|

इलाम : इलाममा मतदानस्थलमा प्रयोग हुने निर्वाचन सामग्रीसहित कर्मचारी शनिबारबाट खटिएका छन्। जिल्लाका १ सय ४४ मतदान स्थलका २ सय ६६ मतदान केन्द्रमध्ये पहिलो दिन ७२ वटा मतदान केन्द्रमा खटिने कर्मचारीलाई निर्वाचन सामग्रीसहित खटाइएको हो।

इलाममा निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी २ हजार १ सय २४ जना कर्मचारी खटिने जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलामको माई नगरपालिका, रोङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिकामा खटिने कर्मचारीहरुलाई निर्वाचन सामग्रीसहित कर्मचारी खटाइएको हो। इलाममा मतदानस्थलहरुमा निर्वाचन कर्मचारीबाहेक सहयोगका लागि १ हजार स्वयंसेवक परिचालन हुने बताइएको छ।

सुरक्षा व्यवस्था कडा,

निर्वाचनका लागि इलाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला सुरक्षा समितिका संयोजक तथा इलामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलका अनुसार १ हजार २ सय ५५ म्यादी, ८ सय १७ नेपाल प्रहरी, ३ सय ५० सशस्त्र प्रहरी, १३ जना राष्ट्रिय अनुसन्धानका प्रहरी र ५ कम्पनी नेपाली सेनाको सुरक्षा टोली खटाइएको छ।

तीन तहको सुरक्षा गरिएको निर्वाचनमा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, बीचमा सशस्त्र प्रहरी र बाहिर नेपाली सेनाको कडा सुरक्षा घेरा हुने जिल्ला सुरक्षा समतिले जनाएको छ। निर्वाचनमा २२ सय ५५ कर्मचारी खटिनेछन्।

मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित ६५ प्रकारका निर्वाचन सामग्री प्रयोग हुनेछन्। प्रतिनिधिसभाको लागि २ र प्रदेशसभा सदस्यका लागि ४ निर्वाचन क्षेत्र रहेको इलाममा २ लाख ४ हजार ४६  मतदाता रहेका छन्। जसमा  ९९ हजार ३ सय ५० महिला, १ लाख ४ हजार ६ सय ९४ पुरुष र दुई जना तेस्रो लिंगी रहेको छन्।

प्रतिनिधिसभा इलाममा क्षेत्र नं १ मा वाम गठबन्धनका साझा उम्मेदवार पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति भुपेन्द्र कट्टेल प्रतिस्पर्धामा छन्।

त्यसैगरी, क्षेत्र नं २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग नेपाली कांग्रेसका नेता पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री केशव थापा भिडदै छन्। प्रतिनिधिसभा १८ जना र प्रदेशसभा ३३ उम्मेदवार चुनावी मैदानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.