|

झापाः दमक चोकमा रहेको गोरखा डिपार्टमेन्टको प्रांगणमा धेरै राजनीतिक कार्यक्रम हुन्छन्। चुनाव नजिकिएसँगै त्यहाँ दैनिकजसो चुनावी सभा भइरहेका छन्। दमकमा आमसभा गर्ने उचित ठाउँ नहुँदा पनि सांगीतिकदेखि राजनीतिक कार्यक्रमसम्म त्यहीँ हुन्छन्। तर बुधबारको चुनावी सभा भने अलिक फरक थियो।

स्टेजमा धमाधम नेताहरू भाषण गरिरहेका थिए। स्टेजको तल खाली भागमा कराँतेका खेलाडीहरू आफ्नो कला प्रस्तुत गरिरहेका थिए। अखिल नेपाल खेलकुद महासंघ र नेपाल खेलकुद महासंघ एक नम्बर प्रदेश समितिले संयुक्त रूपमा गरेको खेलकुद चुनावी सभाका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष तथा झापा क्षेत्र नम्बर- ५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओली। स्टेजमा बसेका ओलीले प्रांगणमा कराँतेका खेलाडीले देखाएको खेललाई ध्यानपूर्वक हेरिरहेका थिए। ओलीले आफ्नो खेललाई ध्यानपूर्वक हेरेपछि खेलाडीहरू उत्साहित भएर आफ्नो कला देखाइरहेका थिए।

चुनावी सभाको स्टेज तथा छेउछाउमा ओलीले फुटबल खेल्दै गरेको फोटो तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेनिस खेल्दै गरेको फोटोलाई जताततै राखिएको थियो। ‘खेलकुद क्षेत्रको चाहना, खेलमैत्री सरकार स्थापना’ त्यो फोटोमा लेखिएको थियो। कार्यक्रममा दर्शक पनि अधिकांश खेलप्रेमी र खेलाडी नै थिए। कार्यक्रममा प्रदेश नम्बर- १ का खेलाडी तथा खेलप्रेमीको सहभागिता थियो।

खेलकुद क्षेत्रको विकास गर्न भन्दै गरिएको खेलकुद चुनावी सभामा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलगायत नेकपा एमाले तथा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता थियो। कार्यक्रममा ओलीले अवसर पाउने हो भने नेपाली खेलाडीहरूले पनि देशलाई खेलकै माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए। उनले भने, ‘हाम्रोमा आफन्तलाई मात्र अवसर दिने चलन छ। ग्रामीण क्षेत्रका खेलाडीलाई अवसर दिने हो भने राम्रै प्रगति गर्न सक्थे।’

'रंगशालामा राजनीति गरियो'

झापाको कमल गाउँपालिकामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रंगशाला नाम विवादका कारण छ वर्षसम्म निर्माण प्रभावित बनेको छ। आदिवासीको समाधिस्थल रहेको यो स्थानमा समाधि उत्खनन् गरेर २०६६ सालबाट निर्माण सुरु गरिएको रंगशालाको नाम विवादका कारण काम नै रोकिएको छ। निर्माण पक्रिया सुरु गर्दा आदिवासी रंगशाला नामंकन गरिए पनि ओलीले प्रधानमन्त्री हुँदा यस रंगशाललाई मदन भण्डारी रंगशालाको नाममा बजेट विनियोजन गरेका थिए।

त्यसयता आफ्नै निर्वाचन क्षेत्र आउँदा पनि उनी विवादित बन्ने गरेका छन्। उनले यस रंगशालाका विषयमा बोल्नेबित्तिकै यहाँका आदिवासीले पत्रकार सम्मेलन नै गरेर उनको वक्तव्यको खण्डन गर्ने गरेका छन्। यही रंगशालाका विषयमा बुधबार पनि ओलीले थोरै बोल्न भ्याए। उनले रंगशालाको नाम नलिईकन नै रंगशाला निर्माणमा राजनीति भएको बताए।

उनले भने, ‘हामीले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भनेका थियौँ तर यहाँ केही साथीहरूले राजनीति गर्न खोज्नुभयो।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा आएरसमेत रंगशालालाई राजनीतिक भाषण बनाएको आरोप लगाए। उनले भने, ‘केही महिनाअघि यहाँ प्रधानमन्त्रीजी आउनुभयो। उहाँले पनि यो रंगशालालाई राजनीतिक मुद्धा बनाउनुभयो. विरोध गर्नेहरू गर्दै गरून्, हामी यहाँ रंगशाला नबाएरै छाड्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.