|

काठमाडौं: कुनै पनि नयाँ कामको सुरुवात गर्न अलि डर त भइहाल्छ नै। नयाँ काम कस्तो हुने हो, कसरी राम्रो काम गर्ने, अरू भन्दा फरक कसरी हुने? यी हरेक कुराको डर उनीहरूमा हुन्छ। त्यही कुरा कलाकारमा पनि लागू भइहाल्छ। पहिलो पटक क्यामेरमा अनुहार देखाउँदा नर्भस नहुने कलाकार कमै होलान्। 

आज हामीले चार जना कलाकारसँग केन्द्रित रहेर पहिलो पटक क्यामेरा फेस गर्दाको उनीहरूको अनुभव कस्तो रह्यो? बुझ्ने कोसिस गरेका छौँ।

. दिलीप रायमाझी  

कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका नायक हुन्, दिलीप रायमाझी। नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल उनी अहिले भने फिल्म क्षेत्रमा त्यति सक्रिय देखिँदैनन्। दिलीप पहिलो पटक फिल्म 'सडक'का लागि ग्रुप डान्स गर्दा क्यामेरामा देखिएका थिए। तर विडम्बना, उनले त्यहाँ आफ्नो अनुहार देखाउन पाएनन्। दिलीप भन्छन्, 'जिन्दगिमा पहिलो पटक क्यामेरा फेस गरेको, त्यो पनि पछाडि पछाडिबाट खिच्नुपर्‍यो।' पछाडिबाट सिन भएकाले उनले अनुहार देखाउन सकेका थिएनन्।

उनको पहिलो सोलो फिल्म 'भानुभक्त' थियो। उनले पहिलो पटक क्यामेरामा हरेर दिएको सिन पनि त्यही फिल्मका लागि थियो। सुटिङको पहिलो दिन नै सिंहदरबारमा उनले सिन दिनुपर्ने थियो। त्यस बेला लाइट एकदमै धेरै दिएर खिच्नुपर्थ्यो। 'पहिलो दिन सिंहदरबारमा मैले सिन दिएको थिएँ', उनी सम्झिन्छन्, 'त्यस बेला एकदमै धेरै लाइट दिएर फिल्म खिच्नुपर्थ्यो, जसले गर्दा मेरो आँखा नै बिगारिदियो। आँखै चेक गराउनुपर्‍यो।'  दिलीपले त्यस बेला फिल्म क्षेत्र आफ्नो बाटो नभएको समेत सोच्न भ्याइसकेका थिए उनले। 

फिल्मको नाम 'भानुभक्त' भएकाले पनि त्यहाँ प्राय: सबै कविहरूको उपस्थिति थियो। सबै सम्मानित व्यक्तिहरूका अगाडि सिन दिन गाह्रो भएको दिलीप बताउँछन्।

२. संचिता लुइँटेल

सुन्दरी नायिकाको छवि बनाएकी संचिता लुइँटेल पनि फिल्म क्षेत्रमा स्थापित नाम हो। 'अप्सरा' फिल्मबाट रजतपटमा भित्रिएकी उनले धेरै सफल फिल्ममा अभिनय गरिसकेकी छन्। उनले पहिलो पटक फिल्म 'अप्सरा'का लागि सिन दिएकी थिइन्।

उनले दिएको सिन मध्यान्तरभन्दा अगाडिकै थियो। रमेश उप्रेती, विपना थापा जस्ता नाम चलेका कलाकार त्यस फिल्ममा थिए। त्यसैले पनि उनमा राम्रो काम गरेर देखाउनुपर्ने बाध्यता थियो। कुनै एक्टिङ क्लास नलिएकी उनलाई पहिलो सिनमै गाह्रो भयो। 'आठ लाइन लामो डाइलग रुँदै बोल्नुपर्ने सिन थियो। लगतार तीन टेक दिँदा पनि मिलेन', उनी भन्छिन्, 'चौथो पटक बल्ल मिल्यो।'

