|

इलाम : माइ नगरपालिका ८ महमाईका चन्द्र तामाङले २०४६ पछिका सबै निर्वाचनमा मतदान गरे। उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन। प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ? भन्ने जिज्ञासामा उनले उही पुरानो माग दोहोर्‍याए सडक, पुल, खानेपानी र बिजुली। स्थानीय र संसदीय निर्वाचनमा दलहरूले ल्याउने एजेन्डा पनि यी विषयभन्दा फरक खासै छैनन्। तर, दलहरूले आफ्नो प्रतिबद्धता पूरा गर्न नसक्दा सर्वसाधारण वर्षौंदेखि तिनै पुराना माग दोहोर्‍याउन बाध्य छन्।

सुगम जिल्लाको रुपमा परिचित इलामका ग्रामीण क्षेत्रहरुमा सडक नहुँदा सर्वसाधारणलाई बर्खाको समयमा आवतजावतमा समस्या पर्ने गरेको छ। हिउँदभर मुस्किलले जिपसम्म चल्ने कच्ची सडक वर्षायाममा पुरै ठप्प हुन्छन्। वर्षामा सर्वसाधारणले सदरमुकाम आउजाउ गर्न दुईचार दिन लगाउनुपर्छ।

झापासंग सिमाना जोडिएको माइ नगरपालिकाको दानावारी र महमाइबीचमा पर्ने माइखोलामा पुल नहुँदा डुङगाको सहारा लिनुपर्छ। गत बर्ष दशैंको समयमा डुङ्गा डुब्दा ८ जनाले ज्यान गुमाए। त्यसैगरी भारतसंग सिमाना जोडिएको रोङ गाँउपालिकाको जिर्मले, सलकपुर क्षेत्रमा अझै भारतीय फोनको भर पर्नुको विकल्प छैन। सडकको अवस्था राम्रो नहुँदा त्यस क्षेत्रका कृषि उत्पादनले अपेक्षा गरे अनुसारको बजार पाउन नसकेको स्थानीय गणेश अर्याल बताउँछन्।

सडक, पुल विद्युत जस्ता अत्यावश्यक पूर्वाधार नहुँदा इलामको पश्चिमी माङसेवुङ गाउँपालिका बर्खाको समयमा टापु जस्तै हुन्छ। झापाको दमकसंग निकट रहे पनि बर्खाको समय सडक र पुल नहुँदा अत्यावश्यक सामाग्री एवम कृषि उत्पादन खरिद बिक्रीमा समस्या हुने गरेको गाँउपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गो बताउँछन्। केही क्षेत्रमा विद्युत पुगे पनि अधिकांश क्षेत्रमा सोलार र पेल्ट्रिक सेटबाट बत्ती बाल्ने गरिएको छ।

पर्याप्त खानेपानी नहुँदा जिल्लाका अधिकांश क्षेत्रका बासिन्दाहरु खोला खोल्सी धाउन बाध्य छन्। खानेपानीको मुहान नजिकै नहुँदा टाढाबाट बोकर विद्यार्थीहरुलाई पानी खुवाउनुपर्ने वाध्यता रहेको माइ नगरपालिका–१ को चन्द्रसूर्य आधारभूत विद्यालयका प्रधानाध्यापक ढगेन्द्र मगर बताउँछन्। ‘एक जना विद्यार्थीलाई दिनमा आधा लिटर पानी दिन समेत समस्या छ’ मगरले भने।

इलामलाई सुगम जिल्लाका रूपमा बुझ्नेको संख्या धेरै हुनसक्छ तर स्थानीयले भोग्नुपरेको दुःख भने दलका नेताले कहिल्यै नबुझेको मतदाताहरु बताउँछन्। ‘पार्टीमात्रै धेरै भए, विकास गर्नेखालको पार्टी आवश्यक छ' जसले खानेपानी, बिजुली, बाटो टोलमा पुर्‍याउँछ, उसैलाई भोट दिने धारणा बनाएको माइजोगमाईकी संगीता थामीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.