|

सूचना प्रविधिको विकास र इन्टरनेटको विस्तारसँगै विश्वमै सामाजिक सञ्जालप्रति मानिसहरूको आकर्षण बढिरहेको छ। हरेक दिनजसो सामाजिक सञ्जालका नयाँ प्रयोकर्ता बढिरहेका छन्। सामाजिक सञ्जाल आम मानिसको मनभित्र रहेका कुण्ठा, आक्रोश, खुसी, संवेदना पोख्ने उपयुक्त माध्यम भएको छ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अनुसार आफ्नो ठेगाना नेपाल राखेर फेसबुक प्रयोग गर्ने झण्डै ७० लाख नेपाली रहेका छन्। आफू रहेकै देशको ठेगाना राखेर वा नेपालमै रहेर पनि ठेगाना नखुलाई फेसबुक चलाउनेको संख्या लाखौँ हुनसक्ने उसको ठम्याइ छ।

पछिल्लो समय सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेभन्दा व्यक्तिगत स्वार्थमा बढी प्रयोग हुँदै आएको देखिन्छ। देशमा हुने सरकारी निर्णय होस् या राजनीतिक दलको क्रियाकलाप वा प्राकृतिक विपत्तिको समयमा होस्, हरेकले सामाजिक सञ्जालमार्फत आफूअनुकूलको राजनीतिक दल वा सरकारको पक्ष वा विपक्षमा आफ्ना मतहरू आक्रामक शैलीमा राखिरहेका हुन्छन्।

हामीले प्रयोग गरिरहेका सामाजिक सञ्जाल कति स्वच्छ छन् भन्ने कुरा हाल हुन गइरहेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारमा एकअर्को राजनीतिक दलप्रति लक्षित कटाक्ष एवं एक पक्षीय समाचारका लिंकबाट सामाजिक सञ्जाल रंगिनुले पुष्टि गर्दछ।

हाम्रो देशमा साधारण लेखपढ गर्नसक्ने सबैको पहुँचमा सामाजिक सञ्जाल पुगिसकेकाले राजनीतिक दलका गतिविधि हिजोआज सार्वजनिक स्थानमा भन्दा सामाजिक सञ्जालमा बढी देखिन थालेका छन्।

सार्वजनिक स्थानमा हुने कार्यक्रम उपस्थित व्यक्तिमै सीमित हुने हुँदा सामाजिक सञ्जालको उपयोगिता बुझेर हाल त्यसको प्रयोग व्यापक भइरहेको छ। निर्वाचनका क्रममा सामाजिक सञ्जालमा राजनीतिक गतिविधि राखेर भाइरल बनाउनेतर्फ राजनीतिक दलका उम्मेदवार तथा तिनका आज्ञाकारी कार्यकर्ता बढी सक्रिय भएका देखिन्छ। त्यस्ता खाले गतिविधिमा नजानिँदो तरिकाले पत्रकारको संलग्नता देखिन थालेको छ। समाचार संप्रेषणको वहानामा एकतर्फी ढंगबाट उम्मेदवारको पक्षमा लागेको पत्रकारहरूले पोष्ट गरेको भिडियो तथा विचारबाट जोकसैले सजिलै अनुमान गर्न सक्छ।

अघिपछि सामाजिक सञ्जलमा खासै सक्रिय नदेखिएका उम्मेदवारसमेतले हालको निर्वाचनको समयमा फेसबुक लाइक पेज एवं ट्विटरलगायतका माध्यमबाट चुनावी गतिविधिलाई सक्रियताका साथ चुनावी मैदानमा उत्रेका छन्।

पारिवारिक सम्पर्कका निम्ति सञ्चारको प्रयोग अनिवार्य छ। स्मार्ट फोनको प्रभाव बढ्दो छ। विदेशमा रहेका आफन्तले सामाजिक सञ्जालमा पोष्ट गर्ने उम्मेदवारका गतिविधि तथा राजनीतिक विचारले स्वदेशमा रहेका परिवारका सदस्यले गर्ने मतदानमा प्रभाव पार्ने नै छ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार तथा सञ्चार माध्यमलाई स्पष्टीकरण सोधेको भए तापनि सामाजिक सञ्जालमा हुने आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्न सजिलो छैन। किनभने निर्वाचन आचारसंहिताले आम नागरिकको सामाजिक सञ्जाललाई समेट्दैन। र, निर्वाचनका नाममा आम नागरिकको सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नु विश्वव्यापी अभिव्यक्ति स्वतन्त्रता (आर्टिकल १९) विपरीत हुन्छ। 

