|
फाइल फोटो

लहान : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिंदै गर्दा सिरहामा चुनाव प्रसार कार्यालय र उम्मेदवार लक्षित विस्फोट र गोली प्रहारको घटना बढेका छन्।

मंसिर ८ गते सिरहाको क्षेत्र नं. ४ मा पर्ने मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको कार्यालय नजिकै भएको बम विस्फोटबाट शुरु भएको विस्फोट र गोलीप्रहारको घटना बिहीबार उम्मेदवारको घर र चुनाव प्रचारको जिपसम्म आइपुगेको छ। पछिल्लो एक हप्ताको अवधिमा निर्वाचनलाई नै केन्द्रित गरेर हताहती नै हुनेगरी विस्फोटका घटना नभए पनि आधा दर्जनभन्दा बढी ठाउँमा भएका विस्फोटका घटनाले सर्वसाधारणमा भने त्रास बढेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कांग्रेसको चुनावी आमसभालाई सम्बोधन गरेको भगवानपुरमै संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ का उम्मेदवार रहेका राजलाल यादव चढेको जिपमा नै बिहीबार राती गोली प्रहार भयो भने वाम गठबन्धनबाट सिरहा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेशचन्द्र दासको औरहीस्थित घर नजिकैको करेसाबारीमा शक्तिशाली विस्फोट भएको छ। 

त्यसअघि सिरहाको धनगढीमाई नगरपालिका ५ फुलकहाकट्टीमा फोरमबाट प्रतिनिधिसभा सदस्यका लागि २ नं. क्षेत्रका प्रत्यासी पूर्व राज्यमन्त्री शत्रुधनप्रसाद सिंह चढेको जिपमा कुकर बम भेटिएको थियो। निर्वाचन प्रसार प्रसारका लागि सिंह चढेको बा. ३ च ७६६१ नम्बरको जिपमा कुकर बम भेटिएको थियो।

सुरक्षा व्यवस्था भरपर्दो : प्रहरी

दोस्रो चरण अन्तर्गत हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारको क्रममा विस्फोटको घटना हुन थालेपछि सिरहा प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार निर्वाचनको तयारी र मतदानको समयसम्म सर्वसाधारणलाई भरपर्दो सुरक्षा दिन जिल्लाका अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा दुई हजार तीन सय ५० म्यादीसहित दुई हजार दुई सय ५० नेपाल प्रहरी परिचालन गरिएको छ। त्यससँगै प्रहरी निरीक्षकको कमाण्डमा जिल्लामा २० जना प्रहरी रहने गरी रिजर्भ फोर्ससँगै हरेक गाउँ र नगरपालिकामा दुई÷ दुईवटाको दरले  ३४ वटा मोवाइल टोली परिचालन गरिंदैछ। 

मतदानको दिन मतदानस्थलको सुरक्षाको भित्री भागमा म्यादी र नेपाल प्रहरी, त्यसको बाहिर सशस्त्र र बाहिरी भागको सुरक्षा नेपाली सेनाले गर्नेगरी सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए। प्रहरी उपरीक्षक कोइरालाका अनुसार त्यसका अतिरिक्त निर्वाचन नहुञ्जेल सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाका ५० ठाउँमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अस्थायी विकेट टोली २४ घण्टा परिचालन गरिएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल गुरुङका अनुसार जिल्लाको १ र ३ नं. क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा राखेर पाँच/पाँच वटा स्ट्राइकिङ फोर्स, आठ/आठ वटा मोवाइल टोली र क्षेत्रभरी हेर्नेगरी डिएसपीको कमाण्डमा २० जनाको रिजर्भ टोली खटाइएको छ। क्षेत्र नं. २ र ४ लाई अति संवेदनशील क्षेत्रको रुपमा राख्दै १०/१० वटा मोवाइल टोली र पाँच/पाँच वटा स्ट्राइकिङ फोर्स परिचालन गरिएको छ। त्यस्तै, जिल्लाको समग्र निर्वाचन सुरक्षालाई कभर गर्नेगरी नेपाली सेनाले भने जिल्लाको १३ स्थानमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी सुरक्षाको प्रबन्ध मिलाएको नेपाली सेनाको चोहर्वा गणले जनाएको छ।   

विस्फोटले आत्तिएको छैन : उम्मेदवार सुरेशचन्द्र दास

सिरहा क्षेत्र नम्बर २ का वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास यादवले विस्फोटको घटनाले आफू नआत्तिएको बताएका छन्। चुनाव प्रचार प्रसार सकेर बिहीबार घर नआइपुग्दै दासको औरहीस्थित घर नजिकै करेसाबारीमा भएको शक्तिशाली विस्फोटले पर्खालमा सामन्य क्षति मात्र पुगेको छ।

‘मेरो राजनीतिक जीवन, दुई दुई पल्ट सांसद जितेर जनताको पक्षमा गरेको कामको कारणले मेरो जितको घोषणा हुन मात्र बाँकी छ’ विस्फोटपछि फोन सम्पर्कमा दासले भने ‘मेरो उम्मेदवारी परेदेखि नै आत्तिएकाहरुले विस्फोट गराएका हुन सक्छन्, म डराएको छैन, किनकी म जनताको सुरक्षा घरदैलोमै हुन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.