|
फाइल फोटो

रुकुम  : मतदानका क्रममा मंसिर १० गते एसिड हालेर मतपेटिकाहरु नष्ट भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ। एसिड हालेर नष्ट भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउनु भन्ने निर्बाचन आयोग केन्द्रको पत्र अनुसार जिल्लाका दुई मतदान केन्द्रमा पुनः मतदान भएको हो। जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्बाचन अधिकारी कमलमणि देवकोटाका अनुसार उक्त मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको छ।

मतपत्र नष्टभएका बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको लागि मात्र मतदान भैरहेको छ भने आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गत्तसैनाको (ख) मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान भइरहेको छ।

मंसिर १० गतेको जस्तो घटना पुनः नहोस् भनेर प्रहरीले कडा सुरक्षा अपनाएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। उनका अनुसार मतदाताहरुलाई चेकजाँच गरेर मात्रै भित्र प्रबेशको ब्यवस्था मिलाईएको छ भने मतदान गर्ने ठाउँ र मतपेटिका केही लामो दूरीमा राखिएको छ।

 बाँफिकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृत समेत रहेका तेजप्रसाद पौडेल र आठविसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवर छन्। बाँफिकोटको मतदान केन्द्रमा  ६ सय ७२ र आठविसकोटमा ७ सय ५६ जना मतदाता रहेका छन्। यी दुबै मतदान केन्द्र प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर १ मा पर्दछन्। जहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट रातो कामी र नेपाली काग्रेसको तर्फबाट कृष्णबहादुर रोकाय प्रदेशसभा उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.