वर्षौंदेखि देश र जनताको सेवक भन्नेहरूलाई आफ्नो अस्तित्व जोगाउन मुस्किल छ। नयाँ भनिएका राजनीतिक दलहरूलाई आफ्ना राजनीतिक दलको ऐजेण्डा जनतासम्म पुर्‍याउन पनि कठिन भइरहेको छ। यस अवस्थामा सामाजिक सञ्जाल सबैलाई आफ्ना गतिविधि धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याउने उपयुक्त माध्यम सावित भएको छ।

राजनीतिक दलहरूले चुनावी प्रचार प्रसारका क्रममा फेसबुकमार्फत विज्ञापन गर्दा लाखौँ रूपैयाँ विदेशिएको भन्ने समाचार पनि आएका छन्। स्वदेशी भूमिमा लगानी गर्ने नारा बोकेका राजनीतिक दलका उम्मेदवारले आगामाी दिनमा पक्कै पनि त्यसको मूल्यांकन गर्लान् नै। 

रोजगारीका निम्ति विदेश नपुगेका युवायुवतीहरूको अब कुनै गाउँ बाँकी नहोला। पारिवारिक सम्पर्कका निम्ति सञ्चारको प्रयोग अनिवार्य छ। स्मार्ट फोनको प्रभाव बढ्दो छ। विदेशमा रहेका आफन्तले सामाजिक सञ्जालमा पोष्ट गर्ने उम्मेदवारका गतिविधि तथा राजनीतिक विचारले स्वदेशमा रहेका परिवारका सदस्यले गर्ने मतदानमा प्रभाव पार्ने नै छ।

पत्रकार जस्तो निष्पक्ष तथा स्वच्छ व्यावसायिक अभ्यासको अभियन्तासमेत आफ्नो पक्षको उम्मे्वार तथा राजनीतिक पार्टीको समर्थनमा सामाजिक सञ्जाहरूमा सक्रिय रहेको देखिन्छ। सञ्चार माध्यममा भन्दा पहिला पत्रकारका सामाजिक सञ्जालमा समाचार ब्रेक हुन थालेका छन्। 

विदेशी सञ्चार माध्यमले आफ्नो सञ्चारगृहमा काम गर्ने पत्रकारका निम्ति सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता तोक्न थालेका पाइन्छ। विडम्बना! हाम्रो पत्रकारिताको अभ्यास, सञ्चारगृहले आचारसंहिता त कहिल्यै तोक्न सकेन नै, प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता पालना गरौँ भन्ने नारामै सीमित रहेको देखिन्छ।

आधुनिक पत्रकारिताको सिद्धान्तले ‘जनता आफैँ रिपोर्टर हुन्’, जसले दिएकोे सूचनाका आधारमा घटनाको गहिराइसम्म पुग्न सकिन्छ र उनीहरूको चासोको विषय छान्न सकिन्छ भन्छ। त्यसैले सामाजिक सञ्जालमा पोष्ट हुने सबै विचार तथा सूचना तथ्यमा आधारित नहुन पनि सक्छन्। त्यसलाई सत्यको मापन गर्ने यन्त्र भनेको उसले प्रयोग गर्ने सामाजिक सञ्जालको स्वार्थसँग जोडिन्छ।

सामाजिक सञ्जाल प्रयोगका सुरुआतका दिनमा कमी कमजोरीहरू सबैबाट हुन सक्छन्। तर आग्रह पूर्वाग्रह राखेर त्यसको प्रयोग गर्दा आफ्नो व्यक्तिगत मर्यादा तथा विवेक प्रयोग गर्न भुल्नु हुँदैन। किनभने कानुनभन्दा माथि न्याय, न्यायभन्दा माथि नैतिकता हुन्छ। नैतिकता नै मानिसको सबैभन्दा ठूलो सम्पति हो। 

समाज राजनीतिक, जातीय, भाषिक, धार्मिक, आर्थिक, भौगोलिकलगायत विभिन्न क्षेत्रमा विभाजित छ। देशमा बेरोजगारी, गरिवी, भ्रष्टाचार, राजनीतिक स्वेच्छाचारिता व्याप्त छ। देशका यी तमाम समस्याहरूलाई स्वच्छ विचारका माध्यमबाट सामाजिक सञ्जालमा अभियान चलाई सरकारलाई दबाब सृजना गर्न सकिन्छ। गलत नियतबाट सामाजिक सञ्जालको प्रयोग भइरहेमा त्यसले कुनै दिन जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि पक्कै प्रश्न उठ्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.