|
रौतहटको भगवती गाउँपालिका बडहर्वा घाट वाग्मती नदीमा निर्माणाधीन पुल।

 रमेश तिमलसिना-

    रौतहट : रौतहटको विकट गाउँको रुपमा रहेको दुर्गा भगवती गाउँपालिका-५ बडहर्वावासीले वाग्मती नदीमा पुल बनाइदिनेलाई भोट दिने बताएका छन्। दैनिक डुंगाबाट ओहोरदोहोर गर्न बाध्य बडहर्वावासीले जुन नेताले वाग्मती नदीमा पुल बनाइदिने वाचा गर्छ उही नेतालाई आफ्नो अमूल्य मत दिने बताएका छन्।

    हुलाकी राजमार्ग आयोजनाअन्तर्गत रौतहट सर्लाही जोड्ने वाग्मती नदीमा दुर्गा भगवती गाउँपालिकाको बडहर्वा घाटमा निर्माणाधीन पुल निर्धारित समयभन्दा करिब चार वर्ष ढिलो भए पनि निर्माण कार्य सम्पन्न नभएपछि जुन नेताले पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गर्छ उसैलाई भोट दिने बताएका छन्।

    अहिलेसम्म कुनै पनि उम्मेदवार भोट माग्न नआएको तर कार्यकर्ताहरुले प्रचारप्रसार गरेको स्थानीय रुपन सहनीले बताए। डुंगा चडेर  वृद्धभत्ता लिन हिँडेका सहनीले आफ्नै भोजपुरी भाषामा भने, ‘जुन नेता यी

    वाग्मती नदीमे पुल बनाए के प्रतिबद्धता करी ओक्रा भोट दियम, बहुत नेता लोग झुट बोल के भोट लेगैली अब यैसा नहोई।’हरेक दिन घाँसपात ओसारपसारलगायत हाट बजार तथा गाउँपालिका र जिल्लाका काममा दैनिक २५ रुपैयाँ तिरेर डुंगा चडेर नै हिँडनुपर्ने बाध्यता रहेको अर्का स्थानीय अकलु सहनीले बताए।

    यस्तो समस्या बडहर्वाका ४ सय ४६ घरधुरीको रहेको उनको गुनासो छ। तराईका जिल्ला सदरमुकाम भएर जाने हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने सो महत्वकांक्षी पुलको निर्माणको डिजाइनमै समस्या देखिएको भन्दै निर्माण काम बन्द गरेर निर्माण कार्यको जिम्मेवारी लिएका ठेकेदारहरु गएपछि पुल निर्माण बीचमै अलपत्र परेका हुन्।

    ०६७ जेठ ३१ गते ठेक्का सम्झौता भएको सो पुल ०७० जेठ ३० गते निर्माण सम्पन्न भइसक्नुपर्ने थिए। तर, म्याद सकिएको चार वर्ष बित्न लाग्दासमेत ठेकेदार पक्षले कुनै चासो नदेखाउँदा स्थानीय वासिन्दाहरुलाई मार परेका छन्।

    पुलको निर्माण सम्पन्न गर्न ठेक्का पाएको लुम्बिनी विलर्डस प्रालि सिद्धार्थनगरले सो आयोजना स्थलबाट आफ्ना सबै मेसिन र कर्मचारी हटाएको लामो समय भइसकेको छ। करिब ३६ करोडको लागतमा ३ वर्षमा

    निर्माण कार्य पूरा हुने भनिएको सो पुल ६ सय ३३ मिटर लामो र ८ मिटर चौडाइ हुने गरी निर्माण हुनपर्ने थियो। झन्डै ३५ प्रतिशत काम सम्पन्न गरेपछि डिजाइनमा समस्या आएको भन्दै पुलको काम रोकिएको थियो। सो पुलको तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.