|

धनकुटा : पूर्वी पहाडी जिल्ला धनकुटामा एकातिर चुनावी सरगर्मी बढेको छ भने भौगोलिक कारणले सुरक्षा चुनौती पनि बढ्दो मात्रामा रहेको छ। दलहरु अहिले गाउँकेन्द्रित चुनावी अभियानमा छन्।

दलका उम्मेदवार र मतदाताले जिल्लामा सुरक्षा सतर्कता बढाउन माग गरिरहँदा जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा सुरक्षा व्यवस्था बलियो बनाइएको जनाएको छ। चुनावमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई विभिन्न घेरा बनाएर खटाइने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।

सशस्त्र प्रहरीले मोबाइल गस्ती गर्नेछ भने निर्वाचनका समयमा कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गर्नेछ। निर्वाचनमा सुरक्षा दृष्टिले ७ वटा मतदान स्थललाई अति संवेदनशील, ४७ वटा मतदानस्थललाई संवेदनशील र ६३ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार ७ वटा अति संवेदनशील मतदान स्थलहरुमा चौबीसे गाउँपालिकाको साविक गाविस भवन कुरुले, चौबीसे गाउँपालिकाकै जनसेवा आधारभूत विद्यालय बाचथला, छथर जोरपाटी गाउँपालिकाको जाल्पादेवी आधारभूत विद्यालय, पाख्रिबास नगरपालिकाको बुद्ध आधारभूत विद्यालय भदौरे,

महालक्ष्मी नगरपालिकाको दीपेन्द्र आधारभूत विद्यालय शिखरकडेरी, महालक्ष्मी नगरपालिका वडा न ४ को सिंहेश्वरी आधारभूत विद्यालय र महालक्ष्मी नगरपालिका वडा न ४ कै सिद्धेश्वरी आधारभूत विद्यालय मतदानस्थल रहेका छन्।

भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए।

अति संवेदनशील मानिएको छ। त्यस्ता स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको धनकुटाका प्रहरी उपरीक्षक एसपी सुदीप राजभण्डारीले बताए।

यता, मतदाता भने सुरक्षा चुनौतीसँगै मतपत्रबारे आफूहरु अन्यौलमा रहेको बताउँछन्। जिल्ला निर्वाचन कार्यालयले गाउँगाँउमा स्वयंसेवक खटाएपनि सबै ठाउँमा स्वयंसेवक नपुग्दा मतदाता अन्यौलमा परेका हुन। निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपपा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करिब २५ सय जना सुरक्षाकर्मी परिचालन गरिनेछ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा निर्वाचनबाट एकजना प्रतिनिधिसभा र दुई प्रदेशसभाका प्रतिनिधि निर्वा्चित हुने र यसका लागि धनकुटामा एक लाख ५ हजार एक सय ८८ जना मतदाता रहेका छन्। यसैगरी, प्रत्येक मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई चरणमा गरि तालीम दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदानस्थललाई व्यवस्थित, मर्या्दित, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्न अपनाउनुपर्ने विधि तथा प्रक्रियाका बारेमा ज्ञान दिनु तालीमको उद्देश्य रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए। निर्वाचनमा लगभग १ हजार ३ सय कर्मचारी खटिने सुचना अधिकारी पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.