|

धनकुटा : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु यतिबेला प्रचार प्रसारका लागि गाउँ–गाउँ पुगिरहेका छन्। धनकुटामा मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएको लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएका छन्। अन्य साना दलहरुले भने चुनाव प्रचार प्रसारलाई त्यति जोड दिएका छैनन्।

उम्मेदवारहरु संगठन परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन्। जिल्लाका विभिन्न गाउँ टोलमा दुई गठबन्धनको छुट्टा–छुट्टै चुनावी सभा भइरहेका छन्।

प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा छ दलको उम्मेदवारी छ। प्रदेश सभा १ मा ६ र प्रदेश सभा २ मा मा ७ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग मन्त्री सुनिलबहादुर थापाले दैनिक तीन स्थानमा चुनावी सभा गर्ने गरेका छन्। मन्त्री थापाले धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने, जिल्लाको पूर्वाधार विकास, सडक, सिञ्चाई, शिक्षा, स्वास्थ्य लगायत विभिन्न एजेण्डाहरु लिएर मतदाताको मन जित्न टोल बस्तीसम्म पुगिरहेको बताए।

उनले लोकतन्त्रवादीहरुको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरेको बताए। कांग्रेस पूर्व जिल्ला सभापति तथा पूर्वसांसद पनि रहेका प्रदेश सभा १ नम्बर क्षेत्रका उम्मेदवार मनोहरनारायण श्रेष्ठले जिल्लाको समग्र विकास गरी नमुना बनाउने अभियानसहित कांग्रेस चुनावमा होमिएको बताएका छन्।

मन्त्री थापा कहिले श्रेष्ठ र कहिले प्रदेशसभा २ का उम्मेदवार अर्जुन थापासँग टोली बनाएर दैनिक तीन ठाउँमा चुनावी सभा गरिरहेका छन्। आफ्नो क्षेत्रको चौतर्फी विकास र सम्भावनाको खोजी गर्दै मतदाताको विश्वास जित्न गाउँ–गाउँ पुगिरहेको उनले बताएका छन्।

यता नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका उम्मेदवारहरु पनि चुनावी दौडाहामा छन्। वाम गठबन्धनका लागि प्रतिनिधिसभाका उम्मेदवार एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले पनि प्रदेशसभा १ का वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला उपसचिव निरन राई र प्रदेशसभा २ का उम्मेदवार इन्द्रमणि पराजुलीसहितको टोलीसँग जिल्लाका विभिन्न ठाउँमा दैनिक तीन ठाउँमा चुनावी सभा र घरदैलो कार्यक्रम गरिरहेका छन्।

अध्यक्ष राईले आफूले जिते जिल्लाको समग्र विकासमा लहर आउने दाबी गरेका छन्। उनले स्थायी सरकार र आर्थिक समृद्धिका साथै धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने एजेण्डालाई आफूले प्राथमिकतामा राखेर चुनावी अभियान गरिरहेको बताए। चुनावी सभाहरुमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हेमराज भण्डारी, चुनाव परिचालन कमिटीका संयोजक माओवादी केन्द्रका जिल्ला कार्यवाहक इन्चार्ज उज्ज्वल किराँतीलगायत  एमाले र माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरूले साथ दिइरहेका छन्।

वाम गठबन्धनका प्रदेशसभा १ का उम्मेदवार राईले आफूले कृषि, पर्यटन, पूर्वाधार विकास, सडक, विद्युत लगायतका मुद्धा लिएर मतदातामाझ पुगिरहेको बताए।

मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाहेक साना दलहरुले पनि जिल्लाका विभिन्न ठाउँमा चुनावी कार्यक्रम गरिरहेका छन्। राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा राष्ट्रवादी, नेसनल मंगोल अर्गनाइजेसन पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च पनि चुनावी मैदानमा छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र रसाइली, एकीकृत राप्रपा राष्ट्रवादीका सुभानसिं राई, नेसनल मंगोल अर्गनाइजेसनका श्याममान राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिंह नेम्वाङले उम्मेदवारी दिएका छन्।

