|

रुपन्देही : प्रादेशिक राजधानीको विषयलाई दलहरुले मुख्य एजेन्डा बनाएका छन्। प्रदेश नम्बर पाँचको राजधानीका लागि प्रस्तावित भएका नाम दाङ र बुटवलको मात्रै हैन, कपिलवस्तुलाई पनि राजधानी बनाउने आश्वासन बाँडिरहेका छन् उम्मेदवारहरु।

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको वाम गठबन्धनका उम्मेदवारहरु रुपन्देही, कपिलवस्तु र दाङलाई राजधानीका रुपमा अघि सारेर मत मागिरहेका छन्। अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा देखिएको लुम्बिनी क्षेत्रका बासिन्दाले मत दिने पहिलो शर्त प्रादेशिक राजधानी नै राखेका छन्। मतदाताले घरदैलोमा आउने उम्मेदवारहरुसँग सोध्न थालेका छन्।

यसअघि बुटवलमा प्रादेशिक राजधानी भनेको एमालेले अहिले रुपन्देहीमा राजधानी बनाउने भनेको छ। एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालले चुनावी एजेन्डाका रुपमा प्रदेशको राजधानीलाई अघि सारेका छन्। रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पौडेल र ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भुसाल रुपन्देहीमा प्रादेशिक राजधानी बनाउनका लागि कसैले विमति नराख्ने बताउँछन्।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेल भन्छन् ‘यो भूगोल विगतमा अखण्ड प्रदेशको आन्दोलनमा थियो, त्यतिबेलादेखि नै रुपन्देहीले आफुलाई प्रादेशिक राजधानीका रुपमा स्थापित गरिरहेको छ, रुपन्देहीभन्दा बाहिर राजधानी हुँदैन, अरु कहाँ कसले बनाउँछु भनेको छ, त्यसबारे म त्यति धेरै बहस गर्न चाहन्न।’

भुसालको पनि उस्तै तर्क छ ‘मुलुकको समृद्धिका लागि अब रुपन्देहीले नेतृत्व गर्नेछ, यो काठमाडौंपछिको राजधानीकै रुपमा परिचित पनि भईरहेको छ, हामीले प्रष्ट रुपमा भन्दै आएका छौं, समृद्धिको नेतृत्व रुपन्देहीले नै गर्ने छ र पाँच नम्बर प्रदेशको राजधानी पनि यहीँ रहनेछ, यसमा विमति छैन।’

प्रदेश सभाको पहिलो बैठकले प्रदेश राजधानीको विषयमा टुंगो लगाउने व्यवस्था संविधानमा छ। चुनावका मुखमा अस्थायी राजधानी तोक्दा विवादित हुनसक्ने भन्दै सरकारले अस्थायी राजधानी नतोकेपछि दलहरुले प्रादेशिक राजधानीको एजेन्डा चुनावी कार्डकै रुपमा प्रयोग गरिरहेका छन्।

रुपन्देहीबाट उम्मेदवार बनेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रापप्रा (प्रजातान्त्रिक) का नेता दीपक बोहरा पनि प्रदेश राजधानी रुपन्देही बनाउने भन्दै मत मागिरहेका छन्। स्थानीय तह निर्वाचनमा बुटवललाई प्रदेशको राजधानी बनाउने एजेन्डा बोकेको अर्को दल कांग्रेसका रुपन्देहीका सबै उम्मेदवारहरुले रुपन्देहीमै राजधानी बनाउने आश्वासन दिइरहेका छन्।

‘कांग्रेसले रुपन्देहीलाई राजधानी बनाउने भन्दै आएको छ, यो औद्योगिक र पर्यटकीय हिसाबले पनि अगाडि बढिरहेको छ', कांग्रेस रुपन्देहीका सभापति समेत रहेका रुपन्देही १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाक भन्छन् ‘हामीले रुपन्देहीलाई राजधानी बनाउने एजेन्डालाई छाड्दैनौं, यहाँ राजधानी बनाएरै छाड्छौं।’

बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका कांग्रेसबाट रुपन्देही २ (२) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार महेशमान सिंह बुटवल निर्विकल्प प्रदेश राजधानी हुने बताउँछन्। ‘सबैतिरलाई हेर्दा बुटवललाई राजधानी बनाइएन भने न्याय हुँदैन, बुटवलले आजसम्म देशको राजनीतिमा दिएको योगदान, आर्थिक क्षेत्रको योगदानको कदर गर्न पनि बुटवललाई राजधानी बनाउनुपर्छ' उनी भन्छन्।

