|

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे। वडाध्यक्ष श्यामबाबु चौरसिया र नगर प्रमुख सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको शिलान्यास गरे पनि नगर परिषदबाट धर्मशाला निर्माण गर्ने योजना भने पारित भएको छैन। 

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत महिनादेखि नै आचारसंहिता लागिसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका प्रवक्ता युवराज अधिकारीका अनुसार आचारसंहिता लागू भएपछि चालु योजनामा परेकाबाहेक अन्य कुनै पनि निर्माण कार्य गर्न पाइँदैन। ‘मतदातालाई प्रभाव पार्ने किसिमले कुनै पनि निर्माण कार्य गर्न पाइँदैन,’ उनले भने। 

वडाध्यक्ष चौरसियाका अनुसार आगामी पुस १२ गते बस्ने नगर परिषदको बैठकमा धर्मशाला निर्माण गर्ने योजना पारिनेछ। ‘त्यतिखेर नै बजेट पनि पास गराउँछौं,’ उनले भने, ‘महानगरपालिका र वडाको बजेटबाट धर्मशाला निर्माण गर्ने योजना छ।’ जानकारका अनुसार चुनावको मुखमा नगर प्रमुख सरावगीले विभिन्न प्रलोभन दिएर मतदाता आकर्षित गर्न खोजेका छन्।

कुल ३२ वडा रहेको महानगरपालिका पर्सा १ र २ नम्बर क्षेत्रमा पर्छ। उनी संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका हुन्। धर्मशाला शिलान्यास गरेकै दिन सरावगीले नगवामा केही व्यक्तिलाई पार्टी प्रवेशसमेत गराएका थिए।

स्थानीय उमेश यादवका अनुसार नगवामै रहेको मुस्लिम धर्मावलम्बीहरूको इदगाहका लागि नगर प्रमुखले पर्खाल निर्माण गरिदिने आश्वासन बाँडेका थिए। चुनावको मुखमा मतदाता र ठेकेदार प्रभावित पार्न नगर प्रमुखले अनेक आश्वासन बाँडिरहेका छन्। उनको यस कार्यको अन्य दलले भने विरोध गरेका छन्। 

आचारसंहिता उल्लंघनमा फोरम मात्र सक्रिय छैन। कांग्रेसले वीरगञ्जको सौराहामा मतदाता आकर्षित गर्न चापाकाल वितरण गरेको सूचना आएपछि मुख्य निर्वाचन अधिकृतको टोली तत्काल पुगेर नियन्त्रणमा लियो। वाम गठबन्धनका पर्सा २ का उम्मेदवार पनि आफ्नो अस्पतालको गाडीमै साउण्ड बक्स जडान गरी चुनावी गीत बजाउँदै घरदैलो गरिरहेका छन्।

चारवटासम्म चारचक्के सवारी प्रयोग गर्न पाइने प्रावधान भए पनि यहाँका प्रत्येक उम्मेदवारले दर्जनभन्दा बढी गाडी प्रयोगमा ल्याइरहेका छन्। अधिकांश उम्मेदवारले भारतीय नम्बर प्लेटका गाडी प्रचारप्रसारमा प्रयोग गरिरहेका छन्। वीरगञ्ज भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले उम्मेदवारले चुनावी अभियानमा प्रयोग गरेका केही गाडीले मात्र भन्सार राजस्व तिरेको जनाए। अधिकांश गाडी राजस्व छलेर प्रयोग भइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.