|

लहान : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदातासँग भेटघाट, घरदैलो, कोणसभा, मोटरसाइकल र्‍याली, चुनावीसभामार्फत् मतदातालाई फकाउने प्रयास गर्दैछन्।

गाउँदेखि शहर बजार, चोक, चौराहा, चिया पसलसम्म चुनावमा कसले जित्ने हो भन्ने विषयमै चर्चा सुनिन्छ तर पार्टी विशेषको भोट बैंकको रूपमा मात्र लिइएका सिरहाका मुसहर बस्तीहरूमा न निर्वाचनको चर्चा छ, न त प्रचार प्रसारको चहलपहल नै। 

मजदूरी नगरी घरमा चुलो नबल्ने सिरहाको नरहा गाउँपालिका– १ को मुसहर बस्तीमा चुनावको प्रचार प्रसार नभएको बताउँछन्, स्थानीय गाउँलेहरू। दलका उम्मेदवार समेत भोट माग्न नगएकाले निर्वाचनको विषयमा केही थाहा नभएको उनीहरूको भनाइ छ। 

‘बिजुली छैन, रेडियो, टीभी छैन, नपढेकाले पत्रपत्रिका हेर्ने कुरा पनि भएन, चुनाव कहिले हो थाहा छैन’ नरहा गाउँपालिका १ की ३५ वर्षीया ज्ञानी सदाले भनिन् ‘ज्याला मजदुरी गरेर जीविका चलाउनु पर्ने बाध्यताले आफूहरूलाई चुनावबारे जानकारी छैन।’ 

उनकै छिमेकी ३० वर्षीया जनी सदाले बस्तीमा मतदाता शिक्षा सहजकर्ता समेत ‘चुनाव हुँदैछ, भेट हाल्न जानुपर्छ र यसरी भोट हाल्नु पर्छ’ भनेर नआएकाले चुनावको बारेमा थाहा नभएको बताइन्। ‘मजदुरी गरेर बालबच्चा पाल्नु पर्छ, चुनावको विषयमा चासो राखेर पनि के हुन्छ र!’ उनले भनिन्। 

ऐलानी पर्ती जग्गामा बनाएको झुपडीमा ओत लाग्ने र  मजदुरी गरेर जीविका चलाउन बाध्य सिरहाका नरहासहितका प्रायः मुसहर बस्तीहरुलाई चार दिनपछि हुने निर्वाचनले त्यति नछोएको दलित अधिकारकर्मी उमेश विसुन्के बताउँछन्। ‘झुक्किएर चुनावको प्रचार र भोट माग्न आउने उम्मेदवार चुनावपछि कहिल्यै बस्तीमा नफर्किने भएकाले पनि मुसहर बस्तीमा चुनावको उल्लास नदेखिएको उनको बुझाइ छ। 

निर्वाचनको प्रचार प्रसारको चहलपहल अन्य बस्तीमा भएपनि मुसहर बस्तीमा चुनावी चहलपहल छैन। जिल्लाको धोबियाधार, सिरहा, बेलहा, नरहा, बलकावा, वैशखा, कर्जनहा लगायतका ठाउँहरू मुसहर समुदायको बाक्लो बसोबास छ। २०६८ को जनगणना अनुसार सिरहामा मुसहर समुदायको जनसंख्या ५५ हजार छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.