|

लहान : सिरहा-१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप गिरीसहित कांग्रेसका उम्मेदवारहरुको पक्षमा मत माग्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १४ मंसिर  बिहीबार सिरहाको भगवानपुर गएका थिए।

लहानसँगै जोडिएको गाढा गाउँ हुँदै प्रधानमन्त्री देउवा भगवानपुर गए तर गाउँनजिकै भएको कार्यक्रममा गाढाका ६९ वर्षीय मधु मरिक (डोम) गएनन्। ऐलानी जग्गामा बनेको सुँगुरको खोरसँगै रहेको झुपडीको आँगनमा डोम घाम तापिरहेका थिए भने उनका छोरी बुहारीहरु बाँसको ढक्की बनाउँदै थिए।

स्थानीय निर्वाचनमा भोट मागेर गएपछि कोही फर्केर आएनन्

आफ्नो झुपडीमा आएका पत्रकारहरुसँग मरिक भन्दै थिए, ‘स्थानीय निर्वाचनमा भोट माग्न मात्र आए, त्यसपछि कोही फर्केर आएनन्, त्यसैले चुनावी कार्यक्रममा गइनँ।’ सिरहाको लहान नगरपालिका २३ गाढा गाउँका मधु मात्र होइनन्, डोम समुदायका २२ घरधुरीका कसैले पनि गाउँनजिकै प्रधानमन्त्री आएको चुनावी कार्यक्रमको चहलपहलको विषयमा त्यति चासो देखाएनन्।

तीन दाजुभाइको तीन घरमा १७ मत रहेको सुनाउँदै मरिकले भने, ‘गाउँमा ‘हाम्रो भोट मात्र लिए, ऐलानी जग्गामा गाडेको खानेपानीको कल बिग्रिएको दुई हप्ता बढी भयो, पिउने पानीसमेत छैन।’

बस्तीकी दुखनी मरिकले भनिन्, ‘स्थानीय निर्वाचनमा त भोट माग्न पनि आएका थिए, तर योपल्ट कोही पनि आएका छैनन्।’ हुन पनि छेउछाउको अन्य समुदायको बस्तीमा विभिन्न दलका नजिकिँदो निर्वाचनमा उठेका उम्मेदवारको पोस्टर, झन्डा लगाइएका थिए तर, सुँगुरको खोरसँगै रहेको डोम बस्तीमा न कुनै उम्मेदवारको पोस्टर थियो न त झन्डा नै।

भोट लिन्छन्, मान्छे मान्दैनन्

छिमेकी गाउँ कुर्वा हनुमाननगरबाट माइती आएकी मधुकी छोरी जगिया मरिकले भनिन्, ‘हामीलाई त मान्छेसमेत मान्दैनन्, भोट त लिन्छन् तर नागरिकको हैसियतले पाउने हामीले हक अधिकारको विषयमा कुनै पनि दल र त्यसका अगुवाले बोल्दैनन्।’

गाउँ बस्ती नै पुर्ख्यौली सम्पत्ति

केही अपवादबाहेक ऐलानी, गाउँको पुछारको पर्ती, नदी किनार, पोखरीको डिल वा अर्काको जग्गामा बसोवास गर्दै आएका प्रायः डोम जातिको पुख्र्यौली सम्पत्ति भन्नु नै गाउँ बस्ती हो।

आफ्ना बाबुले छोराहरुलाई जग्गासहित चलअचल सम्पत्तिको अंश लगाइदिए जसरी नै डोम समुदायमा छोराहरुलाई गाउँ बस्तीको अंशबण्डा गरिदिने चलन रहेको डोम समुदायका अगुवा रामचन्द्र मरिक बताउँछन्।

बाँसजन्य सामग्री बनाएर आफ्नो स्वामित्व रहेको गाउँमा बिक्री गर्ने र सुँगुर पाल्ने पुख्र्यौली पेसाले जीविका चलाइरहेका डोमहरु भवितव्य पर्दा जसरी चलअचल सम्पत्ति धितो राखिन्छ, त्यसरी नै गाउँ धितो वा बन्धक राखेर भए पनि आफ्नो व्यवहार चलाउने गरेको मरिकको भनाइ छ।

‘जसको जति बढी गाउँ छ, त्यति नै धनी मानिन्छ’ उनले भने, ‘गाउँ बिक्री गर्नुप¥यो भने पनि जातीय अगुवाको रोहवरमा बिक्रीनामाको लिखत बनाएर बिक्री गर्ने चलन छ।’ ‘गाउँ नभएको डोमले जग्गा जमिन किनेर घर बनाएर बस्नसमेत नपाउने जातीय नियम रहेको मरिकले सुनाए। 

जिल्लाभरी २ सय ४१ घरधुरी

शिक्षा, स्वास्थ्य, सरसफाई लगायतको दृष्टिकोणले सबैभन्दा पछाडि रहेका तराई दलितका डोमको संख्या सिरहा जिल्लाभरी २ सय ४१ घरधुरी रहेको डोम मेस्तर उत्थान समाज सिरहाले जनाएको छ।

समाजका अनुसार २ सय ४१ घरधुरीमा बस्ने करिब २ हजार जनसंख्या रहेको छ। जिल्लाभरीकै डोमहरुको प्रायः कुनै न कुनै गाउँ आफ्नो स्वामित्वमा लिएर बसिरहेको समाजका जिल्ला संयोजकसमेत रहेका मरिकले उल्लेख गरे।

समाजले गरेको जातीय सर्वेक्षणअनुसार जिल्लाभर बसोवास गर्ने डोम युवा युवतीमध्ये १३ जनाले मावि तहको औपचारिक शिक्षा अर्थात् एसएलसी उत्तीर्ण गरेका छन्। त्यसमध्ये ३ जना ११ र १२ कक्षा पढ्दा पढ्दै छोडेका छन् भने कसैले पनि स्नातक उत्तीर्ण गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.