|

भक्तपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्ने दिन भक्तपुरका मतदाताहरुले दुई आश्चर्यजनक र अप्रत्यासित खबर सुने। पहिलो हो, नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं. २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार चयन गर्नु। टिकटको लागि लामो समय लविङ गरिरहेका कांग्रेसका जिल्ला नेताहरुलाई चक्मा दिँदै ढुंगानाले टिकट पाएपछि कांग्रेस कार्यकर्ताहरु मात्र होइन मतदातासमेत चकित परेका थिए।

त्यस्तै दोस्रो अप्रत्यासित खबर थियो, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उम्मेदवारी नदिनु। २०४८ सालदेखि भक्तपुर क्षेत्र नं. १ बाट अत्याधिक मतले जित्दै आएका बिजुक्छेंले उम्मेदवारी दर्ता नगरेपछि उम्मेदवारी दर्ताको लागि र्‍यालीमा आएका नेमकिपाका कार्यकर्तासमेत छक्क परेका थिए।

भक्तपुर १ मा बिजुक्छेंले उम्मेदवारी नदिएसँगै चुनावी दौड रोमाञ्चक हुने देखिएको छ। नेमकिपा इतरका दलहरुले विगतमा 'बिजुक्छें नउठ्ने हो भने हामी जित्न सक्छौं', नेमकिपाको नीति भन्दा पनि बिजुक्छेंको व्यक्तिगत लोकप्रियताले मात्र भक्तपुरमा नेमकिपाले जित्दै आइरहेको टिप्पणी गर्ने गर्थे। यसपटक बिजुक्छेंले मैदान छोडेर आफ्नो ठाउँमा पार्टी केन्द्रीय सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएका छन्। त्यसैले भक्तपुर १ मा नेमकिपाको विरासत जोगाउने र भत्काउनेबीचको प्रतिस्पर्धा हुनेछ।

पञ्चायतकालमा चुनावलाई जनताको पक्षमा उपयोग गर्ने नेमकिपाको नीति अनुसार २०३९ र २०४४ सालमा वडाअध्यक्षको चुनाव जितेका सुवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेका थिए। उनले भक्तपुर नगरपालिकाको प्रमुख हुँदा नेपालमै पहिलो पटक नगरपालिकाले विद्यालय सञ्चालन गर्ने कार्य सुरु गरेका थिए भने कलेजसमेत सञ्चालन गरेर भक्तपुरका जनतालाई न्यूनतम शुल्कमा शिक्षा आर्जनको अवसर दिएका थिए।

सुवालले फेरि पनि संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्। 'विगतमा देश र जनताका भावना अनुसार गरेको काम मूल्यांकन गर्दै जनताले नै फेरि एकपटक जनताको सेवा गर भनेकाले देश र जनताका लागि मेरो उम्मेदवारी हो' उनले भने।  

सुवालले पार्टी अध्यक्ष बिजुक्छेंले लगातार ५ पटक चुनाव जितेर यस क्षेत्रको विकासमा पुर्‍याएको योगदान नै आफ्नो जितको आधार भएको बताएका छन्। देश र जनताका लागि दिएको योगदान र भूमिकाका आधारमा पनि नेमकिपाको जित हुने उनले दावी गरे। 'नेमकिपा मात्र एउटा यस्तो पार्टी हो, जसले देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको रक्षाको निम्ति लडेको छ। हाम्रो यही भुमिकाको मुल्यांकन गरेर नेमकिपालाई मत दिने आधार नै हामी जित्ने आधार हो' उनले भने।

नेमकिपाको गढ भत्काउने कांग्रेसको दावी

भक्तपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई उम्मेदवार बनाएको छ। नेपाल कानुन आयोगका अध्यक्ष समेत भइसकेका जोशी जिल्ला बारमा बसेर वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता हुन्।

राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भएका हुन्। २०४४ सालको निर्वाचनमा जनपक्षीय उम्मेदवारको प्रस्तावक बनेका जोशीले भक्तपुरका कांग्रेसको संगठन स्थापना र विस्तारका साथै विभिन्न पदमा बसेर काम गरेका थिए। त्यसैगरी पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्य रहेका जोशी आफ्नो उम्मेदवारी भक्तपुरका लोकतन्त्र स्थापनाको लागि भएको बताउँछन्।