क्यामेराको पछाडि संचिताकी आमा पनि सुटिङ हेरिरहेकी थिइन्। संचिताको मन त्यता पनि थियो। सबैले नयाँ हिरोइन भनेकाले पनि उनैमा फोकस भएर हेरिरहेका थिए। उनी सम्झिन्छिन्, 'डाइलग त पूरै भनेँ तर डरले खुट्टा थरर कामिरहेको थियो।'

३. श्वेता खड्का

श्वेता खड्का फिल्म क्षेत्रमा रुचाइएको नाम हो। फिल्म 'कहाँ भेटिएला'बाट अभिनय यात्रा सुरु गरेकी उनले 'श्रीमान श्रीमती', 'हाँसिदेऊ एक फेर', 'कोहिनुर'मा अभिनय गरी आफ्नो सफल अभिनय क्षमता देखाइसकेकी छन्।

आधा पेज लामो डाइलग बोल्दै पहिलो पटक क्यामेरामा कैद भएकी थिइन् श्वेता। फिल्म 'कहाँ भेटिएला'को शुभमुहूर्त थियो। सम्झिन्छिन्, 'फिल्म क्षेत्रका एकदमै सिनियर व्यक्तिहरूको उपस्थिति थियो त्यहाँ। त्यही बेला मैले आधा पेज लामो डाइलग बोलेर पहिलो सिन दिएकी थिएँ।' त्यहाँ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पनि उपस्थिति थियो। उनीहरूले श्वेतालाई प्रोत्साहन गर्दै आशीर्वादसमेत दिएको श्वेता बताउँछिन्।

लामो डाइलग बोल्नुपर्ने भएकाले पनि श्वेतामा कताकता डर थियो, नर्भस भएकी थिइन्। भन्छिन्, 'सुरुमा सामान्य बोल्नुपर्ने अनि भावुक भएर बोल्नुपर्ने र अन्यमा रुँदै बोल्नुपर्ने सिन थियो। त्यसैले पनि राम्रो गर्न नसक्ने हुँ कि भन्ने डर थियो ममा।'

श्वेताको पहिलो सिन चितवनमा खिचिएको थियो। सबै कलेजका साथीहरूको उपस्थिति थियो त्यहाँ। 'पहिलो पटक फिल्म खेल्न लागेको, त्यसमाथि सबै कलेजका साथीहरूले घेरेर सुटिङ हेरिरहेका थिए', श्वेता भन्छिन्, 'मलाई त लाज लाग्यो।'

. विपीन कार्की

थिएटर नाटक हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार हुन्, विपीन कार्की। उनले धेरै सडक नाटकहरू पनि गरेका छन्। नाटक गर्दैगर्दा उनले फिल्म 'आचार्य'मा काम गरे। उक्त फिल्ममा उनि त्यति धेरै फोकस भएका थिएनन्। डाइलग पनि थिएन। सम्झिन्छन्, 'पहिलो फिल्म 'आचार्य'बाट त मैले क्यामेराको केही नि थाहा पाइनँ, तर नाटक गरिरहेकाले पनि होला त्यस्तो डर भने केही थिएन।'

त्यसपश्चात विपीनले फिल्म 'लुट'मा काम गरे। 'लुट'मा पनि उनी त्यति फोकस हुन पाएनन्। फिल्ममा छोटा डाइलग अनि हिरोको पछाडि पछाडि हिँड्नुपर्ने रोल हुन्थ्यो उनको। तर 'छड्के'मा भने उनले मज्जाले क्यामेराको अनुभव लिन पाए। भन्छन्, 'क्यामेरा त पहिलादेखि नै थाहा भइसकेको थियो। तर छड्केबाट उक्त कुराको झन मज्जाले अनुभव लिन पाएँ।'

पहिला नाटक गर्दा पनि क्यामेरामा नाटक खिचिन्थ्यो तर त्यो कलाकारलाई थाहा हुन्न थियो। त्यसैले पनि विपीन त्यसलाई क्यामेरा फेस गरेको मान्दैनन्। अभिनय नै गरिरहेको हुनाले पनि उनलाई क्यामेरा फेस गर्न कुनै गाह्रो नभएको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.