|

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका लौहपुरुष गणेशमान सिंहका छोरा हुन्। 
पिताको राजनीतिक विराशत धान्दै आएका सिंह पार्टीको सुरक्षित क्षेत्र भनेर चिनिएको काठमाडौंको क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रो पटक उम्मेदवार भएका छन्। जान्ने र बुझ्ने भएदेखि नै राजनीतिमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा क्रियाशील भएको बताउने सिंह पारिवारिक राजनीतिक वातावरणका कारण आफूले राजनीतिमार्फत समाजसेवाबाहेक अन्य क्षेत्र नरोजेको बताउँछन्।

कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति अध्यक्षबाट केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका सिंहले उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पूरा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो प्रतिस्पर्धी नै नभएको बताउने सिंहले राजनीति संभावनाको खेल भएकाले पार्टी वा सरकार, जसको नेतृत्व लिन पनि तयार भएको बताए। 

निर्वाचनको क्रममा घरदैलो कार्यक्रमअन्तर्गत मतदाता भेटघाटमा व्यस्त सिंहसँग थाहाखबरका लागि लिलाराज खनालले गरेको कुराकानीः

चुनावी प्रचारमा निकै व्यस्त हुनुहुन्छ, कहाँ पुग्यो प्रचार अभियान? मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो? 

काठमाडौं क्षेत्र नम्बर– १ को चुनावी अभियान करिव अन्तिम चरणमा पुगेको छ। यस पटक हाम्रो चुनावी परिचालनको शैली यसभन्दा अघिका दुईवटा संविधानसभाको चुनाव लड्दाखेरिको अनुभव र त्यसबेलाको कमी कमजोरीलाई केलाएर प्रभावकारी ढंगले अघि बढिरहेको छ। यस निर्वाचन क्षेत्रबाट मैले दुई पटक प्रतिनिधित्व गरिसकेकाले खास समस्या छैन। 

संविधानसभाबाट कम्युनिष्टहरूले जारी गर्न नसकेको संविधान कांग्रेस पहिलो पार्टी बनेर हाम्रो नेतृत्वमा सरकार बनेपछि जारी भयो। यसका कारणले गर्दा यस पटक हामीले भोट मागिराख्दा मैले सहज अनुभव गरिरहेको छु। प्रथम पटक भोट मागेर दोस्रो पटक आउँदा मलाई अलिक गाह्रो थियो, किनभने संविधान नैं जारी नगरीकन संविधानसभा भंग भएको थियो।

दोस्रो पटक मत माग्न जाँदा कम्युनिष्टहरूको बहुमत भएका कारण संविधासभामा पालै पालो प्रधानमन्त्री हुँदै सरकार चालाए तर संविधान बनाउन सकेनन् र संविधानसभा नै भंग गरे। दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसलाई भोट दिनुभयो भने हामी पहिलो पार्टी भएर आयौँ भने संविधान जारी गर्छौं भनेको थिएँ। अहिले तेस्रो पटक मतदाताकहाँ पुग्दा संविधान जारी गरेर आएँ भन्न पाइयो। अलिकति आनन्द र सहज महसुस भएको छ। 

अरू दलले गर्न नसकेको संविधान निर्माण कार्य कांग्रेस नेतृत्वको सरकारले गर्‍यो भन्ने नै हो। आम मतदातामा पनि अरू दलहरू नारा मात्र दिन्छन् तर कांग्रेसचाहिँ भनेपछि गर्दोरहेछ भन्ने एउटा छाप परेको छ। 

यस क्षेत्रको विकास निर्माणको सवालमा पनि स्थानीय वासिन्दाको मागबमोजिम उनीहरूकै सहभागितामा धेरै उदाहरणीय काम गरेकाले मलाई दुवै पटक जिताएर पठाए। यसअघि यस क्षेत्रबाट जनताले जिताएर पठाएका कम्युनिष्टहरूले कुनै काम नगरेको गुनासो थियो। मतदाताहरूले मप्रति सकारात्मक प्रतिक्रिया र सुझावहरू दिएका छन्। 

मतदातासँगको भेटघाटको तरिकामा पहिलाभन्दा केही फरक छ र?

