|

भक्तपुर : वरिष्ठ अधिवक्ता बाबुराजा जोशी यतिबेला चुनाव प्रचारको अन्तिम अन्तिम चरणमा छन्। भक्तपुर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेपछि उनको दैनिकी नै फेरिएको छ। जोशी बिहानै मतदाताको घरदैलोमा पुग्छन्, फर्किदा राति अबेर हुन्छ।

भक्तपुर १ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले २०४८ सालयता लगातार पाँच पटक फराकिलो मतान्तरले चुनाव जितेको क्षेत्र हो। यसपटक बिजुक्छें उम्मेदवार नभई नेमकिपाका सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएपछि निर्वाचनको परिणाम कस्तो आउला भन्ने खुल्दुली पनि रहेको छ। बिजुक्छें उम्मेदवार नहुँदाको फाइदा उठाउने कसरतमा जोशी लागेका छन्।

को हुन् जोशी?

राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका जोशी २०४३ सालमा गठन भएको नेपाल बार एसोसिएसन भक्तपुरको संस्थापक सदस्य हुन् भने दुईपटक जिल्ला बार एसोसिएसनको अध्यक्ष भए। नेपाल बार एसोसिएसनको केन्द्रीय कोषाध्यक्ष भइसकेका जोशी डेमोक्रेटिक लयर्स एशोसियसन नेपालको केन्द्रीय उपाध्यक्षसमेत रहे।

२०३० सालमा अभिकर्ताको रुपमा कानुन व्यवसाय सुरु गरेका जोशी २०३५ सालमा अधिवक्ता भए। २०७० सालमा वरिष्ठ अधिवक्ता बनेका जोशी जिल्ला बारमा बसेर वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो कानुन व्यवसायीसमेत हुन्।

२०३५ देखि २०४२ सालसम्म नेपाल ल क्याम्पसमा सहायक प्राध्यापकको रुपमा काम गरेका उनले नेपाल कानुन आयोगको अध्यक्षको रुपमा २०६३ देखि २०६८ सम्म काम गरे। जोशी भक्तपुरको विभिन्न संघ संस्थामा विभिन्न भूमिकामा सक्रिय छन्।

राजनीतिक यात्रा

बाबुराजा जोशी विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका हुन्। मध्यमवर्गीय किसान परिवारमा जन्मेका जोशीले विपन्न किसानको पक्षमा काम गर्न राजनीतिमा लाग्नुपर्छ भन्ने भावना आफूमा विकास भएको बताए। उनी भन्छन् 'म जुन बेलादेखि राजनीतिमा सक्रिय भएँ, त्यो बेलादेखि नै भक्तपुरका गरिब किसानहरुको मुक्तिका लागि लड्दै आएको छु।'

२०४६ सालको जनआन्दोलनमा नेपाल बार एसोसिएसनबाट सहभागी भएका उनी बिरोध  प्रदर्शनका क्रममा गिरफ्तार भएका थिए। २०४७ सालमा नेपाली कांग्रेस भक्तपुर नगरको तदर्थ समितिको सचिव भएका उनले दुई कार्यकाल भक्तपुरको नगर सभापति भएर काम गरे। हाल जोशी कांग्रेसको महासमिति सदस्य छन्।

भक्तपुरका किसानको जीवनस्तर माथि उठाउन उन्नत जातको बीउविजन, वैज्ञानिक प्रविधिद्वारा खेती गर्न प्रत्येक खेतमा जेटीएको पहुँच पुर्‍याउने जोशीको योजना छ। जिल्लालाई आर्थिक रुपमा सबल बनाउन नगरकोट, चाँगुनागरायण, भक्तपुर नगरमा पर्यटकको सहज प्रवेश तथा उनीहरुको बसाई लम्ब्याउने योजना बनाउनुपर्ने उनको भनाइ छ।

सडक, खानेपानी, ढलनिकास, बैकिङ तथा अन्य सेवासहितको व्यवस्थित नगरको विकास गर्ने, बाहिरी चक्रपथ निर्माण गर्ने, पर्यटकीय क्षेत्र चाँगुनाराण, नगरकोट, कलमसी, नालाछाप पदमार्ग विकास गरी आन्तरिक तथा वाह्य पर्यटक आर्कषित गर्ने र जिल्लालाई प्रदुषणमुक्त बनाउनेजस्ता योजना जोशीसँग छ।

भक्तपुर विकास नहुनुमा नेमकिपा दोषी

जोशी भक्तपुरको विकास नहुनुमा नेपाल मजदुर किसान पार्टीको दोष रहेको बताउँछन्। 'यो भन्नुपर्ने नै हुन्छ कि, भक्तपुर १ को विकास नहुनु नेपाल मजदुर किसान पार्टीको स्वार्थका कारण भएको हो। भक्तपुर मात्र एउटा यस्तो जिल्ला हो जहाँ विगत ३८ सालदेखि नेमकिपाले जित्दै आए पनि यहाँ कुनै राजनैतिक विकास भएको देखिदैन। जहाँ राजनीतिक विकास हँदैन त्यहाँ कुनै पनि विकास सम्भव हुँदैन' उनले भनिन्।

एमाले र माओवादीको गठबन्धनले मुलुकलाई समृद्धितिर नभई अधिनायकवाद तर्फ धकेल्दै देशमा पुनः अस्थिरता पैदा गर्न खोजेको उनको टिप्पणी छ। त्यसैले कांग्रेसको नेतृत्वमा द्वन्द्व व्यवस्थापन भई शान्ति र संविधान आएकाले अब संविधानको कार्यान्वयनको चरणमा फेरि पनि नेपाली कांग्रेसकै नेतृत्व महत्वपूर्ण हुने जोशी बताउँछन्।

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई नेपाली राजनीतिका कुटिल एवं अनुभवी खेलाडीको संज्ञा दिँदै जोशीले नेमकिपाको एकलौटी शासनले भक्तपुरमा राजनैतिक स्वच्छता गुम्दै गएको बताए। भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिको भूमिका गौण भएकाले अब नेपाली कांग्रेस अगाडि बढ्नुपर्छ भन्ने जनताबाट ढाडस पाएको जोशी बताउँछन्।

'अहिले मतदाताहरु धेरै एकदमै सचेत भएको पाएको छु। उहाँहरुले गणतन्त्रको पक्षमा नेपाली कांग्रेसलाई मत दिनुहुन्छ भन्ने कुरामा म एकदमै ढुक्क छु' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.