कपिलवस्तुमा समेत राजधानीको नारा

रुपन्देही पश्चिममा रहेको कपिलवस्तुका उम्मेदवारहरु भने कपिलवस्तुलाई राजधानी बनाउने आश्वासन दिदै भोट मागिरहेका छन्। कांग्रेसका नेता दीपकुमार उपाध्याय, माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवले कपिलवस्तु राजधानी बनाउन उपयुक्त तर्क अघि सारेका छन्। ‘यो बुद्धहरु जन्मेको थलो हो, यो थलोलाई विश्वव्यापी बनाउनका लागि पनि कपिलवस्तुमै राजधानी बनाउनुपर्छ, यसको विकल्प छैन',कपिलवस्तु १ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपकुमार उपाध्याय भन्छन् 'भूगोलका हिसाबले पनि यो ठाउँ उपयुक्त छ।’

वाम गठबन्धनका उम्मेदवर खनालको पनि तर्क छ ‘मैले शुरु देखि नै कपिलवस्तुलाई राजधानी बनाउनुपर्छ भन्दै आएको छु, यो ठाउँ सबैका लागि मान्य हुन्छ।’ माओवादी केन्द्रकै अर्का नेता टोपबहादुर रायमाझी भने विवादमा मुछिन सकिने भन्दै तर्किन खोज्छन्। अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उनी भन्छन् ‘म यसको निर्णय गर्ने समयमा उपयुक्त विकल्पसहित प्रस्तुत हुनेछु, चुनावी नाराका लागि अहिले यहीँ नै हुनुपर्छ भन्दिन, जतिबेला भन्छु त्यसबेला सबै जनताको चित्त बुझ्ने गरी भन्नेछु।’

उता, दाङमा भने माहोल अर्कै छ। मुख्यमन्त्रीका दाबेदार मानिएका एमाले नेता शंकर पोखरेलको मुख्य एजेन्डा मध्येको एक हो प्रादेशिक राजधानी दाङ। उनी दाङलाई हरेक दृष्टिबाट राजधानी बनाउन उपयुक्त देख्छन्। ‘सबै हिसाबले दाङ राजधानीका लागि उपयुक्त छ, यसको विकल्प छैन’ उनी भन्छन् ‘भौगोलिक हिसाबले र आवश्यक पर्ने सार्वजनिक जग्गाका हिसाबले पनि यो थलो नै उपयुक्त हो।’

मुख्यमन्त्रीसहित सात वटा मन्त्रालय रहने पाँच नम्बर प्रदेश सभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य रहनेछन्। जसको पहिलो बैठकले प्रदेशको राजधानी तोक्नेछ।

राजधानीबारेका तर्क

संविधानअनुसार प्रदेश सभाको पहिलो बैठकले प्रदेशको राजधानी तय गर्नेछ। तर यसमा राजनीतिक लेनदेन हुनसक्ने आँकलन हुन थालेको छ। बुटवलका बुद्धिजीवि ऋषि आजाद भन्छन् ‘हामीकहाँ कस्तो संस्कार बस्यो भने दलीय भागवण्डाका आधारमा आफ्ना स्वार्थहरु पूरा गरिन्छन्, प्रदेशको राजधानीका विषयमा पनि दलहरुले सहमतिका नाममा राजधानी टुंगो लगाउन सक्छन्, आपसमा बाँड्न सक्छन्।’

अहिले आँकलन गरिएका र चर्चामा आएका स्थानलाई राजधानी बनाउनका लागि अर्को महत्वपूर्ण पाटो हो समानुपातिकतर्फको मत। पार्टीको स्वार्थअनुसार समानुपातिकबाट सांसद पठाएर दलको चाहनाअनुसारको स्थानमा राजधानी बनाउने शंका पनि छ, आम मतदाताको। बुटवलका अर्का वुद्धिजीवि गोविन्द खनाल भन्छन् ‘समानुपातिकतर्फका सांसदहरु पार्टीको स्वार्थअनुसारको क्षेत्रबाट बढी राखेर त्यसो गर्ने शंका पनि बढी छ, त्यसैले अहिले देखि नै मतदाता सचेत हुनु जरुरी छ, उम्मेदवारले जनतालाई झुक्याउन सक्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.