विगतमा हामी मुख्यमुख्य बाटोमा जुलुस, रोड सो गथ्र्यौं। एक्लै गएर मतदातासँग हात मिलाउँथ्यौँ। अहिले तपाईंहरूले देखिरहनुभएको छ कि १६५ वटै निर्वाचन क्षेत्रमा सबैभन्दा व्यापक रूपमा घरदैलो गरिएको छ। अरू कसैले गर्न सकेको छैन, गाह्रो पनि छ नि त!

तलदेखि माथिसम्म जानुपर्‍यो। चार, पाँच तला जाने आउने गर्नुपर्छ। यता भन्छन्, उता भन्छन्, गल्लीहरू धेरै छन्, घर धेरै छन्। ‘भोटर टु भोटर’ सम्पर्क गरेको छु। स्थानीय तहका विकास निर्माणका काम पनि प्रशस्त भएकाले मतदाताको धारणा राम्रो बनेको छ। 

तपाईंको निर्वाचन क्षेत्रमा तेस्रो राजनीतिक शक्ति पनि देखिएको छ, यस पटक तेस्रो शक्ति चुनावी मैदानमा आउँदा तपाईंलाई चुनौती थपिएको हो?

हरेक निर्वाचन क्षेत्रको उम्मेदवारीको कारणले गर्दाखेरि मतदाताको आकर्षण फरक फरक किसिमले हुन्छ। यो १ नम्बर क्षेत्रमा चाहिँ दुई/दुई पटक प्रतिनिधित्व गर्दाखेरि हामीले राम्रोसँग स्थानीय तहसँग सम्पर्कमा गएर काम गरेको कारणले मलाई कुनै उम्मेदवारले चुनौती दिन सक्दैनन्। 

निर्वाचन घोषणा गर्नुअघि भर्खरै आएका उम्मेदवार छन्। तीभन्दा म दुई पटक प्रतिनिधित्व गरेको हुनाले जनताको काम निरन्तर रूपले गइरहेको छु तर यहाँ समाचारचाहिँ पहिलो पटक बाहिरबाट आएकाहरूको बन्दोरहेछ। तर सय पटक मतदाताकहाँ जाने मान्छेको त समाचार नबन्दोरहेछ। 

अरूतिरको निर्वाचन क्षेत्रमा कस्तो छ, मलाई थाहा छैन तर मेरो क्षेत्रमा को हो प्रतिद्वन्द्वी हुने भन्ने मलाई थाहा छैन। यहाँका २०/२२ जना उम्मेदवार छन्, तीमध्ये मेरो प्रतिस्पर्धी हुने २१ जनालाई सोध्नुस्, मलाई सोध्दै नसोधे हुन्छ। 

यस निर्वाचन क्षेत्रबाट कसैलाई पनि प्रतिस्पर्धी देखिनँ भन्नुभयो तर निकटतम प्रतिद्वन्द्वी कोही त होला नि?

यस क्षेत्रमा हामी धेरै अगाडि छौँ। अरू त को हुन्छ पछिपछि मलाई थाहा छैन। 

तपाईं राष्ट्रियस्तरको नेता तर तपाईं अरू उम्मेदवारलाई जिताउन नलागी आफ्नै क्षेत्रमा सीमित हुनुभयो भन्ने गुनासो पनि छ नि!

त्यो गुनासो स्वाभाविक हो। तर जहाँ मेरो आवश्यकता छ, त्यहाँको उम्मेदवारले बोलाए भने त म गइहाल्छु नि! आफ्नो निर्वाचन क्षेत्रमा अलिक बढी समय त दिनै पर्‍यो नि! 

पहिलाको निर्वाचन र अहिलेको निर्वाचनमा मतदाताहरूको के सुझाव र माग पाउनुभएको छ?