भक्तपुरमा अझै एक दलीय तानाशाह समाप्त हुन नसकेको जिकिर गर्दै त्यसैको अन्त्यको लागि आफ्नो उम्मेदवारी भएको बताए।

लोकतन्त्र स्थापनाका लागि कांग्रेसले निर्वाह गरेको भूमिका, संविधान निर्माणको नेतृत्व, संविधान कार्यान्वयनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका नै आफ्नो जितको आधार भएको उनको भनाइ छ। त्यसैगरी आफ्नो कानुनी पेशाको माध्यमबाट लामो समयदेखि भक्तपुरका जनताको पक्षमा गरेको कामको मुल्यांकन पनि हुने जोशीले बताए।

पार्टीको नाम मजदुर किसान भए पनि नेमकिपाले किसान मजदुरहरुको पक्षमा काम नगरेको आरोप लगाउँदै जोशीले कांग्रेसको सरकारले ल्याएका भूमि सम्बन्धी कानुन र त्यसले मोही किसानको पक्षमा गरेको हितले पनि यसपटक भक्तपुर १ मा कांग्रेसले जित्ने दावी गरे। त्यसैगरी लोकतान्त्रिक गठबन्धन अन्तर्गत यस क्षेत्रमा बलियो उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को पनि समर्थन रहेकोले यसपटक भक्तपुर १ मा नेमकिपाको किल्ला भत्किने जोशीको दावी छ।

वाम गठबन्धनबाट सुवाल

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा भएको सहमति अनुसार भक्तपुर क्षेत्र नं. १ मा माओवादी केन्द्रका मिलन सुवाल चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय सुवाल सम्मुनत सम्पन्न राष्ट्र निर्माण गर्न, देशलाई स्वाधीनता, समृद्धि र समाजवादको दिशामा अगाडि बढाउनको आफ्नो उम्मेदवारी रहेको बताउँछन्। उनले भक्तपुरमा विद्यमान वर्ग विभाजनको अन्त्य गरी समतामूलक समाज निर्माण, किसान वर्गको हक हित लागि आफ्नो उम्मेदवारी रहेको बताए।

दुई तिहाई बहुमतसहितको वामपन्थी सरकार निर्माण गरी दिगो शान्ति र स्थिरता स्थापना, पूर्ण भ्रष्टाचार मुक्त मुलुकको निर्माण र मुलतः समाजवादका आधारहरु तयारी गरी नयाँ युगको प्रक्षेपण गर्न तथा देशमा भएको अराजकता र अस्थिरताको अन्त्यका लागि नै आफूहरुको उम्मेदवारी रहेको उनले दावी गरे।

पार्टीले लिएको विचार र सिद्धान्तका आधारमा र लामो समयदेखि जनताको माझमा रहेर जनताको हित र चाहना अनुसार काम गर्दै आएको आधार नै आफ्नो जितको आधार रहेको सुवालले बताए।

यस्तो थियो २०७० सालको मतपरिणाम

यस क्षेत्रमा २०७० सालको संविधानसभा निर्वाचनमा नेमकिपाका बिजुक्छेंले २०४४६, नेपाली कांग्रेस कृष्णलाल भँडेलले १२८२६, नेकपा एमालेका रञ्जु नापितले ५६६८, माओवादीका सानु सुवालले ६२१६ र राप्रपाका रवीन्द्रप्रताप शाहले ४४५८, राप्रपा नेपालका माधव खत्रीले २६४३ मत प्राप्त गरेका थिए।

भक्तपुरमा यस पटक निर्वाचन क्षेत्र निर्धारण गर्दा विगतको भन्दा सिमाना हेरफेर गरिएको छ। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको आधा आधा भाग यस क्षेत्रमा रहेकोमा यसपटक मध्यपुर थिमीको भाग क्षेत्र नं. २ मा पारिएको छ। यसअघि क्षेत्र नं. २ मा रहेको भक्तपुर नगरपालिकाको भाग यस पटक क्षेत्र नं. १ मा पारिएको छ। त्यस्तै भक्तपुर १ मा चाँगुनारायण नगरपालिका पनि गाभिएको छ।

स्थानीय तहको निर्वाचनको मतलाई विश्लेषण गर्ने हो क्षेत्र नम्बर १ मा नेमकिपाको ३० हजार भन्दा बढी मत रहेको छ भने नेपाली कांग्रेसको १४ हजार ५ सय, नेकपा एमालेको १३ हजार, राप्रपाको ६ हजार, माओवादीको ३ हजार मत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.