|

डडेल्धुरा : संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको यसपटकको चुनावी यात्रा कस्तो रहला? अहिले यसबारेमा चासो, चर्चा र अड्कलहरु हुन थालेका छन्। कतिपयले देउवाको जित निश्चित रहेको भन्दै मतान्तरको विषयमा मात्र छलफल हुन सक्ने बताउँछन् भने कतिपयले एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि देउवालाई विगतमा जस्तो सजिलो नहुने धारणा राख्छन्।

वाम गठबन्धनबाट देउवाको प्रतिस्पर्धी माओवादी केन्द्रका नेता खगराज भट्ट छन्। माओवादी एक्लै लड्दा पनि कडा टक्कर दिएका भट्ट एमाले र माओवादीको बामगठबन्धनका साझा उम्मेदवार रहेकाले अहिले रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

२०४८, २०५१ र २०५६ सालको निर्वाचनसम्ममा डडेल्धुरामा देउवालाई टक्कर दिने प्रतिस्पर्धी नहुँदा चुनाव जित्न सजिलो थियो। २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने देउवाले डडेल्धुरासँगै कञ्चनपुर निर्वाचन क्षेत्र ४ बाट पनि उम्मेदवारी दिएका थिए। २०६४ सालमा पनि डडेल्धुराबाट देउवाको प्रतिस्पर्धी रहेका माओवादी नेता भट्ट आफ्नो उम्मेदवारीकै कारण त्यतिबेला देउवा अर्को निर्वाचन क्षेत्रबाट पनि उम्मेदवार बन्नुपरेको दावी गर्छन्। यद्यपी त्यतिबेला देउवाले भट्टलाई १३६८ मतले पराजित गरे।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि देउवा डडेल्धुरासँगै कैलाली ६ बाट उम्मेदवार बने। त्यतिबेला पनि डडेल्धुरामा देउवाका प्रतिस्पर्धी थिए माओवादीका उनै खगराज भट्ट। यसपटक भने देउवाले भट्टसँगको मतान्तर बढाएर ११ हजार पुर्‍याए। २०७० सालमा देउवाले २३ हजार ९२० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी भट्टले १२ हजार ४९३ मत पाए। एमाले उम्मेदवार तेस्रो स्थानमा रहे।

अहिले स्थानीय चुनावको नतिजा हेर्ने हो भने देउवाको गृहजिल्ला डडेल्धुरामा एमालेको अवस्था  सुधार भएको देखिन्छ। जिल्लाका ७ स्थानीय तहमध्ये कांग्रेसले ४, एमालेले २ र माओवादी केन्द्रले एक स्थानमा विजय हासिल गर्‍यो। जिल्लाका ५२ वडामध्ये एमालेले १९, कांग्रेसले १७ र माओवादी १६ वटामा विजय हासिल गरेका थिए।

वडाध्यक्षहरुले पाएको मत जोड्दा जिल्लामा एमालेले १६ हजार तीन सय ५, कांग्रेसले १९ हजार ८२० र माओवादी केन्द्रले ११ हजार ६७४ मत पाएका छन्। एमाले र माओवादीका वडाध्यक्षले पाएको मत जोड्दा २७ हजार ९८० हुन्छ। यद्यपी प्रधानमन्त्रीसमेत रहेका देउवाको व्यक्तित्वको असर डडेल्धुरामा पर्ने हुनाले स्थानीय चुनावको आधारमा मात्र नतिजा विश्लेषण अपूर्ण हुन सक्छ।

को हुन् देउवासँग चुनाव लड्ने खगराज?

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य भट्टको जन्म २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ चिपुरमा भएको हो। २०४७ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिमा लागेका भट्ट २०४७ सालमा तत्कालीन नेकपा एकता केन्द्रको सदस्य भएर कम्युनिस्ट राजनीतिमा होमिए।

तत्कालीन नेकपा माओवादीको सशस्त्र बिद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उनी कम्युनिस्ट राजनीतिमा लागेका हुन्। आइएलसम्म पढेका भट्ट २०५४ सालदेखि २०५८ सालसम्म अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य भए।

विद्यार्थी फाँट छोडेपछि भट्ट तत्कालीन नेकपा माओवादीको दार्चुला, बैतडी र डडेलधुरा सचिव भएर काम गरे भने पछि दार्चुला र बैतडीको ईञ्चार्ज समेत भए। २०६० सालमा भट्ट तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा पुगेका उनले सशस्त्र बिद्रोहमा ९ महिना जेल जीवन बिताएका थिए।

समृद्धि र सुशासन भट्टको मुख्य एजेण्ड

वाम गठबन्धनका उम्मेदवार भट्टले देउवा चार पटक प्रधानमन्त्री भए पनि जिल्लाको विकास नगरेको दावी गर्छन्। उनी भन्छन्, शेरबहादुरले डडेल्धुरालाई सुनको चिडिया बनाएका छन् भन्ने देशभर प्रचार भएको छ। तर यो निर्वाचनमा पनि १०/१२ घण्टा हिँडेर मतदान केन्द्रसम्म आएर भोट हाल्नुपर्ने बाध्यता यो जिल्लाका जनतासँग छ।’ चार पटक प्रधानमन्त्री भए पनि देउवाले जिल्ला सदरमुकाम रहेको नगरपालिकाका सबै गाउँमासमेत विजुली पुर्‍याउन नसकेको बताए।

