|

लहान : प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार बाट नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास यादवको औरहीस्थित घर नजिकै करेसाबारीमा बिहीबार राती शक्तिशाली विस्फोट भएको  छ।

भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ औरहीस्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा राती साढे ८ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ। सिरहाका प्रहरी प्रवक्ता डीएसपी राजन भेटवालका अनुसार विस्फोटबाट पर्खालमा सामान्य क्षति मात्र पुगेको छ। विस्फोट स्थलमा प्रेसरकुकर वमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

औरही गाउँपालिकाका अध्यक्ष तथा सुरेशका भतिज सिद्धार्थ यादवका अनुसार विस्फोटको समयमा उम्मेदवार काका कार्यकर्ताहरुको साथमा चुनाव प्रचार प्रसार गरी घर फर्किएका थिएनन्। वि.सं. २०४८, ०५१ को आम निर्वाचनमा तत्कालीन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव कांग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन्।

अर्का उम्मेदवारको गाडीमा गोली प्रहार

संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जिपलाई लक्षित गरी बिहीबार राती गोली प्रहार भएको छ। चुनाव प्रचार प्रसार सकेर राति नौ बजेतिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा गाउँ प्रवेश गर्नु अगावै जिपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो।

इलाका प्रहरी कार्यालय लहानले गोली प्रहारबाट जिपको पछाडिको सीसा फुटेको भए पनि जिपमा रहेका यादवसहित कसैलाई पनि केही नभएको जनाएको छ। जिपमा गोली प्रहार भएपछि तत्काल सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी उम्मेदवार यादवलाई सकुशल घरसम्म पुर्‍याएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.