|

काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा १० मंसिरमा ३२ जिल्लामा चुनाव सम्पन्न भयो। पहिलो चरणको निर्वाचनमा पनि ‘हेभिवेट’ उम्मेदवारले पनि चुनाव लडे। पहिलो चरणमा नेपाली का‌ंग्रेस, एमाले,माअाेवादी केन्द्र लगायतका दलका शीर्ष नेताले निर्वाचन लडे।

निर्वाचनअघि आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त नेताहरु अब २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनमा खटिएका छन्। कतिपय नेताहरु पहिलो चरणमा भएको निर्वाचनमा अाफ्नो क्षेत्रमा मत माग्न अाएका नेताका निर्वाचन क्षेत्रमा पैँचाे तिर्न व्यस्त छन्। पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका ‘हेभिवेट’उम्मेदवार अहिले के मा व्यस्त छन्? हामीले खोज्ने प्रयास गरेका छौँ।
१. डा.बाबुराम भट्टराई

गोरखा क्षेत्र नम्बर २ बाट कांग्रेससँग तालमेल गरेर उम्मेदवारी दिएका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.भट्टराई चुनाव सकिएलगत्तै काठमाडौं फर्किए। आफ्नो गृहजिल्लामा मतदान गरेका भट्टराईले पूर्वीजिल्ला झापा पुगेर सम्मान ग्रहण गर्नसमेत भ्याए। आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने उद्देश्यले उनले १२ र १३ गते काठमाडौं, ललितपुर र भक्तपुरका मतदातासँग घरदैलो गरे।

त्यसपछि उनी १४ गते झापा पुगे। झापाको दमक गएर डा.भट्टराईले भट्टराई कुलवंश प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममार्फत सम्मान ग्रहण गरे। त्यसपछि उनी मोरङ, सुनसरी, सप्तरी, सिराहलगायत जिल्लामा मतदाता भेट्न व्यस्त छन्। उनको मतदाता भेट्ने अभियान १८ गते पश्चिमको कैलालीमा पुगेर सम्पन्न हुने डा.भट्टराईका सहयोगी विश्वदिप पाण्डेले जानकारी दिए।
२.नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ चुनावलगत्तै बिरामी परेका कारण पार्टीको कुनै कार्यक्रममा सहभागी भएका छैनन्। चुनाव अघिदेखि नै उनी बिरामी परेका थिए। चुनावअघि नै गोरखामा चुनावी प्रचारमा व्यस्त रहेका श्रेष्ठ चुनाव सकिएको भोलिपल्ट नै राजधानी फर्किएका थिए।

चुनावी दौडधूपका कारण काठमाडौं आएलगत्तै उनी बिरामी परेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। उनी ललितपुरस्थित किस्ट अस्पतालमा गत १३ गतेदेखि भर्ना गरी उपचाररत रहेको सुरेशकाजीले बताए।
३.पशुपतिशमशेर राणा

सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष राणा चुनावपछि कुनै चुनावी कार्यक्रममा सहभागी नभएको उनका सहयोगी केशव कटुवालले जानकारी दिए। उनले भने, ‘चुनाव सकिएपछि उहाँ आफ्नै निवासमा बस्‍नुभएको छ। अब दोस्रो चरणको चुनावअघि त्यस्तो खासै केही कार्यक्रम छैन।’
४.वर्षमान पुन

नेकपा मााओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट निर्वाचनमा उम्मेदवारी दिएका थिए। उनले सोही क्षेत्रमा मंसिर १० गते नै मतदान गरे। यसअघिसम्म आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका पुन पहिलो चरणको निर्वाचन सकिएलगत्तै दाङ झरे। आफ्ना पार्टीका नेता कृष्णबहादुर महरालाई जिताउनका लागि उनी निर्वाचन सकिएकै भोलिपल्ट अर्थात् ११ मंसिरमा दाङको चुनावी प्रचारमा आएका हुन्।

‘कृष्णबहादुर महरा र प्रदेशसभा उम्मेदवार शंकर पोखरेलजीको निर्वाचन क्षेत्रमा म बढी केन्द्रित भएँ’,उनले भने,‘१२ गते दाङ गएको थिएँ। दाङका ३ वटै निर्वाचन क्षेत्रमा भएका ८ वटा कार्यक्रममा सहभागी भएँ र १४ गते चितवन गएँ। आफ्नो आन्तरिक काम गरेँ।’ उनी शुक्रबार ललितपुर क्षेत्र नम्बर १ मा भएको वाम गठबन्धको कार्यक्रममा सहभागी भए। ‘अब शनिबारबाट पूरै समय म अध्यक्षको निर्वाचन क्षेत्र चितवनमा व्यस्त हुन्छु’,पुनले भने।
५.अर्जुननरसिंह केसी

