|
फाइल फोटो

अछामः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनको नाममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक दलीय तानाशाही शासन ल्याउन खोजेको आरोप लगाएका छन्।

कांग्रेस अछामले शुक्रबार गरेको चुनावी सभालाई मंगलसेनमा सम्बोधन गर्दै देउवाले दुःख गरेर ल्याएको संविधान च्यातेर कम्युनिष्टले तानाशाही व्यवस्था ल्याउन लागेको बताए। 

विकासको नाममा कम्युनिष्टले सिन्कोसमेत नभाँचेको आरोप लगाउँदै उनले कांग्रेसले जिते विकासको सबै जिम्मा आफूले लिने आश्वासन दिए।

‘वाम गठबन्धनले जिते ओलीजी प्रधानमन्त्री हुन्छन्, उनी झापाको विकास गर्न छोडेर प्रदेश नम्बर– ७ को विकास गर्दैनन्’, उनले भने, ‘कांग्रेसलाई जिताउनुस्, म प्रधानमन्त्री हुन्छु, सबै विकासको जिम्मा मै लिन्छु।’ जनताले भयरहित समाज चाहने भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले जिते मात्र जनता सुख, शान्तिले बाँच्न पाउने बताए। 

१५ वर्षपछि बहालवाला प्रधानमन्त्री अछाम आउँदा स्थानीयको उल्लेखनीय सहभागिता रहेको सभामा सुदूरपश्चिममा कांग्रेसलाई जिताउनै पर्ने देउवाको भनाइ थियो। कांग्रेस जनतालाई मालिक मान्ने पार्टी भएको दाबीसमेत उनले गरे।

कांग्रेसलाई जिताए मंगलसेनदेखि चिसापानी हुँदै टीकापुरसम्मको सडक कालोपत्रे गर्ने प्रतिबद्धतासमेत देउवाले जनाए। देशमा स्थायी शान्तिका लागि कांग्रेसले ठूलो बलिदान दिएको भन्दै माओवादी शान्ति प्रक्रियामा ल्याउने, संविधान कार्यान्वयनको कामसमेत कांग्रेसको नेतृत्वमा भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.