|

डडेल्धुरा : डडेल्धुरामा निर्वाचन सामग्रीसहित १ सय १७ मतदान अधिकृत र १ सय १७  सहायक मतदान अधिकृतलाई शनिबारदेखि सम्बन्धित मतदान केन्द्रमा खटाइएका छन्। डडेल्धुरामा रहेका १ सय १७ मतदान केन्द्रमध्ये दुर्गम तथा टाढाका केन्द्रमा मतदान अधिकृत शनिबार खटाइएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ।

भौगोलिक रुपमा टाढा रहेका जिल्लाका परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा शनिबार बिहान मतदान सामग्रीसहित कर्मचारी पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कृष्णसिंह नायकले जानकारी दिए। बाँकी ठाउँमा १७ र १८ गते कर्मचारी पुगिसक्ने उनको भनाइ छ। निर्वाचनका लागि ९ सय २७ निजामती कार्मचारी खटाइएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार डडेल्धुरामा निर्वाचन सुरक्षाका लागि ५ सय ३० नेपाल प्रहरी, ६ सय ६० म्यादी प्रहरी र २ सय ९० जना सशस्त्र प्रहरी परिचालन गरिएको बताएका छन्। १२ मंसिरदेखि मतगणना नसकुञ्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्रसमेत घोषणा गरिएको छ।

प्रतिनिधिसभाको लागि १ र प्रदेशसभा सदस्यका लागी २ निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७ सय ३२ मतदाता रहेका छन्। डडेल्धुरामा दोस्रो चरणअन्तर्गत २१ मंसिरमा चुनाव हुँदै छ। प्रधानमन्त्री एवं कांग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवासँग वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.