|

डडेल्धुराः नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको नौ वर्ष पूरा भइसके पनि मुक्त हलियाका समस्या सुल्झन सकेका छैनन्। सरकारको बेवास्ताका कारण आफूहरू आजसम्म पीडित बनिरहनुपरेको उनीहरूको दुखेसो छ।

२०५९ सालदेखि संगठित रूपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका मध्य र सुदूरपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो। साहुबाट मुक्त भए पनि धेरै मुक्त हलियाको अवस्था भने नाजुक रहेको छ। उनीहरू विभिन्न समस्याहरू भोग्दै आएका छन्। चुनावको बेला नेताहरूले आफ्ना समस्याहरू समाधान गर्छन् कि भनेर उनीहरू आफ्ना समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताइरहेका छन्।

डडेल्धुराको अगरगढी नगरपालिका– ८ खनमडामा २५ मुक्त हलिया परिवारको बसोवास छ। उनीहरू साहुकहाँ हलो जोत्नबाट मुक्त त भए, तर जीवनमा आइपर्ने अरू समस्या उस्तै छन्। तिनैमध्येको एउटा ठूलो समस्या हो, खानेपानी। त्यसैले यसपालि उनीहरूले यस विषयलाई चुनावमा कसलाई भोट दिने वा नदिने भनेर मुद्धा बनाएका छन्।

जुन उम्मेदवारले गाउँमा खानेपानीको व्यवस्था मिलाइदिने र गरिब जनताका पीरमर्का बुझ्छ, त्यस्तो उम्मेदवारलाई मतदान गर्ने स्थानीय लक्ष्मीदेवी कैनीले बताइन्। ‘जसले हामीलाई पानी दिन्छ, त्यो उम्मेदवारलाई भोट दिन्छौँ’, उनले भनिन्, ‘गाउँमा भोट हाल्नु भन्ने त धेरै नै आउँछन् तर यसपालि भने गरिब जनताका हरेक पीरमर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्ने हो।’ 

जिल्लाको अमरगढी नगरपालिकाभित्रै रहेको खनमडामा मुक्त हलियाहरू लामो समयदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। एउटा सानो खानेपानीको नालाबाट २५ मुक्त हलिया परिवारले पानी उपभोग गरिरहेका छन्। 

हलो जोत्नबाट मुक्त भए पनि आफ्ना पीडाहरू झनझन थपिँदै गएको र यो निर्वाचनमा विकास गर्नेगरी लिखित प्रमाण दिए मात्रै भोट दिने मुक्त हलिया परिवारकी कलादेवी पार्कीले बताइन्। 

‘सरकारले हलिया बस्नबाट त छुट्करा दिएको छ’, कलादेवीले भनिन्, ‘अझै पनि घाँस दाउरा किनेर ल्याउनुपर्ने अवस्था छ, हाम्रो पुनस्गापनाका लागि कुनै पनि व्यवस्था भएको छैन।’ उनले खानेपानीको ठूलो समस्या रहेको भन्दै आनेपानीको व्यवस्था गर्ने उम्मेदवारलाई रोज्ने र भोट पनि उसैलाई दिने योजना सुनाइन्।

आफ्ना समस्या समाधान गर्ने लिखित प्रतिवद्धता गर्ने र पूरा गर्ने उम्मेदवारको खोजीमा आफूहरू रहेको उल्लेख गर्दै पार्कीले भनिन्, ‘जसले लिखित प्रतिवद्धता दिन्छ, यस ठाउँको म विकास गर्छु भनेर, उसैलाई भोट हाल्छौँ।’

विकास नहुँदा आफू समस्यामा परेको मुक्त हलिया परिवारकी सुन्दरा पार्कीको बुझाइ छ। गाउँमा खानेपानीका साथै अन्य सेवा सुविधाहरू पु¥याउने उम्मेदवारहरूलाई भोट दिने उनको पनि भनाइ छ।

चुनावको मुखैमा विभिन्न पार्टीका उम्मेदवारहरू गाउँघरमा खानेपानी, सडक, बिजुली दिनेलगायतका आश्वासन दिँदै भोट माग्ने गरेको भए पनि जितेर गएपछि मुख पनि नदेखाउने गरेको स्थानीय भीमबहादुर साँकी बताउँछन्। 

‘नेताहरू चुनावको मुखैमा तपाईंलाई हामी पानी दिन्छौँ, बिजुली दिन्छौँ, सडक बनाइदिन्छौँ भनेर आवश्वासन दिन्छन्’, ७० वर्षका भीमबहादुरले भने, ‘म राजा वीरेन्द्रको पालालेदेखि भोट हाल्दै आएको छु तर कसैले पनि चुनावी बाचा पूरा गरेका छैनन्।’

चुनावको मुखमा नेताहरू आउने, चारचोटि नमस्कार हजुर नमस्कार भन्ने तर चुनाव जितेपछि मुखै पनि नदेखाउने गरेको उनको गुनासो छ। ‘जो गरिबको रक्षा गर्छ, ऊ नै नेता हो’, उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.