|

काठमाडौं : दोस्रो चरणको निर्वाचनको मौन अवधि सुरु हुने अघिल्लो दिन सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापा बुढानिलकण्ठ नगरपालिका २ मा घरदैलो गर्दै थिए। 

घरबाट बिहानै निस्किएका थापाले बुढानिलकण्ठ- १२  कपनमा रदैलो सकेर साढे ११ मा भङ्गालतिर लागे। करिब दुई साताअघि त्यही आसपासमा घरदैलो गरेका थापाले रात परिसकेकाले केही घरमा भोट माग्न छुटाएका थिए। त्यसैले पहिले छुटेका घरमा मत माग्नका लागि सोमबार थापाको टोली भंगाल गएको स्थानीय कांग्रेस कार्यकर्ता किशोर गुरुङले बताए। 

‘आज अन्तिम दिन भएकाले दाइ धेरै व्यस्त हुनुहुन्थ्यो। अगाडिदेखिनै त्यो ठाउँमा जाने तयारी त भएको हो। तर जान भ्याइएको थिएन। त्यसैले आज हतार–हतारमा दाइ त्यहाँ पुग्नुभएको थियो’ उनले भने '११ बजे कार्यक्रम सकेर कार्यकर्तालाई खान खुवाएर उहाँ खाना पनि नखाई भङ्गाल जानुभएको थियो।’

भङ्गाल पुगेपछि के भयो?

कपनबाट घरदैलो सकेर काठमाडौं ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा, काठमाडौं ४ (२) का प्रदेशसभा उम्मेदवार साधुराम खड्कासहित नेता कार्यकर्ताहरु भङ्गालमा मतदातालाई भेट्दै थिए। भङ्गालमा घरदैलो सुरु गरेको १५ मिनेटमा नै प्रचार टोलीनजिकै विस्फोट भएको प्रदेशसभाका उम्मेदवार साधुराम खड्काका स्वकीय सचिव प्रमोद अधिकारीले जानकारी दिए।

‘हामीले करिब साढे ११ बाट त्यहाँ घरदैलो सुरु गरेका थियौँ। कार्यक्रम धेरै थिए। गगन दाइ पनि हतारमा हुनुहुन्थ्यो। करिब ५/६ वटा घरमा गएका थियौं। त्यहाँ बाटो टुंगिएकाले हामी फर्कियौँ। हाम्रो तीन समूह थियो। एउटा अगाडि, अर्को बीचमा र एउटा पछाडि थियो’ उनले घटनाबारे भने,‘त्यहाँबाट फर्कदै गर्दा दुईवटा घरको बीचमा एउटा माटोको ढिस्को थियो। गगन दाइहरु अलि अगाडि हुनुहुन्थ्यो। मसहितको टोली बीचमा र अर्को पछाडि थियो। एक्कासी ठूलो आवाज आयो।’ उनले बम विस्फोट भएपछि सबै अत्तालिएको बताए। अधिकारीले थाहाखबरसँग भने,‘धन्न दाइ अलिक अगाडि भएर मात्र हो। नत्र ठूलै क्षति हुन्थ्यो।’

घटनापछि कसैको हातमा त कसैको खुट्टामा चोट लागेको नेपाल महिला संघ क्षेत्र नम्बर ४ कि क्षेत्रीय कोषाध्यक्ष नारायणदेवी श्रेष्ठले बताइन्। उनले भनिन्,‘हामी नानीहरु भएकाले पछाडि थियौं। बम पड्किएपछि अगाडिको दृश्य हेरिसक्नु थिएन। धेरै साथीहरु लडिरहनुभएको थियो। धुवाँको मुस्लो थियो। धन्न कसैलाई केही भएन।’ जसले गरे पनि यस्तो गर्न नहुने उनले बताइन्। उनले भनिन्,‘ निर्वाचन हो। हार /जीत त हुन्छ नै तर कसैले यस्तो गर्न हुँदैन।’

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट भएको क्षेत्र नम्बर ४ का कांग्रेस सभापति राजु श्रेष्ठले बताए। ‘हाम्रो पक्षमा जनलहर देखेर उम्मेदवारलाई लक्षित गरी बम विस्फोट भएको हो। तर हामी यसले विचलित हुदैनौं। मौन अवधि नआए सम्म हामी हाम्रा कार्यक्रम यथावत राख्छौं’, उनले भने,‘प्रहरीले भने अनुसार यो टाइम बम रहेछ।’

तत्काल अस्पताल गएनन् गगन

विस्फोटका कारण उम्मेदवार थापा पनि सामान्य घाइते भए। उनलाई बमको छर्राले भेट्यो। तर उनी तत्काल अस्पताल आएनन्। बम विस्फोट हुँदा पार्टी कार्यकर्तासहित ३ सय जना थिए। हतारमा भएकाले छिटो–छिटो हिँड्दा उनी सामान्य घाइते भएको नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भोलानाथ लामिछानेले बताए।

थापा आफ्नो गाडीमा राखेर घाइतेलाई त्रिवि शिक्षण अस्पताल अस्पताल पठाउनतिर लागे। लामिछानेले भने,‘उहाँ पनि घाइते त हुनुहुन्थ्यो। तर उहाँले आफू पछि जाने भन्दै अरु घाइतेलाई अस्पताल पठाउनुभयो। एकछिन पछि एकजना चिनेको साथी आउनुभयो। उहाँको गाडीमा हालेर गगनजीलाई पनि अस्पताल ल्याएँ।’ बम विस्फोटमा परी ११ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। 

यी पनि पढ्नुहोस्

बम आक्रमणबारे गगन थापाले भने : कार्यक्रमबारे थाहा पाउनेले गरेको हो

गगन घाइते भएर टिचिङ पुग्दा अस्पतालमा भीड, हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.