आफूले जितेमा पाँच वर्षमा जनताले अनुभूति गर्ने गरी परिवर्तन गर्ने भट्ट बताउँछन्। 'पाँच वर्षभित्र साँच्चिकै जनताले अनुभूति गर्ने प्रकारको परिवर्तनलाई संस्थागत गर्ने कुरा हामीले सोचेका छौं।’ उनले देउवाले निर्वाचित हुन थालेको २७ वर्षमा नगरेको काम ५ वर्षमा गर्ने पनि दावी गरे।

चुनाव जित्नेमा भट्ट ढुक्क

चुनावी अभियान स्थगित गर्ने दिनसम्म आइपुग्दा भट्ट आफ्नो जितप्रति ढुक्क देखिएका छन्। 'हामीले गाउँघरमा सभाहरु गर्दै गयौँ, घरदैलो, भेटघाट र अन्तरक्रिया गर्दै गयौँ र यसको एउटै निचोड के छ भने यस पटक डडेल्धुराको इतिहासमा संसारले बुझ्ने गरी राजनीतिक रुपमा ठूलो उलटपुलट हुन्छ’ भट्टले भने।

चुनाव जित्नेमा कांग्रेस पनि ढुक्क

प्रधानमन्त्री शेरबहादुर देउवा भारी मताअन्तरले चुनाव जित्ने नेपाली कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लको दाबी छ। ‘प्रधानमन्त्रीज्यू नेपाली कांग्रेसको सभापति तथा लोकतान्त्रिक मोर्चाका कमाण्डर हुन्, मल्लले भने, 'उहाँ भारी मतका साथ विजय हुनुहुनेछ।’

जिल्लामा बिजुली, सडक, खानेपानी, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा उनले गरेका विकास जितका आधार भएको उनी बताउँछन्। डडेल्धुरालगायत प्रदेश नम्बर ७ कै विकास देउवाले गरेको भन्दै जित्नेमा आफू ढुक्क रहेको मल्ल बताउँछन्।

‘जिल्लामा विभिन्न ग्रामीण क्षेत्र जोड्ने कच्ची सडक पिच गर्ने, नदीमा तटबन्ध, धार्मिक पर्यटन, गरिवी र बेरोजगारी अन्त्य लगायतका एजेण्डा कांग्रेसको हो' मल्लले भने, 'डडेल्धुराको विकासको लागि अन्य पार्टीले केही पनि गरेका छैन्। जिल्लाको सबै विकास देउवाले गरेका हुन्।’

प्रतिस्पर्धीबारे के भन्छन् देउवा?

वारेसमार्फत उम्मेदवारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी कार्यक्रमका लागि भने दुई पटक जिल्ला आएका छन्। पहिलो पटक कात्तिक ३० गते डडेल्धुरा आएका उनी मंसिर ३ गते फर्किएका थिए। यसबीचमा उनले ६ वटा चुनावी सभालाई संबोधन गरेका थिए। कात्तिक ३० गते डडेल्धुरा सदरमुकाम आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भनेका थिए ‘मैले जिते प्रधानमन्त्री हुन सक्छु। मसँग रिसाउन सक्नुहुन्छ। यो गर, उ गर भन्न सक्नुहुन्छ। म हिजो पनि प्रधानमन्त्री थिएँ, आज पनि छु, भोलि पनि हुनेछु।’

देउवाले आफू पटकपटक प्रधानमन्त्री बनेर डडेल्धुरालाई विदेशमा चिनाएको पनि बताउने गरेका छन्। उनले डडेल्धुराका सबै ग्रामीण सडक कालोपत्रे गर्ने आश्वासन पनि दिएका छन्। मंसिर ३ गते प्रेस युनियनले डडेल्धुरामा गरेको पत्रकार सम्मेलनमा देउवाले आफूलाई चुनाव जित्न कुनै सकस नभएको पनि बताएका थिए।

वाम गठबन्धनले गर्दा तपाईँलाई चुनाव जित्न गृहजिल्लामा राजनीतिक सकस छ ? भन्ने पत्रकारको प्रश्नमा देउवाले भनेका थिए,' तपाईंले नै भन्नुस् न तपाईंलाई थाहा होला।’ त्यसपछि उनले थपे, ‘वाम गठबन्धनले नेपाली कांग्रेसलाई कुनै असर पर्दैन्, नेपाली कांग्रेसको सरकार बन्छ, बन्ने भइसकेको छ।’  चुनाव प्रचारका क्रममा देउवा मंसिर १७ गते फेरि डडेल्धुरा पुगेका छन्। मौन अवधि सुरु हुने अघिल्लो दिन सोमबार देउवा आफ्नो गाउँ गन्यापधुरा पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.