|

काभ्रेपलाञ्चोक : दलहरुले आचारसंहिता विपरीत जिल्लाका सार्वजनिक स्थलमा राखेका निर्वाचन प्रचार सामग्री निर्वाचन अनुगमन समितिले हटाउन शुरु गरेको छ। समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायको संयुक्त पहलमा प्रचार सामग्री हटाउन थालेको हो।

दलका प्रमुख एवं प्रतिनिधिहरुलाई छलफलमार्फत बारम्बार ती सामग्री हटाउन आग्रह गरे पनि बेवास्ता गरेपछि बुधवार र बिहीबार टोलीले उक्त सामग्रीहरु हटाएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बताए। ‘हामीले दलका प्रमुख एवं प्रतिनिधिहरु तथा उमेदवारहरुलाई बोलाएर बारम्बार छलफल गरी आचारसंहिता विपरीतका सामग्री हटाउन आग्रह गर्‍यौं, तर उहाँहरुले चासो नै दिनुभएन’ उनले भने, ‘हिजो बेलुका ५ बजेसम्म समय दिदा समेत चासो नदेखाएपछि बाध्य भएर हामीले हटाएका हौं।’

निर्वाचन आचारसंहिता अनुगमन संयोजक इन्दिरा दाहालले सर्वदलीय बैठक राखेर आचारसंहिता विपरीतका सामग्री हटाउन आग्रह गर्दा पनि नहटाएका कारण आफूहरुले बाध्य भएर हटाउनु परेको बताइन्।

टोलीले अरनिको राजमार्ग अन्तर्गत बनेपाका विभिन्न चोक, सडकको बीच भागका सालिक र डिभाइडर तथा सडक छेउका खम्बाहरुमा राखिएको झण्डा, तोरण र पोष्टरहरु हटाएको छ। बुधबार काभ्रेको विकट कोशीपारीको चौरी देउराली गाउँपालिकास्थित विभिन्न सार्वजनिक स्थलमा राखिएको झण्डा, फ्ल्यक्स, तोरण र पोष्टर पनि अनुगमन टोलीले हटाएको छ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद २ को ४ झ मा निर्वाचनसम्बन्धी प्रचार प्रसारका लागि धार्मिक सांस्कतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन स्मारक, पर्खाल, सडक खम्बा वा संरचना लगायत कुनै पनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँग्न लगाउन नपाइने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.