|

बारा : पूर्वपश्चिम राजमार्ग हुँदै बाराको निजगढबाट–मकवानपुर जिल्ला जोड्ने दुई सडक निर्माण हुने भएको छ। बाराको निजगढ नगरपालिकाबाट मकवानपुरको बकैया गाँउपालिकामा जोडिने ३० किलोमिटरको दूरीको बाटोको 'सर्भे' सुरु भएको हो।

सडक पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ निजगढ–२ भरतगञ्ज–फापरबारी पुग्नेछ। ३१ दिन भित्र 'डिटेल सर्भे' सकिने बीएम कन्सलटेन्सीका इन्जिनियर रणधीरकुमार खड्काले जानकारी दिए। पहिलो चरणमा ७.५ किलोमिटर सडक कालोपत्रे हुनेछ। सडक निर्माणको ठेक्का पप्पु रञ्जन जेबी मिर्जापुर पर्साले करिब १३ करोडमा पाएको छ।

यो सडक सडक धरान–चतरा–हेटौंडासँग जोडिने मध्यमाञ्चल सडक डिभिजन कार्यालय हेटौंडाका प्रवक्त्ता इन्जिनियर जयराम अधिकारीले जानकारी दिए। सडकको दोस्रो चरणका लागि सडक विभागले 'डीपीआर' का लागि 'सर्भे'  सुरु गरेको छ।

सडक निर्माणले स्थानीयलाई मात्र नभई छिमेकी जिल्ला रौतहटको चन्द्रपुर नगरपालिका– ३ को भालु खोप अरुण बस्ती र भोलनटारको स्थानीयले समेत लाभान्वित हुनेछन्। सडक सञ्चालन भएपछि निजगढको आर्थिक कारोबार बढ्ने वडा नं. २ का अध्यक्ष केशव ढोडारीले बताए।

सडक निर्माण भएपछि मकवानपुरको पूर्वी–दक्षिण भेगका धियालका स्थानीयलाई हेटौंडा पुग्न भन्दा निजगढ झर्न सहज हुनेछ। त्यस्तै रौतहटको रजुवा आसपासका स्थानीयलाई पनि चन्द्रपुर पुग्न निजगढबाट सहज हुने छ। बजार र किनमेलका लागि निजगढ, वीरगञ्ज, हेटौंडा पुग्न पनि यो सडक सहज हुने बकैयाका प्रतीक भोलनले बताए।

त्यस्तै पूर्वपश्चिम राजमार्गसँग जोडेर बाराको निजगढ–७ भमराटोल हुँदै धियाल सडक निर्माणका लागि ठेक्का लागि सकेको छ। पहिलो चरणमा ५ किलोमिटर सडकका लागि करिब ११ करोडमा पप्पु रञ्जन जेबी मिर्जापुर पर्साले ठेक्का पाएको छ। दुवै सडक निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत पूर्वसांसद पुरुषोत्तम पौडेलको सिफारिस सडक निर्माण हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.