शासकको भने परिकल्पना नगरेको बताए।

नेपाली कांग्रेसका समेत उम्मेदवार बनेका थापालाई भने राजसंस्था र हिन्दूराज्यबारे भन्दा पनि अहिले प्रजातान्त्रिक शक्ति बलियो बनाउन भोट माग्नुपर्ने अवस्था आएको छ। उनी भोट माग्नेवेला मतदातासँग गरिने एजेन्डाका कुराबारे भन्छन्, 'यो पटकको निर्वाचनमा हाम्रो विचारभन्दा प्रजातान्त्रिक शक्ति बलियो बनाउने कि कम्युनिस्टको शक्ति बलियो बनाउने भन्ने सिलसिलाको उम्मेदवारी भएको हुनाले यो सैदान्तिक विषयबारे निकै लामो बहस जनताले गर्दैनन्।' प्रजातन्त्र बलियो बनाउनका लागि आफूहरु एक भएर लागेको उनको भनाइ छ। 

जित कांग्रेसको काँधमा 

विगतका चुनावमा यो क्षेत्रबाट राप्रपाको पक्षमा राम्रो मत आएकोले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ७ रोजेको हो राप्रपाले। 

जसरी केन्द्रको विश्वास जितेर संयुक्त उम्मेदवार बनेर क्षेत्र नम्बर ७ मा पुगेका छन् थापा, त्यसरी नै मतदाताले पनि स्वीकार्नेमा विश्वस्त छन्। त्यसमा पनि नेपाली कांग्रेसमा भोट हाल्ने मतदातालाई आफ्नो पक्षमा पार्नमा लागेका छन्। प्रचारप्रसारमा उनले अपनाएको तरिकाले पनि यो पुष्टि गर्छ। 

चुनावी अभियानको एक लाइनमा उनको व्याख्या छ, 'कांग्रेस र हाम्रो झन्डा सँगसँगै राखेर हिँड्छौं, एउटा चारताराको र एक गाईको झन्डा बोकेर हिँड्छन् साथीहरु। भोट माग्दा पनि एक गाईलाई र दुई रुखलाई भनेर हिँडेका छन्।' उनका सहयात्री बनेका छन् कांग्रेसका प्रदेशतर्फका उम्मेदवारहरु विजयबहादुर माली र धर्मराज अर्याल। यसरी संयुक्त रुपमा चुनावी अभियान चलाएकोमा मतदाताले पनि राम्रो प्रतिक्रिया दिइरहेको थापाले बताए। 

मन्त्री एवं उम्मेदवार थापा मतदातालाई भगवान् मानेर हिँडेका छन्। सार्वभौम सत्ता सम्पन्न जनताले कतिखेर मत परिवर्तन गर्छन् भन्ने उनलाई पनि थाह छैन तर लागिपरेका छन् त्यो मन आफूलाई फाइदा पुर्‍याउने गरी परिवर्तन होस् भनेर।

घरदैलोका क्रममा उनी आफूप्रति मतदाता आकर्षित भइरहेकै पाएको बताउँछन्। मतदाता त्यसमा पनि नेपाली कांग्रेसको भरपरेका थापा विजयबारे भन्छन्, 'जे रेस्पोन्स पाएको छु त्यसले मेरो विजय निश्चित छ भन्ने मलाई लागेको छ। अझ पनि मैले धेरै मतदाताकहाँ नमस्ते गर्न जानुपर्ने छ, त्यसले पनि राम्रै गर्नेछ।'

यो पनि पढ्नुहोस्: काठमाडौं- ७ का वाम उम्मेदवार रामवीरको दावी- मलाई कांग्रेसको सबै भोट आउँछ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.