दुवै उम्मेदवारलाई अन्तर्घातको चिन्ता

वाम र लोकतान्त्रिक गठबन्धनका दुवै उम्मेदवारलाई आफ्नै पार्टी र गठबन्धनभित्रका असन्तुष्ट कार्यकर्ताबाट असहयोग हुने खतरा छ। लोकतान्त्रिक गठबन्धनमा उम्मेदवार बनेका थापालाई उनका पुराना सहयोगीले साथ दिएका छैनन्। बाबु सूर्यबहादुर थापाले साथमा राखेका पुराना पञ्च गोपाल थापा एमाले प्रवेश गरी पाख्रिबास नगरपालिका वडा नं. ५ को वडाध्यक्ष निर्वाचित भएका छन्। मूर्तिढुंगामा प्रभाव पार्ने केशव काफ्लेको मृत्यु भएको छ। पञ्चायतकाल र बहुदलीय व्यवस्थामा पनि जनप्रतिनिधि भएका मानबहादुर मिश्र, टीकाप्रसाद घिमिरे, माधव भट्टराईलगायत निष्क्रिय छन्। त्यस्तै कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्तालेसमेत मतदान गर्ने विश्वासिलो आधार छैन।

त्यसो तर एमाले उम्मेदवार राईलाई पनि वाम गठबन्धनमा रहेका माओवादी केन्द्रमा असन्तुष्ट नेताकार्यकर्ताले असहयोग गर्ने खतरा छ। पार्टीमा सर्वसम्मत उम्मेदवार बनेका राईलाई २०७० सालमा जस्तो पार्टीभित्रैका कार्यकर्ताले असहयोग गर्ने अवस्था भने छैन। माओवादी केन्द्रका असन्तुष्ट कार्यकर्ताले विपक्षमा मतदान गरे राईलाई खतरा हुनेछ। त्यसैले एमालेले सबै कार्यक्रममा माओवादी केन्द्रलाई अगुवा बनाएको छ। जिल्लाको निर्वाचन परिचालन कमिटीको संयोजक र गाउँ तहको संयोजक माओवादी केन्द्रका कार्यकर्ता छन्।

प्रदेशमा दुवै गठबन्धनको प्रतिस्पर्धा

प्रदेशसभामा धनकुटाका दुवै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा छ। प्रदेशसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका निरन राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठ मैदानमा छन्।

एमाले उम्मेदवार राई वामपन्थी नेता भक्त बोलना राईका छोरा हुन् भने कांग्रेस उम्मेदवार श्रेष्ठ सहिद भीमनारायण श्रेष्ठका छोरा हुन्। संविधानसभा निर्वाचन २०७० मा समानुपातिक सांसद बनेका श्रेष्ठ ०४८ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए। एमाले उम्मेदवार राई पहिलोपटक उम्मेदवार बनेका हुन्। यो क्षेत्रमा चौबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका १, २, ३, ६ र ६ नम्बर वडा र धनकुटा नगरपालिकाका वडा नं. २ बाहेक सबै वडा पर्दछ। स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले यस क्षेत्रमा २० हजार ९६० मत पाएको छ। लोकतान्त्रिक गठबन्धनसँग १२ हजार ६२४ मत छ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट पूर्व जिविस सदस्यसमेत रहेका इन्द्रमणि पराजुली उम्मेदवार छन्। लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा छन्। थापा २०४८ र २०५६ सालमा कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार भएका थिए भने पराजुली पहिलोपटक उम्मेदवार बनेका हुन्। यो क्षेत्रमा पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाका ४ र ५ नम्बर वडा र धनकुटा नगरपालिकाको वडा नं. २  पर्दछ। यो क्षेत्रमा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले १९ हजार ३६ मत पाएको थियो। लोकतान्त्रिक गठबन्धनले ९ हजार ४ सय ५८ मत पाएको थियो। मंसिर २१ गते हुने चुनावमा जिल्लाका एक लाख हजार ५ हजार सय ८८ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.