|

काठमाडौं : पहिलो चरणको चुनाव सकिएपछि आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक २ बाट काठमाडौं फर्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा शनिबार ललितपुर क्षेत्र नम्बर १ को चुनावी सभामा पुगे।  

कांग्रेससँग चुनावी गठबन्धन गरेका उनी ललितपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका अर्थ राज्यमन्त्री उदयशमशेर राणाका लागि भोट माग्न गएका हुन्।कार्यक्रममा उनले उदयशम्शेरलाई आफ्नो भतिजका रुपमा चिनाए। चुनावीसभामा कांग्रेस उम्मेदवार उदयशम्शेरको खुलेरै प्रसंशा गर्दै राणाले कांग्रेसको निर्वाचन चिन्हमा भोट मागे।

'उदय मेरो भतिज हो। तर मैले उनी मेरो भतिज भएर मात्र भनेको होइन, उसको अत्यन्त राम्रो र उज्वल भविष्य छ, अहिलेकै उमेरमा अर्थराज्यमन्त्री भइसक्यो। अब आउने निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनबाट ऊ फुल मन्त्री भएर ठूलो मन्त्रालय सम्हाल्छ अनि इन्जोय गर्छ।' यसअघि २०७० को निर्वाचनमा विजयी भएपछि उदयले ललितपुरको विकासमा ठूलो योगदान गरेको भन्दै राणाले थपे ‘पहिला यहाँ सडक पनि राम्रो थिएन। विद्युत पनि विस्तार भएको थिएन। तर अहिले ऊ विजय भएपछि गाउँ–गाउँमा सडक पुगेको छ।’

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले कांग्रेस उम्मेदवारलाई मात्र भोट मागेनन्, समानुपातिक निर्वाचन पद्धतिमा आफ्नो पार्टीलाई पनि मत माग्न भुलेनन्। ‘म हाम्रो पार्टीका कार्यकर्तालाई आग्रह गर्छु। प्रत्यक्षतर्फ सबै कांग्रेसलाई भोट हाल्नुहोस्। तर म कांग्रेसका कार्यकर्तालाई पनि आग्रह गर्छु। १६१ भन्दा धेरै उम्मेदवार भएको कांग्रेसलाई समानुपातिक मत आवश्यक छैन। त्यसैले ससमानुपातिक मत चाहिँ हाम्रो पार्टीमा हाल्नुहोस्' उनले भने।  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट गठबन्धनले बहुमत ल्याए पनि देशको विकासमा केही गर्न नसक्ने बताए। ‘पहिलो संविधानसभा निर्वाचनमा जनताले कम्युनिस्टलाई अवसर दिएका थिए। उनीहरुका ४ जना प्रधानमन्त्री पनि भए। तर खोइ के गर्नसके?’,उनले प्रश्न गरे, ‘उनीहरुले त अझ प्रधानन्यायधीशलाई मन्त्रिपरिषदको जिम्मा लगाएर संविधानसभा नै विघटन गरे। तर दोस्रो संविधानसभामा जनताले हामीलाई अवसर दिए। हामीले संविधान पनि बनाएर देखायौँ।’

मैले एक पैसा पनि भ्रष्टाचार गरिन : उदयशमशेर

ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशमशेर राणाले आफ्नो चार वर्षे कार्यकालमा एक पैसा पनि भ्रष्टाचार नगरेको दावी गरे। उनले भने,‘मसँग चुनाव लड्ने एमालेका साथीले प्रहरीमा हुँदा कति भ्रष्टाचार गरेका छन् त अहिलेको सामाजिक सञ्जालमा आइरहेका छन्। तपाईहरु पनि फेसबुक हेर्नु हुन्छ होला।’

उनले वाम गठबन्धनबाट आफ्ना प्रतिस्पर्धी रहेका प्रहरीका पूर्वडीआईजी नवराज सिलवालले ललितपुरको विकासमा केही गर्न नसकेको आरोप लगाए। उनले भने,‘म तपाईहरुलाई केही भन्दिन। यति भन्छु मेरो प्रतिष्पर्धीले ललितपुरको विकासमा के योगदान गर्नुभयो। अनि मैले के योगदान गरेँ। तपाईहरु यतिमात्र हेर्नुहोस्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.