|
फाइल फोटो

दार्चुला : २१ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको अन्तिम तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुटेको छ। मतगणनाको तयारीस्वरुप मतगणना हुने कोठामा सिसिक्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको सहायक निर्वाचन अधिकृत शेरबहादुर विष्टले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयनजिकै रहेको कर्मचारी आवास गृहका दुई कोठामा गरिने मतगणना कार्यलाई व्यवस्थित बनाउन आवश्यक कामहरु गर्न लागिएको उनले बताए।

मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा २ जना मतगणना अधिकृतहरुले मतगणना गर्नेछन्। दुई कोठामा १ जना मतगणना अधिकृत, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटरसहित अन्य ३ जना कर्मचारी र एक जना कार्यालय सहयोगी मतगणनास्थलमा रहनेछन्।

राजनीतिक दलहरुका तर्फबाट प्रत्येक उम्मेदवारको एक÷एक जना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गराइनेछ। मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई रात दिन जारी राख्नेछन् भने राजनीतिक दलका प्रतिनिधिहरुलाई सिफ्ट परिवर्तन छुट दिइनेछ।

मतगणनास्थलमा निरन्तर विद्युत् आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर दुई दुई लाइन जडान गरिएको छ। दार्चुला सदरमुकामको आधा भागमा भारतबाट आयात गरिएको विद्युत् आपूर्ति गरिन्छ भने आधा भागमा स्थानीय लास्कुखोलाबाट उत्पादित विद्युत् आपूर्ति गरिन्छ। मतगणनास्थलमा दुवै लाइन राखिएको सहायक निर्वाचन अधिकृत तथा जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार शेरबहादुर विष्टले जानकारी दिएको छ।

सिसिक्यामेराबाट मतगणना कार्यको मुख्य निर्वाचन अधिकृतले निरन्तर निगरानी राख्ने बताउँदै सहायक निर्वाचन अधिकृत विष्टले मतगणना कार्यलाई व्यवस्थित पारिने बताए। मगतणनास्थलमा क्यामेरा, मोबाइल जस्ता साधनहरुलाई प्रतिबन्धित गरिएको छ भने पत्रकारहरुको सहजताका लागि पत्रकार महासंघसंग सहकार्य गरेर रिपोर्टिङ गर्न सकिने व्यवस्था मिलाइने उनको भनाइ छ।

सूचना कक्ष स्थापना गरिने

मतगणनाको परिणामलाई सहज रुपमा सार्वजनिकीकरण गर्न मतगणनास्थलमा सूचना कक्षको स्थापना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जिल्ला निर्वाचन कार्यालयको सहयोगमा एकजना कर्मचारीलाई मतगणनास्थलबाट प्राप्त नतिजालाई सार्वजनिक सञ्चार माध्यम तथा आमनागरिकसम्म पुर्‍याउन जिम्मेवारी दिइनेछ। सुचनाका लागि जिल्ला निर्वाचन कार्यालयको फोनको लाइन र वाइफाइ जोडेर सहयोग गर्ने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकृत आनसिंह डागाले जानकारी गराए।

सुरक्षा चुनौती सामान्य

मतगणना हुने वेला खासै अप्ठेरो पर्ने गरी जिल्लामा सुरक्षा चुनौती नरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी जनबहादुर शाहीले जानकारी दिए।

मतगणनास्थलमा सिसिक्यामेरा राखिएको, तार जाली राखिएका, मतगणना हुने स्थलको कम्पाउण्ड बलियो रहेको र राजनीति नेतृत्व पनि सुझबुझपूर्ण रहेकाले मतगणनामा खासै समस्या नआउने भए पनि मतगणना स्थलको सुरक्षाको लागि सशस्त्र प्रहरी बलसँग मिलेर सुरक्षालाई मजबुत बनाइने डिएसपी शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.