मतदाताहरूले देशमा विकास निर्माण चाँडै हुनुपर्‍यो। वातावरणीय प्रदूषणलाई हटाउनुपर्‍यो। भौतिक पूर्वाधारको क्षेत्रमा बाटोको स्तरोन्नति, मर्मत, खानेपानीको सुविधा दिनुपर्‍यो, अनावश्यक रूपमा लोडसेडिङ गरेर जनतालाई दुःख दिनु भएन, शान्ति सुव्यवस्था हुनुपर्‍यो भन्ने माग बढी गरेका छन्। 

मतदाताका कुनकुन मागलाई सम्बोधन गर्ने गरी एजेण्डा लिएर अघि बढ्नुभएको छ?

जनताको सेवाका लागि राजनीति गर्ने हामीले जनताको माग र चाहनाभन्दा बाहिर गएर काम गर्ने कुरा आउँदैन। राष्ट्रिय एजेण्डाको रूपमा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा मूल नारा नै बनाएको छ नि– ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान।’ यो समृद्धिको अभियानालाई नै कांग्रेसले मूल रूपमा अघि बढाएको छ। शान्ति, समृद्धि, संविधान कार्यान्वयन र सुशासन नै कांग्रेसका मूल एजेण्डा हुन्। 

वाम गठबन्धनले यस चुनावमा दुई तिहाई स्थानमा विजय हासिल गर्ने घोषणा गरेका छन्। कांग्रेसले चाहिँ कति सिट ल्याउला?

यो मिश्रित निर्वाचन प्रणाली भएकाले नेपाली कांग्रेसले पहिलो पार्टीको रूपमा धेरै ठाउँमा विजय हासिल गर्छ। कांग्रेस पहिलो पार्टी नै हुन्छ। 

विवेकशील साझा पार्टीका उम्मेदवारले नयाँपुस्तालाई र नेपाली कांग्रेस (वीपी)ले कांग्रेसकै पुराना मतदातालाई आकर्षित गरिरहेको दाबी गरेका छन, यस्तो अवस्थामा तपाईंलाई चुनाव जित्न समस्या छैन र?

यस निर्वाचन क्षेत्रमा म ‘टेस्टेड’ भइसकेको कारणले मलाई काम गर्ने जनप्रतिनिधिको रूपमा सबैले चिनेका छन्। अरू उम्मेदवारले सपना दिँदैमा सपनालाई चाहिँ विपना गरेर देखाइसकेको उम्मेदवारको अघि त्यो सपना देखाउनेहरूको के कुरा आउँछ र?

हरिबोल भट्टराई त तपाईंसँगै बसेर कांग्रेसमै पनि काम गर्नुभएको छ नि! उहाँले अप्ठ्यारो पार्नुहुन्न?

हरिबोलजीको नाम कहाँ सुन्नुभएको छ तपाईंले? उहाँ आफैँ एक दुई ठाउँमा गएर यसो डुल्नुभएको छ। नत्र यस क्षेत्रमा उहाँको नाम कहीँ कतै छैन।

उम्मेदवारी दिँदा वा प्रचारमा हिँड्दा भट्टराईले तपाईंसँग केही सल्लाह गर्नुभएन?

उहाँ बेग्लै पार्टीको मान्छे केको सल्लाह? त्यो हुने कुरा हो र? 

चुनाव प्रचारको क्रममा तपाईंका कतिपय शुभेच्छुकले भोलि सरकार र पार्टीको नेतृत्व गर्ने शक्ति व्यक्तित्व भनेर चर्चा गरेका छन्। तपाईंको योजना के बन्ने हो?

राजनीति भनेको सम्भावनाको खेल हो। समय परिस्थितिले मलाई कहाँ पुर्‍याउँछ, त्यसैले निर्धारण गर्छ। मचाहिँ इमान्दारीका साथ मिहिनेत गरेर आएको हुँदा प्रतिवद्धताका साथ एउटा राजनीतिक कार्यकर्ताको हिसाबले काम गर्ने हो। हेरौँ अब कहाँसम्म पुगिन्छ, जनता, पार्टी सबैको उसमा (भूमिका) भर पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.