कांग्रेस नेता केसी नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए। उनको पहिलो चरणमा निर्वाचन सकिएपछि केही समय पार्टीको आन्तरिक भेटघाटपछि शुक्रबारबाट चुनावीसभामा भाग लिन थालेको उनका स्वकीय सचिव सरोज केसीले थाहा खबरलाई जानकारी दिए।

उनले भने,‘निर्वाचन सकिएपछि उहाँ टेलिफोनबाट जानकारी लिने क्रममा हुनुहुन्थ्यो। शुक्रबारबाट चुनावी अभियानमा निक्लनुभयो। शुक्रबार मोरङको १ नम्बर क्षेत्रमा जानुभयो। अब विराटनगर, सुनसरी लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।’
६.योगेश भट्टराई

ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराई आफ्नो क्षेत्रमा मतदान सकिएपछि अहिले दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रचारमा व्यस्त छन्। निर्वाचन सकिएलगत्तै १२ गते वाम गठबन्धनलाई जिताउन घरदैलो अभियानका लागि तेह्रथुम गए। त्यहाँ उनी दुई दिनसम्म बसे। त्यसपछि उनी भट्टराई कुल वंश प्रतिष्ठानले झापाको दमकमा अायाेजना गरेको कुलपूजामा पुगे।

दोस्रो चरणको निर्वाचनसम्म उनी चुनावी प्रचारमा व्यस्त रहने एमालेले जनाएको छ। उनी दोस्रो चरणको चुनावको मौनअवधि अघिसम्म पूर्वका विभिन्न जिल्लामा हुने चुनावीसभामा रहने कार्यक्रम रहेको भट्टराईका सहयोगी रविन प्यासीले जानकारी दिए।
७.जनार्दन शर्मा

रुकुम पश्चिमबाट उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्मा खासै चुनावीसभामा देखिएका छैनन्। चुनाव सकिएपछि १२ गते मंगलबार आफ्नो भाइ अनील शर्मालाई काठमाडौं क्षेत्र नम्बर १ मा वाम गठबन्धनले बानेश्वरमा गरेको कार्यक्रममा सहभागी भए।

त्यसपछि उनी कुनै कार्यक्रममा देखिएका छैनन्। ‘चुनाव सकिएपछि पार्टीको आन्तरिक काम र भेटघाटमा व्यस्त हुनुहुन्छ’उनका सहयोगी श्रीकुमार कठायतले भने,‘अहिले सम्म खासै त्यस्तो केही कार्यक्रम बनेको छैन।’ शर्मा अहिले काठमाडौंमै छन्।
८.रामहरि खतिवडा

नेपाली कांग्रेसका नेता खतिवडा पहिलो चरणको निर्वाचनअन्तर्गत ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। आफ्नो क्षेत्रमा निर्वाचन सकिएपछि पनि उनले मतदाता कहाँ घरदैलो कार्यक्रम गर्न भ्याए। उनले भने, ‘निर्वाचन भएको दिनदेखि नै जनताको घरमा गएर मत दिन सबैलाई धन्यवाद दिएँ। मत नदिनेलाई पनि निर्वाचन सफल पार्न सहयोग गरेकोमा धन्यवाद दिएँ।त्यसपछि १३ गते लिखुमा ५२ मेगावाटको जलविद्युतको शिलन्यास गरेँ।’

१३ गते उदयपुरमा थापिएको एम्बुसमा परी कांग्रेसका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्की घाइते भएपछि खतिवडा उदयपुरमा खटिएका छन्। ‘हाम्रा उम्मेदवार नारायणजीलाई एम्बुसमा पारिएपछि म उदयपुरमा उहाँ जत्तिकै खटिनुपर्ने भयो’,उनले भने,‘ त्यही दिन सभापतिज्यूको फोन आयो म रातारात काठमाडौं गएर सल्लाह गरेँ। त्यसपछि म नारायणजीको ठाउँमा घरदैलोका लागि आएँ।’

उनले आफू उदयपुर आउन पाउँदा खुसी भएको बताए। ‘मेरो जिल्लाको सीमावर्ती उदयपुरको विकास नभई ओखलढुंगाको हुँदैन। त्यस कारण म यहाँ आएर जनतासँग भेटघाट गर्न पाउँदा खुसी छु’,खतिवडाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.