|
मतपेटिका राखेको कोठामा ग्रिल लगाइएको झ्याल।

बैतडी : बैतडीमा मतपेटिकाको सुरक्षामा कडाइ गरिएको छ। गत आइतबार सम्पन्न चुनावका मतपेटिको सुरक्षामा नेपाली सेना, ससस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन्। बैतडीका सबै मतदान केन्द्रका मतपेटिकाहरु दशरथचन्द नगरपालिकाको कार्यालय भवनमा राखिएको छ। मतपेटिकाको रेखदेखमा सुरक्षा निकायसँगै राजनीतिक दलका प्रतिनिधीहरु पनि खटिएका छन्।

मतपेटिकाको सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतबाट दलको प्रतिनिधि परिचयपत्र बनाएर दलका नेताहरहरु खटिएका छन्। दलहरूमा आपसी सहमति र विश्वासको वातावरण रहे पनि निर्वाचनसँग जोडिएको विषय भएकाले कुर्नुपरेको दलहरुले बताएका छन्। ‘संवेदनशील अवस्था भएर सबै दलका प्रतिनिधिहरु कुरुवा बसेका छौँ।’ माओवादी केन्द्रका नेता खिमानन्द भट्टले भने।

मतपेटिकाको सुरक्षाका लागि प्रशासनसँगै राजनीतिक दलहरुपनि संवेदनशील बन्नु खुशीको कुरा भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। राजनीतिक दलका प्रतिनिधिहरु रातदिन कुरुवा बसेको उनले बताए। ‘दलहरु रातदिन कुरुवा बसेका छन् कुनै घटना हुने खतरा छैन।’ उनले भने। निर्वाचन आयोगको अनुरोध अनुसार नै दलका नेता कार्यकर्तालाई पनि मतपेटिका कुरुवा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपेटिका राखिएको नगरपालिका कर्यालयको पश्चिमतर्फको कोठाको झ्यालमा सिसा मात्रै रहेको र सिसा खोलेर सजिलै मतपेटिका निकाल्न सकिने तथा पूर्व पट्टी मूल गेटसँगै रहेको कोठाको मतपेटिका बाहिरबाट प्रस्टै देखिने भएपछि सुरक्षा निकायले त्यसको बन्दोबस्त मिलाएको हो।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रशाद गौतमले पश्चिमतर्फको झ्यालमा ग्रिल र पूर्वपट्टीको झ्यालभित्रको मतपेटिका नदेखिने व्यवस्था मिलाएको छ।

त्यस्तै, नगरपालिकाको नियमित कामहरु संचालनमा रहेको अवस्थामा मतपेटिका राखिएको कोठा बाहिर लगाएको टाँचा सेवाग्राहीको भिडमा फुत्किन सक्ने अवस्था रहेको थियो। त्यहाँ सुरक्षा दिइरहेका शसस्त्र प्रशरी र नेपाल प्रहरी पनि उक्त बिषयलाई लिएर चिन्तित भएको अवस्थामा सेवाग्राहीका लागि नयाँ बाटो बनाइएको छ।

भुइँतलाभन्दा माथिल्लो तलाका मुख्य ढोकासँगै छ वटा कोठामा राखिएका मतपेटिका छिचोल्दै सेवाग्राहीहरुले हिड्नुपर्ने अवस्थामा बाटो परिवर्तन गरि तेस्रो तलाबाट सिधै मेयर तथा उप मेयरको कोठामा जाने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

दोस्रो चरणको निर्वाचन सकिएसँगै मंसिर २१ गते बेलुकी ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ। मंसिर २० गते सर्वपक्षीय बैठक बसेर मतगणना प्रक्रियाबारे सहमति खोजिने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.